
इरानी अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार, इरानको हवाई प्रतिरक्षा प्रणालीले दुई इजरायली लॉकहिड मार्टिन F-35 लाइटनिङ II लडाकु विमान र धेरै माइक्रो ड्रोनहरू खसालेको दाबी गरिएको छ। साथै, तीमध्ये एक इजरायली महिला पाइलटलाई जिउँदै पक्राउ गरिएको छ।
हालसम्म इरानी सेनाले यसबारेमा औपचारिक पुष्टि गरिसकेको छैन।

इजरायल डिफेन्स फोर्सेस (IDF) ले भने उक्त रिपोर्टलाई “पूर्णरूपमा आधारहीन” भन्दै अस्वीकार गरेको छ। IDF का अरबी भाषा प्रवक्ता अभिचय अद्रईले यस आरोपलाई खारेज गरेका हुन्।
यो घटनाक्रम इजरायलले इरानको सैन्य र आणविक ठाँउहरूमा गरेको व्यापक आक्रमणपछि उत्पन्न तनावपूर्ण वातावरणको बीचमा आएको हो, जसले व्यापक क्षेत्रीय द्वन्द्वको सम्भावनालाई थप चर्काएको छ।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीले जानकारी दिएको अनुसार, इरानी वायु सुरक्षा प्रणालीले कोम शहर नजिकैको फोर्डो आणविक केन्द्र नजिक एउटा इजरायली ड्रोन खसालेको दाबी गरेको छ।

शुक्रवार बिहान इजरायलले तेहरानसहित इरानका विभिन्न शहरहरूमा हवाई हमला गरेको थियो।

संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि अमीर सईद इरावानीका अनुसार, इजरायली आक्रमणका कारण कम्तीमा ७८ जनाको मृत्यु भएको र ३२० जना घाइते भएका छन्, जसमा अधिकांश सर्वसाधारण रहेको बताइएको छ।
तेहरानमाथिको आक्रमणमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बाघेरी, इरानी इस्लामिक क्रान्तिकारी गार्ड्स (IRGC) का प्रमुख होसेन सलामी, खाताम अल-अन्बिया मुख्यालयका कमाण्डर गोलाम अली राशिद, र IRGC को एयरोस्पेस डिभिजनका कमाण्डर अमीर अली हाजिजादेह मारिएको बताइएको छ।

शुक्रवार राति इजरायली सेनाले जानकारी दिएको अनुसार, इरानले केन्द्र र उत्तर इजरायलतर्फ झण्डै १०० वटा मिसाइल प्रहार गरेको थियो। ती दुई चरणमा गरिएको आक्रमणबाट ठूलो क्षति पुगेको र ४१ जना घाइते भएको पुष्टि भएको छ, जसमा २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
#इजरायल #इरान
