
सिमकोट (हुम्ला), २८ जेठः
यहाँको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन् । यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताउनुभयो । विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले बताउनुभयो ।

परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उहाँले बताउनुभयो । बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरीचौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । बेपत्ता बालिका कर्णाली माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत थिइन् ।
झापामा तीन जना मृत फेला
बनियानी (झापा), २८ जेठ : जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।

अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छ जनाइएको छ । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

