‘प्रेस स्वतन्त्रता मानवअधिकारको रक्षक हो’

‘प्रेस स्वतन्त्रता मानवअधिकारको रक्षक हो’

Mahabhoj

काठमाडौँ, २० वैशाखः

JANTE BAKHRO

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रेस स्वतन्त्रता मानवअधिकारको रक्षक भएको बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घले यहाँ आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा’ वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारको नीतिगत र पेसागत सुरक्षालाई सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षक हो । पत्रकारको सुरक्षाका लागि कार्यविधि निर्माण गर्न सरोकार भएकासँग छलफल भइरहेको छ । पत्रकारको सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले बेलाबेलामा सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।” अध्यक्ष मगरले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा घटेको घटनामा मारिएका पत्रकार सुरेश रजक र शिक्षक आन्दोलनमा परी घाइते भएका महिला पत्रकार सविना कार्कीका विषयमा आयोगले मानव अधिकारका दृष्टिकोणबाट अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सशस्त्र द्वन्द्वको बेला समेत नभएका घटना अहिले घटेका छन्, ती दुःखद हुन् । ती घटनाका बारेमा आयोगले थालेको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको छ । निष्पक्ष अनुसन्धानसहितको प्रतिवेदन हामी यथाशीघ्र सार्वजनिक गर्दैछौँ ।”

विगतका वर्षभन्दा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष मगरले प्रेस स्वतन्त्रता हननका घटना बढ्नु भएकाले पत्रकारको सुरक्षाका लागि कार्यविधि अनिवार्य बनेको आवश्यकता औँल्याउनुभयो । प्रेस स्वतन्त्रता हननका घटना घटाउन र पत्रकारको सुरक्षा गर्नतर्फ लाग्न सबैमा आग्रह गर्नुभयो ।

Mahabhoj

अध्यक्ष मगरले भन्नुभयो, “प्रेस स्वतन्त्रता हननका घटना कम गर्दै लैजानु सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक छ । पत्रकारलाई स्वतन्त्र रूपमा सामग्री सङ्कलन र सम्प्रेषण गर्न दिनुपर्छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले बदलिँदो समय परिस्थितिसँगै नेपाली प्रेसजगत्मा चुनौती थपिँदै गएको भन्दै प्रेस स्वतन्त्रताको विषयमा निर्धक्क हुने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्य र गैह्रराज्यको व्यवहारका कारण नेपाली प्रेसजगत्ले निर्भयतापूर्वक आफ्नो काम गर्न सकेको छैन । मिडिया काउन्सिल विधेयकसहित मिडियासम्बन्धी ऐन नआएका कारणले पनि पत्रकारले आफ्नो कार्यक्षेत्रमा निर्धक्कका साथ काम गर्न सकिरहेका छैनन् ।”

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा पत्रकार सुरेश रजकको हत्या, शिक्षक आन्दोलनमा घाइते पत्रकार सविता कार्कीलगायत पत्रकारमाथि भएका घटनाप्रति अध्यक्ष शर्माले खेद प्रकट गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले जुनसुकै राजनीतिक दल सरकारमा पुगे पनि प्रेस स्वतन्त्रताको सवालमा निर्धक्क हुने अवस्था नरहेको बताउँदै पत्रकारलाई स्वतन्त्र भएर काम गर्ने वातावरण बनाउनु सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रविधिलाई नियमन गर्ने बहानामा प्रेस स्वतन्त्रता खोस्नेसम्मका काम भइरहेकाले यस्ता कार्य नगर्न÷नगराउन उहाँले सरोकार भएका सबैलाई आग्रह गर्नुभयो ।

महासङ्घका उपाध्यक्ष उमिद् बागचनले गत चैतमा काठमाडौँ तीनकुनेमा भएको पूर्वराजा समर्थक समूहद्वारा गरिएको प्रदर्शनमा मारिएका पत्रकार सुरेश रजकको हत्याबारे छानबिन समितिले तयार गरेको प्रतिवेदनबारे जानकारी गराउनुभएको थियो ।

आजको कार्यक्रममा नेपाल पत्रकार महासङ्घद्वारा आयोजना गरिएको ‘लैङ्गिक समानता तथा सामाजिक समावेशिता’ पुरस्कर कैलालीको रेडियो टिकापुर एफएम १०१ मेगाहर्जलाई प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार तारानाथ दाहाल, पूर्वअध्यक्ष हरिहर विरही, पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, डा महेन्द्र विष्ट, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत पत्रकारहरूको सहभागिता थियो । आज यहाँ गत वैशाख २१ देखि यही वैशाख १७ सम्मको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *