
शून्य समयमा सांसदहरूद्वारा समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद बीना लामाले चैत १५ गतेको तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र थुनामा राखिएका रवीन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहा गर्नुपर्ने माग गर्नुभयो ।
सांसद विराजभक्त श्रेष्ठले सिम्रौनगढको पल्कियामाई मन्दिर इतिहासको पहिचान र जीवन्त प्रतीक भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद शान्ति श्रेष्ठले सडकको अवस्था वर्षामा हिलाम्मे र अरू बेला धुलाम्मे हुने भएकाले वर्षा अगाडि नै बाँकी सडक निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरस्वती बजिमयले पनि वर्षायाम सुरू भएसँगै पहाडी र हिमाली भेगका नागरिकलाई यात्रा गर्दा जोखिम झेल्नुपर्ने भएकाले समयमै सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
सांसद शिव नेपालीले राष्ट्रिय गौरव योजनामा देखिएको अनियमितताप्रति शून्य सहनशीलता अपनाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रक्रियामा न्यायिक छानबिनको माग गर्नुभयो ।
सांसद शिशिर खनालले गोङ्गबु बसपार्क क्षेत्रमा साँझपख खुला सडकमा अमर्यादित गतिविधि, रातभरि होहल्ला र यात्रुहरूलाई विभिन्न प्रलोभन देखाई लुटपाट हुने गरेको गुनासो बढेकाले सुरक्षित र सम्मानजनक वातावरण सिर्जना गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
सांसद शोभा ज्ञवालीले विभिन्न योजनाहरू समयमा सम्पन्न नहुनु र बजेट ‘फ्रिज’ हुने समस्या देखिएकाले ठेक्का लिने निर्माण व्यवसायीहरूको क्षमता र नियत मूल्याङ्कन गरेर मात्रै ठेक्का स्वीकृत गर्नुपर्ने बताउनुभयो ।
सांसद सन्तोष चालिसेले आउँदो बजेटमा कृषकहरूलाई बजारसँग जोड्न सक्ने व्यवस्था मिलाउन र देशमै रोजगारी सिर्जना गर्न कृषि क्षेत्रको बजेट बढाउनुपर्ने सुझाव दिनुभयो ।
सांसद सरस्वती सुब्बाले दलित भूमिहीनलाई आवास र कृषि भूमिसहितको अधिकार प्रदान गर्न तत्काल संसद्मा भूमि, वन र निकुञ्जसम्बन्धी विधेयक ल्याउन माग गर्नुभयो ।
सांसद सराजअहमद फारुकीले कपिलवस्तु क्षेत्र नं ३ मा नदी कटानका कारण बर्खायाममा गाउँ नै डुब्ने खतरा रहेकाले सम्बन्धित मन्त्रालयको ध्यान पुग्नुपर्ने बताउनुभयो ।
सांसद शान्ति चौधरीले किसानहरूलाई समयमा मल वितरण गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो ।
सांसद सरिता भुसालले सिमसार क्षेत्रको उचित विकास र संरक्षण हुन नसक्दा उपेक्षित देखिएकाले सिमसार विकासका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो ।
सांसद सीता मिजारले सङ्घीय संसद् भवन निर्माण आयोजनामा भएको ढिलाइ र सुस्तीले अन्य परियोजनाहरू समयमै सम्पन्न हुनेमा आशङ्का उत्पन्न गराएको बताउनुभयो ।
काठमाडौँ, २२ वैशाखः भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ् टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले यस प्रकरणमा के–कसो भएको हो भनेर खोजिनीति गर्न निर्देशन दिनुभयो । “उज्यालो भविष्य देखेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरुको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु”, सभामुख घिमिरेले भन्नुभयो । साथै विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न गराउन पनि निर्देशन दिनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरुले प्रिसा साह मृत्यु प्रकरणबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । केही समयअघि सोही विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको पनि रहस्यमय ढङ्गले मृत्यु भएको थियो । पुनः सोही प्रकृतिको घटना अहिले दोहोरिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुले थप असुरक्षित महसुस गरेको सांसदहरुको भनाइ छ ।
सांसदहरु देवेन्द्र पौडेल, डा अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइरालालेलगायतले प्रिसा साह मृत्यु प्रकरणबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे पनि छानबिनको माग संसद्मा उठेको छ । सांसद लालवीर चौधरीले रेशम चौधरीलाई सर्वोच्च अदालतको नक्कली पत्रका आधारमा पक्राउ गरेको विषयमा सरकारले सदनमा जवाफ नदिए आफ्नो दलले सरकार छाड्ने बताउनुभयो । सांसद डा अमरेशकुमार सिंहले सरकारको षड्यन्त्रमा रेशम चौधरी पक्राउ परेको आरोप लगाउनुभयो ।
सांसद महन्थ ठाकुरले तराई मधेशका नागरिकमाथि राज्यबाटै विभेद भइरहेको आरोप लगाउनुभयो । त्यस्तै, मधेशका नागरिकमाथि सार्वजनिक रुपमा दुव्र्यवहार हुने गरेको पनि उहाँको भनाइ छ । रेशम चौधरीको गिरफ्तारी पनि विभेदकै अर्को रुप रहेको सांसद ठाकुरको भनाइ छ ।
सांसद सीताकुमारी रानाले नेपालमा चट्याङ्बाट हरेक वर्ष औसत चार जनाको मृत्यु हुने गरेको दैलेख जिल्ला यसको सबैभन्दा बढी जोखिममा रहेका कारण त्यहाँ पूर्वसूचना दिने सेन्सर सहितको प्रविधि जडान गरिनुपर्ने माग गर्नुभयो ।
