
जेरुसेलम, १ असार :
बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्धिलाई जनाउँदै इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन आक्रमण र प्रत्याक्रमण भएको छ ।

शुक्रबारदेखि इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमणको ठूलो लहर सुरु गरेपछि इरानी आक्रमणमा इजरायलमा कम्तीमा १० जनाको ज्यान गएको छ ।
अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म गर्न आग्रह गरे तापनि मध्यपूर्वलाई समेट्न सक्ने लामो द्वन्द्वको डर उत्पन्न गर्दै कट्टर शत्रुहरूले यति तीव्रताका साथ आक्रमण बढाएको यो पहिलो पटक हो ।
पछिल्ला घटनाक्रमहरू :

– घातक इरानी आक्रमण –

इजरायली आपत्कालीन सेवाका अनुसार इरानले शनिबार रातिदेखि आइतबारसम्म इजरायलमा घातक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा बालबालिका सहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई सय जना घाइते भएका छन् ।
आइतबार बिहान जेरुसेलम र तेल अभिवमा हवाई आक्रमणको साइरन र धमाकाको आवाज सुनिएको थियो । इजरायली सेनाले लाखौँ इजरायली देशभरि दर्जनौँ सहर र समुदायहरूमा ‘साइरनको आवाजले शरणका लागि भागिरहेको’ बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतका अनुसार इरानमा इजरायली हमलाको पहिलो लहरमा ७८ जनाको मृत्यु भएको र तीन सय २० जना घाइते भएका छन् । तर इरानी अधिकारीहरूले आइतबार बिहानसम्म अद्यावधिक सङ्ख्या प्रदान गरेका छैनन् ।
इरानले इजरायली लडाकू विमानहरूले इन्धन भर्न प्रयोग गर्ने स्थानहरूमा पनि आक्रमण गरेको रिभोलुसनरी गार्ड्सले आइतबार बिहान जनाएको छ ।

