नेपाल नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा

नेपाल नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा

काठमाडौँ, २७ जेठः

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।

 

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

 

नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएको छ । अभ्यासका क्रममा घाइते भएपछि सोमपाल कामी र गुल्सनकुमार झा आजको खेल खेल्नबाट वञ्चित भएका छन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ । दायाँ हाते तीव्र गतिका बलर नन्दनले आजैको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।

 

त्यसैगरी, ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ । आज नेपाल तेस्रो जितको खोजीमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक विकेटले तथा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै, नेपाल स्टकल्यान्डसँगको दोस्रो खेलमा भने दुई रनले पराजित भएको थियो ।

 

यता नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यमा छ । नेदरल्यान्ड्स भने स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो ।

 

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी छन् ।

 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नन्दनको डेब्यू

काठमाडौँ, २७ जेठः मध्यम गतिका बलर नन्दन यादवले स्कटल्याण्डमा सञ्चालन भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् ।

 

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा यादवले डेब्यू गरेका हुन् । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यू क्याप हस्तान्तरण गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गर्ने उनी ४२औँ खेलाडी हुन् । जारी सिरिजमा यसअघिका तीन खेलमा यादवले खेल्ने मौका पाउन सकेका थिएनन् ।

 

तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि उनले खेल्ने मौका पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार सोमपाल अभयासका क्रममा घाइते भएका हुन् । अभ्यासका क्रममा उनीसँगै गुल्सन झा पनि घाइते भएका छन् । सोमपालको दायाँ हातमा तथा गुल्सनको घुँडामा चोट लागेको छ ।

 

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ, २७ जेठः स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन् । अभ्यासका क्रममा घाइते भएका कारण दुवैजनाले आजको खेल गुमाउने भएका हुन् ।

 

 

“सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरुले आजको खेल तथा टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने छन्”, नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

 

सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेका कारण चिकित्सकको परामर्श पश्चात् नेदरल्यान्ड्सविरुद्धको खेल र टी–२० आई त्रिकोणीय श्रृङ्खलाका सम्पूर्ण खेलमासमेत सहभागी हुन नसक्ने विज्ञप्तीमा जनाइएको छ ।