शाङ्घाई सहयोग संगठन: क्षेत्रीय सुरक्षा र विकासमा प्रभावशाली भूमिका

शाङ्घाई सहयोग संगठन: क्षेत्रीय सुरक्षा र विकासमा प्रभावशाली भूमिका

देवेंद्र सिंह

शाङ्घाई सहयोग संगठन (SCO) एक प्रमुख अन्तरसरकारी संगठन हो, जसको स्थापना १५ जुन २००१ मा चीन, कजाखस्तान, किर्गिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तानले संयुक्त रूपमा गरेका थिए। आजसम्म आइपुग्दा यस संगठनमा ९ सदस्य राष्ट्र, ३ पर्यवेक्षक राष्ट्र र १४ संवाद साझेदार रहेका छन्, जसले यसलाई एक सशक्त बहुपक्षीय मञ्चको रूपमा स्थापित गराएको छ।

 

यस संगठनको स्थापना मुख्यतः सदस्य राष्ट्रहरूबीच आपसी विश्वास बढाउने, सीमावर्ती क्षेत्रमा सैन्य सहकार्य मजबुत बनाउने र आतंकवाद, उग्रवाद र पृथकतावादजस्ता “तीन दुष्टता/कुकर्महरू” विरुद्ध साझा रूपमा काम गर्ने उद्देश्यले गरिएको हो। पछिल्ला दुई दशकमा SCO ले मध्य एसियाली क्षेत्रको शान्ति कायम गर्न मात्र होइन, विश्वव्यापी राजनीतिक तथा आर्थिक सन्तुलनमा पनि उल्लेखनीय प्रभाव छाडेको छ।

 

SCO ले क्षेत्रीय आतंकवादविरोधी संरचना (RATS) स्थापना गरेर सुरक्षा सहकार्यलाई औपचारिक बनाएको छ, जसले सदस्य राष्ट्रहरूलाई आतंकवादी गतिविधिहरूको साझा प्रतिरोध गर्न सक्षम बनाएको छ। साथै, आर्थिक, सांस्कृतिक र वातावरणीय सहकार्यलाई पनि प्रवर्द्धन गर्दै यस संगठनले सदस्य राष्ट्रहरूको समग्र विकासमा गति दिएको छ।

 

चीनको भूमिका: नेतृत्व र रणनीतिक सन्तुलन

SCO को संस्थापक सदस्यका रूपमा चीनले सुरुदेखि नै स्थायी, निर्णायक र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। आर्थिक स्रोत, राजनीतिक प्रभाव र कूटनीतिक सक्रियताको कारण चीन संगठनका धेरै पहलुहरूमा अग्रणी रहँदै आएको छ।

१. सुरक्षा नेतृत्व:
चीनले RATS मार्फत आतंकवादविरोधी अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। साइबर आतंकवाद, सीमापार अपराध तथा लागुऔषध तस्करी विरुद्धको रणनीतिक सहयोगमा उसले निर्णायक पहल लिएको छ।

२. आर्थिक समृद्धिका लागि मार्गदर्शन:
बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) जस्ता बहुपक्षीय आर्थिक योजनाहरूका माध्यमबाट चीनले पूर्वाधार, ऊर्जा र व्यापारमा SCO राष्ट्रहरूबीच सहयोग अभिवृद्धि गरेको छ। यसले क्षेत्रीय आर्थिक निर्भरता र सन्तुलनलाई बलियो बनाएको छ।

३. कूटनीतिक सन्तुलन र समावेशिता:
विभिन्न राजनीतिक प्रणाली र सांस्कृतिक पृष्ठभूमिका देशहरूबीच समन्वय कायम राख्न चीनले संयमित र समावेशी नीति अपनाउँदै आएको छ। भारत र पाकिस्तानजस्ता विरोधी राष्ट्रहरूलाई एकै संगठनमा ल्याउनु यसको उदाहरण हो।

 

चीनले यो शरद ऋतुमा आफ्नो उत्तर–औद्योगिक सहर तियानजिनमा SCO को २५औं राष्ट्रप्रमुखहरूको बैठक आयोजना गर्दैछ। तियानजिन, जुन बेल्ट एण्ड रोड इनिसिएटिभको मुख्य भू–समुद्री केन्द्र हो, अहिले चीनको नवीनता र विश्वव्यापी व्यापारको केन्द्रको रूपमा विकास भइरहेको छ।

अस्ताना शिखर सम्मेलनपछि चीनले सन् २०२४–२५ को लागि SCO को अध्यक्षता सम्हाल्नेछ। चीनले आगामी वर्ष राजनीतिका साथै सुरक्षा र अर्थतन्त्रसम्बन्धी सयभन्दा बढी कार्यक्रमहरू आयोजना गर्नेछ, जसको उद्देश्य साझा भविष्य निर्माण, सहयोगमा आम सहमति र क्षेत्रीय ऐक्यबद्धतालाई प्रवर्द्धन गर्नु हो।

यस वर्षको नारा “शाङ्घाई भावनालाई कायम राख्दै, SCO अगाडि बढ्दै” रहेको छ। हैहे नदी किनारमा विश्व नेताहरू भेला भई SCO का उपलब्धिहरूको समिक्षा, भावी योजना निर्माण र सहकार्यमा साझा सहमति बनाउनेछन्। यसले SCO लाई चीनबाट नयाँ यात्रा आरम्भ गर्न प्रेरणा दिनेछ र साझा भविष्य भएको गहिरो समुदायको निर्माणमा टेवा पुर्‍याउनेछ।

 

बढ्दो विश्व ध्रुवीकरण र सुरक्षा संकटहरूको सन्दर्भमा SCO एक वैकल्पिक, सन्तुलित र समावेशी बहुपक्षीय मञ्चको रूपमा उदाएको छ। यसले पश्चिम–केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्थालाई सन्तुलनमा ल्याउने मात्र होइन, विश्व दक्षिणका लागि साझा आवाजको रूपमा काम गरिरहेको छ।

२३ वर्षको यात्रामा SCO ले क्षेत्रीय सुरक्षादेखि विश्वव्यापी शान्ति र विकासमा उल्लेखनीय योगदान दिएको छ। चीनको सक्रिय नेतृत्वले यसलाई एक प्रभावशाली अन्तर्राष्ट्रिय संस्था बनाएको छ। तियानजिन शिखर सम्मेलन SCO को भावी दिशा निर्धारण गर्ने ऐतिहासिक अवसर बन्नेछ, जसको प्रभाव एशियाली भू–राजनीति र विश्व समृद्धिमा प्रत्यक्ष देखिनेछ। CRI