
काठमाडौँ, २७ जेठः
चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो ।
गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् ।
प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता रु दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो ।

वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर रु आठ अर्ब ४८ करोड रहेको छ भने रु १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । समीक्षा अवधिमा शोधनान्तर बचत रु चार खर्ब ३८ अर्ब ५२ करोड रहेको छ । विदेशी विनिमय सञ्चिति रु २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ ।

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

काठमाडौँ, २७ जेठः गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा वर्तमान आर्थिक तथा वित्तीय स्थिति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.४० प्रतिशत थियो ।

राष्ट्र बैङ्कका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैर मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले वृद्धि भएको छ । तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११, मरमसलाको २.२० र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको छ ।
प्रतिवेदनअनुसार गत वैशाख महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ४.२९ प्रतिशत देखिएको छ । मधेश प्रदेशको २.८१, बागमतीको २.४०, गण्डकीको २.२३, लुम्बिनीको २.१५, कर्णालीको २.२१ र सुदूरपश्चिमको ३.१४ प्रतिशत रहेको छ ।
त्यसैगरी काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४, तराईको २.६४, पहाडको २.६५ र हिमालको ४.०१ प्रतिशत रहेको छ ।
