इजरायलद्धारा अमेरिकालाई इरानविरुद्धको युद्धमा सहभागी हुन आग्रह

इजरायलद्धारा अमेरिकालाई इरानविरुद्धको युद्धमा सहभागी हुन आग्रह

इजरायलले पछिल्ला ४८ घण्टामा अमेरिका सँग इरानसँगको युद्धमा सहभागी हुन अनुरोध गरेको भए पनि अमेरिका हाल यस्तो कदम चाल्ने पक्षमा नरहेको अमेरिकी र इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै Axios र The Times of Israel ले जनाएका छन्।

इजरायल र इरानबीचको तनाव थप चर्किँदै जाँदा दुवै पक्षबाट एकअर्कामाथि मिसाइल आक्रमणको नयाँ लहर सुरू भएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शनिबार टेलिफोन वार्ता गर्दै द्वन्द्व अन्त्य गर्न प्रयास गर्न आग्रह गरेको Reuters ले उल्लेख गरेको छ।

शनिबार राति इजरायलको उत्तरतर्फ रहेको तामरास्थित भवनमा इरानी मिसाइलले आक्रमण गर्दा एक महिला, उनकी दुई छोरी र एक आफन्तको ज्यान गएको Jerusalem Post ले आइतवार जानकारी दिएको छ।

शनिबार राति उत्तर इजरायलमा इरानी मिसाइल वर्षाका कारण कम्तिमा २८ जना घाइते भएका छन्। आइतवार बिहान केन्द्रीय इजरायलमा अर्को मिसाइल आक्रमण हुँदा थप ९० जना घाइते भएका र एक जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ।

France24 ले जनाएअनुसार शुक्रबार इजरायलले इरानका आणविक केन्द्र र उच्च सैन्य कमाण्डरहरूमाथि अप्रत्याशित हमला गरेपछि जवाफस्वरूप शनिबारदेखि आइतवारसम्म इरानले येरुशलम र तेलअभिभतर्फ थुप्रै ड्रोन तथा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको हो।

इजरायली सेनाले इरानी रक्षा मन्त्रालयको मुख्यालय तथा SPND आणविक परियोजनामाथि “व्यापक हमला” गरेको जनाएको छ। विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार उक्त हमला इरानले आफ्नो आणविक अभिलेख लुकाएको स्थानहरूमा समेत केन्द्रित थियो।

इजरायल डिफेन्स फोर्स (IDF) का प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले शनिबार बताउँदै भने, “७० भन्दा बढी इजरायली एयर फोर्सका लडाकु विमानहरू रातभरको अभियानमा सहभागी भए। यो अभियानले पश्चिम इरानदेखि तेहरानसम्मको हवाई नियन्त्रण कायम गरेको छ।” उनले थपे, “हामीले इरानी हवाई सुरक्षालाई नष्ट गरेर विमानहरूलाई तेहरानसम्म स्वतन्त्र रूपमा उड्न सक्षम बनायौं।” यो इजरायली वायुसेनाको अहिलेसम्मकै इरानभित्रको सबैभन्दा गहिरो घुसपैठ भएको The Times of Israel ले उल्लेख गरेको छ।

इजरायली सेनाले आइतवार बिहान पुष्टि गरेअनुसार, इरानी रक्षा मन्त्रालयको मुख्यालय, ‘आणविक हतियार परियोजना’ सम्बन्धी पूर्वाधारहरू र अन्य ठूला लक्ष्यहरूमा हमला गरिएको हो, lemonde.fr ले उल्लेख गरेको छ।

Reuters ले आइतवार जनाएअनुसार रूसी राष्ट्रपति पुटिनले शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग ५० मिनेट टेलिफोन वार्ता गर्दै इजरायल-इरान युद्ध अन्त्यको प्रयास गर्न आग्रह गरेका थिए।

रूसी राष्ट्रपतिको सहयोगी युरी उशाकोभले Xinhua लाई बताएअनुसार पुटिनले इजरायली सैन्य कारबाहीको कडा विरोध गर्दै उक्त द्वन्द्व बढ्दै गए सम्पूर्ण मध्यपूर्व क्षेत्रका लागि अपूरणीय क्षति पुर्‍याउने चेतावनी दिएका छन्।

उशाकोभले बताएका छन् कि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यस परिस्थितिलाई अत्यन्तै चिन्ताजनक मानेका छन् र दुबै राष्ट्रपति इरानको आणविक कार्यक्रमबारे वार्ताको सम्भावनालाई खुला राख्न इच्छुक देखिएका छन्।

The Guardian का अनुसार इरानले चेतावनी दिएको छ कि यदि अमेरिका, बेलायत वा फ्रान्सले इजरायलको आक्रमणको प्रतिउत्तरस्वरूप इरानी मिसाइल वा ड्रोन आक्रमण रोक्न प्रयास गरेमा तिनीहरूका सैन्य अड्डा र युद्धपोतहरू लक्षित हुनेछन्।

इजरायल इरान र हमाससँग युद्धरत रहेको बेला, इजरायली घरेलु गुप्तचर संस्था शिन बेटका निर्देशक रोनेन बारको कार्यकाल समाप्त भएको छ र उनको स्थानमा डिपुटी शिन बेट प्रमुख (जसलाई हिब्रुमा ‘शिन’ भनिन्छ) कार्यवाहक प्रमुखका रूपमा नियुक्त भएका छन्, The Times of Israel ले आइतवार उल्लेख गरेको छ। GT

#इजरायल #इरान #अमेरिका