इरानद्वारा इजरायलमा जवाफी आक्रमण

इरानद्वारा इजरायलमा जवाफी आक्रमण

तेहरान, ३१जेठ :

इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमण पछि इरानले शनिबार इजरायलमा जवाफी आक्रमण गरेको छ ।

शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ ।

इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ उडिरहेको एएफपीले जनाएको छ ।

इजरायली अग्निशमन सेवाले आफ्नो टोलीले इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा प्रतिक्रिया दिँदै भवनमा फसेका मानिसहरूलाई उद्धार गर्ने काम गरिरहेको बताएको छ ।

इजरायली मिडिया रिपोर्टका अनुसार गुस दान क्षेत्रबाट ३४ जना घाइतेहरुको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् । उनीहरुका अनुसार ती मध्ये एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

इरानको राजधानी तेहरानमा शनिबार मेहराबाद विमानस्थलबाट आगो र भारी धुवाँ निस्किएको एएफपीले जनाएको छ भने स्थानीय मिडियाले उक्त क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् ।

यसअघि इरानले आफ्नो हवाई रक्षा प्रणाली सक्रिय गरेको र राजधानी भरि विस्फोटको आवाज सुनिएको बताएको थियो ।

दर्जनौँ मानिसहरू आफ्नो देशको सैन्य प्रतिक्रियालाई उत्साहित गर्न तेहरानको सडकमा राष्ट्रिय झण्डा फहराउदै इजरायल विरोधी नारा लगाएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले शुक्रबार इजरायलले गरेको आक्रमणमा ७८ जनाको मृत्यु हुनुका साथै ३२० जना घाइते भएको बताउनु भएको छ ।

आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले दुई राष्ट्रलाई युद्ध विराम गर्न आह्वान गर्नु भएको छ । उहाँले सामाजिक सञ्जाल एक्स मार्फत युद्ध रोक्ने समय आएकाले कुटनैतिक समाधानको बाटोमा जानु पर्ने बताउनु भएको छ ।

 

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गर्नु भएको छ ।
शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको आणविक सुविधाहरूलाई क्षति पुर्यायो ।

इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने इजरायलको कार्यको चीनले निन्दा गर्दछ, संयुक्त राष्ट्रका लागि चिनका स्थायी प्रतिनिधि फु कङ्गले भन्नु भयो ।
चीन तनाव र द्वन्द्वको विस्तारको विरोधमा भएको जनाउदै उहाँले इजरायली अपरेसनको परिणामको बारेमा चिन्तित रहेको सुरक्षा परिषद्को आपतकालीन बैठकमा बताउनु भयो ।
द्धन्द्धको वृद्धिले कसैको हितमा काम नगर्ने बताउदै इजरायललाई तत्काल सबै सैन्य दुस्साहस बन्द गर्न र थप तनावबाट बच्न आग्रह गर्नु भएको छ ।

उहाँले चीनको पक्षबाट सम्बन्धित पक्षहरूलाई राष्ट्रसङको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको पालना गर्न, र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न र क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आह्वान गर्नु भयो ।
हालको घटनाक्रमको नकारात्मक प्रभाव बारे चिन्ता व्यक्त गर्दै चीन सधैँ वार्ताको माध्यमबाट इरानको आणविक सवाललाई शान्तिपूर्ण समाधान गर्न प्रतिबद्ध रहि आक्रमणको विरोध गरेको उहाँले बताउनु भयो ।
आणविक सन्धिको एक पक्षको रूपमा, इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई पूर्ण रूपमा सम्मान गर्नु पर्ने उहाँले उल्लेख गर्नु भयो ।
उहाँले इजरायलमाथि प्रभाव भएका देशहरूले रचनात्मक भूमिका खेल्नु पर्ने र सुरक्षा परिषद्ले आफ्ना प्रस्तावको कार्यान्वयन सुनिश्चित गरी शान्ति कायम गर्ने बडापत्रमा लिपिबद्ध माध्यमहरू प्रयोग गर्नु पर्ने बताउनु भएको

 

इजरायल–इरान तनावले आफ्नो लागि सैन्य सहायता नघट्ने युक्रेनको अपेक्षा

इजरायल र इरानबीचको तनावका कारण किएभलाई दिइने सैन्य सहायतामा कमी नआउने विश्वास युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “हामी युक्रेनलाई दिइने सहयोग यसबाट कम नहोस् भन्ने चाहन्छौं । पछिल्लो पटक युक्रेनलाई सहायता कम गर्न कारक बनेको इजरायल र अरब राष्ट्रको सैन्य तनाब पनि एक कारक बनेको थियो ।

इजरायलले शुक्रबार इरानमाथि आणविक तथा सैन्य संयन्त्रका साथै उच्च पदस्थ जनरल र आणविक वैज्ञानिकलाई लक्षित गरी ठूलो मात्रामा आक्रमण गरेको थियो ।

इरानमाथिको आक्रमणले तेलको मूल्यमा वृद्धि भएको र यसले रुसलाई फाइदा पुग्ने जेलेन्स्कीले बताउनुभएको छ ।

“आक्रमणका कारण तेलको मूल्यमा तीव्र वृद्धि भयो। यो हाम्रो लागि नराम्रो हो”, रूसी तेल निर्यातमा मूल्य सीमा लागू गर्न आह्वान गर्दै उहाँले थप्नुभयो ।

उहाँले निकट भविष्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्भावित बैठकमा मूल्य सीमाको मुद्दा उठाउने बताउनुभयो ।

यद्यपि, इजरायली आक्रमणहरूले तेहरानबाट मस्कोलाई सैन्य उपकरण आपूर्तिमा कमी ल्याउँछ भने यो किएभका लागि पनि अनुकूल हुन सक्छ । रूसले युक्रेनविरूद्धको लडाईमा इरानमा निर्मित ड्रोन र र उत्तर कोरियाली जनशक्तिको व्यापक प्रयोग गरेको दावी युक्रेन र उसका पश्चिमी सहयोगीहरूले गरेका छन् ।

युक्रेनी नेताले वासिङ्टनको संलग्नताबिना युरोपको समर्थन रोकिने चेतावनी पनि दिनुभयो । “यदि अमेरिकाको संलग्नता छैन भने युक्रेनलाई दिने सहयोग के गर्ने भनेर युरोपले अहिलेसम्म निर्णय गरिसकेको छैन।”

उहाँले रुससँगको वार्तामा ‘दृष्टिकोण परिवर्तन’ गर्न अमेरिकालाई आग्रह गर्दै अहिले अमेरिकाको रूससँगको सम्बन्ध ‘धेरै न्यानो’ भएको र यसले युद्ध अन्त्य गर्न सहयोग नगर्ने चेतावनी दिनुभयो ।

रासस/एएफपी