इजरायलले आफ्नो इलाकातर्फ छोडिएका सात ड्रोन रोकेको र इरानमा थप आक्रमण गर्दै आक्रमणहरू रोक्न काम गरिरहेको बताएको छ ।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले आइतबार इजरायलमाथि धेरै मिसाइल प्रहार गरेको बताएका छन् ।
– इजरायलले लक्ष्य विस्तार गर्दै –
इरानी सैन्य र आणविक सुविधाहरूलाई लक्षित गरेर शीर्ष अधिकारी र वैज्ञानिकहरूको हत्या गरेपछि इजरायलले हवाई प्रतिरक्षा र तेल पूर्वाधारमा लक्ष्य विस्तार गरेको छ ।
इजरायली आक्रमणले तेहरानमा दुईवटा इन्धन भण्डारमा प्रहार गरेको इरानी तेल मन्त्रालयले आइतबार जनाएको छ । एएफपी पत्रकारहरूले इरानी राजधानीको उत्तरपश्चिम सहरानमा रहेका तेल भण्डारहरूमा आगो देखेको रिपोर्ट गरेका छन् ।
शनिबार इजरायली सेनाले तेहरान क्षेत्रमा हवाई प्रतिरक्षालाई लक्षित गरेको आक्रमणको लहर घोषणा गरेपछि इरानमा दर्जनौँ मिसाइल प्रक्षेपकहरूमाथि आक्रमण गरिरहेको बताएको थियो ।
इरानी समाचार एजेन्सी तस्निमले आइतबार बिहान इजरायली आक्रमणले तेहरानमा रहेको देशको रक्षा मन्त्रालयको मुख्यालयलाई पनि लक्षित गरेको र यसको एउटा भवनलाई क्षति पुर्याएको बताएको छ । रक्षा मन्त्रालयले यसबारे टिप्पणी गरेको छैन ।
– असफल आणविक कूटनीति –
तेहरानले शनिबार संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँगको आफ्नो सहयोग सीमित गर्ने वाचा गरेपछि इजरायली आक्रमणमाथि उसको मौनताको आलोचना गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार इजरायलले इरानका आणविक स्थलहरूलाई लक्षित गरेर ‘नयाँ रेखा पार गरेको’ बताउनुभएको छ ।
“यो पूर्ण रूपमा स्पष्ट छ कि इजरायली शासनले आणविक मुद्दामा कुनै सम्झौता चाहँदैन । यो वार्ता चाहँदैन र कूटनीति खोज्दैन”, अराघचीले विदेशी कूटनीतिज्ञहरूलाई भन्नुभयो । उहाँले शुक्रबार गरिएको आक्रमण ‘कूटनीतिलाई कमजोर पार्ने र वार्तालाई लिकबाट हटाउने प्रयास’ भएको बताउनुभयो ।
इरानको आणविक कार्यक्रममा सम्झौतामा पुग्न तेहरान र वासिङ्टनबीच चलिरहेको वार्ताको बीचमा कट्टर शत्रुहरूबीच अहिलेसम्मकै सबैभन्दा भीषण गोलीबारी भएको छ ।
इजरायली आक्रमणअघि दुवै पक्षले आइतबार ओमानमा छैटौँ चरणको वार्ता गर्ने तयारी गरेका थिए ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शनिबार जबसम्म इजरायलले इरानमा आक्रमण जारी राख्छ तबसम्म तेहरानले अमेरिकासँग आणविक वार्तामा भाग नलिने बताउनुभयो ।
पश्चिमी सरकारहरूले बारम्बार इरानलाई आणविक हतियार खोजेको आरोप लगाएका छन् । उक्त आरोपलाई इरानले अस्वीकार गरेको छ ।
– अन्तर्राष्ट्रिय चिन्ता –
अन्य राष्ट्रहरूले संयम अपनाउन र ठूलो द्वन्द्वविरुद्ध चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शनिबार फोनवार्तामा इरान र इजरायलबीचको द्वन्द्व ‘अन्त्य हुनुपर्छ’ भन्ने कुरामा सहमत भएको बताउनुभएको छ ।
तर आइतबार बिहान ट्रम्पले इरानलाई तेहरानको आणविक र गुप्तचर सुविधाहरूमा इजरायलको आक्रमणसँग वासिङ्टनको ‘कुनै सम्बन्ध छैन’ भनेर दोहो¥याउँदै यदि इरानले संयुक्त राज्य अमेरिकामा आक्रमण गरेमा उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ अनुभव गर्ने चेतावनी दिनुभयो ।
तेहरानको नजिकको सहयोगी तर इरानको कट्टर शत्रु अमेरिकाको रणनीतिक साझेदार इराकले क्षेत्रीय तनावमा पर्नबाट रोक्नका लागि इरानी र अमेरिकी सरकारलाई सम्पर्क गरेको छ । रासस/एएफपी
इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता
इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ । हवाई आक्रमणको साइरनले देशभरका लाखौँ मानिसलाई आश्रयस्थानमा लुक्न बाध्य बनाएको थियो ।
मध्य क्षेत्रमा १० वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको र करिब एक सय जना अन्य घाइते भएको मागेन डेभिड एडोम (एमडिए) का प्रवक्ताले जानकारी दिए । सफेला क्षेत्रमा अन्य ३७ जना घाइते भएका छन् ।
इजरायली प्रहरीले एक्समा एउटा पोस्टमा तेल अभिव जिल्लाको मध्य तटमा भएको आक्रमणमा धेरै मानिस मारिएको र दर्जनौँ घाइते भएको पुष्टि गरेको छ ।
शनिबार राति इजरायलको पश्चिमी ग्यालिली क्षेत्रमा भएको आक्रमणले तीन तले भवन ध्वस्त पारेपछि एमडिएले तीन महिलाको मृत्यु भएको जानकारी दिएको थियो ।
“दुई महिलालाई जीवनको कुनै लक्षणबिना उद्धार गरिएको थियो र उनीहरूको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो”, आपत्कालीन सेवाले एक विज्ञप्तिमा भन्यो ।
तेस्रो महिलाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।
आपत्कालीन सेवाले शनिबार हाइफा क्षेत्रको एउटा घरमा इरानी क्षेप्यास्त्र प्रहार भएको र २० वर्षीया एक महिलाको मृत्यु भएको र अन्य १४ जना घाइते भएको बताएको छ ।
एमडिएका प्रवक्ताले इजरायली प्रसारणकर्ता च्यानल १२ लाई इरानले रातभर गरेको क्षेप्यास्त्र आक्रमणमा करिब दुई सय जना घाइते भएको बताए ।
शनिबार राति इजरायलले तेहरानमा आक्रमण गर्ने क्रममा इरानबाट फायर गरिएका मिसाइलहरूको ब्यारेजलाई रोक्न एकैसाथ काम गरिरहेको बताएको छ ।
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।
तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ उहाँले दोहोर्याउनुभयो ।
तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक र सैन्य ठाउँहरूलाई निशाना बनाएको छ र यसमा शीर्ष सेना कमाण्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’ मा आक्रमण गर्ने प्रतिज्ञा गर्नुभएको छ र इरानले घातक मिसाइल आक्रमणका साथ जवाफ दिएको छ ।
ट्रम्पले इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताउनुभएको थियो । उहाँले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाको ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैन’ भनी दोहोर्याउनुभयो ।
“यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण ग¥यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईंमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन”, उहाँले एक पोस्टमा भन्नुभयो, “हामी इरान र इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ !!!”
ट्रम्पले शुक्रबार तेहरानलाई सम्झौता गर्न वा इजरायलबाट ‘अझ क्रूर’ आक्रमणको सामना गर्न आग्रह गर्नुभएको थियो ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा संयुक्त राज्य अमेरिकालाई फिर्ता लिनुभएपछि इरानसँगको ऐतिहासिक आणविक सम्झौता २०१८ मा ध्वस्त भएको थियो र उहाँले इरानमाथि पुनःप्रतिबन्धहरू लगाउनुभएको थियो । उक्त सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो ।
