राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

Mahabhoj

काठमाडौँ, १९ वैशाखः

JANTE BAKHRO

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहनुभएको छ ।

 

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएको थियो । यसअघि राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले स्वागत गर्नुभएको थियो ।

 

राष्ट्रपति पौडेललाई संसद् भवन गेटदेखि नेपाली सेनाको ‘रिसल्ला’सहितको राजकीय सम्मानको प्रदान गरिएको थियो । नेपाली सेनाका परामाधिपतिसमेत रहनुभएका राष्ट्रपति पौडेलको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । बैठकमा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामुखहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता छ । संयुक्त बैठकको नेपाल टेलिभिजन, रेडियो नेपाललगायत विभिन्न सञ्चामाध्यमले प्रत्यक्ष प्रसारण गरेका छन् ।

 

आज संसद् भवन परिसर राष्ट्रिय झण्डासहतिका ध्वजापताकाले सिङ्गारिएको छ । भवन परिसरमा रहेको ‘वाटर फाउन्टेन’बाट आमन्त्रित पाहुनाको स्वागत गरिएको छ । सचिवालयले विशेष प्रवेश पाससहति ४०० भन्दा बढी अतिथिलाई नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा निमन्त्रणा गरेको छ ।

Mahabhoj

 

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।

 

यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

 

 

 

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणालाई थप सुुदृढ गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गरिने उहाँले उल्लेख गर्नुभयो ।

 

 

सरकारले धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्र (सेज) लाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो नीति लिएको हो ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुँदै यी दुवैलाई सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाउने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

 

यस्तै, पेट्रोलियम, फलाम, तामाजस्ता खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढाइने बताउनुभयो । व्यावसायिक वातावरण सुधार गर्न सरकारले अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलतामा निजी लगानी प्रवर्द्धन गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।

 

यस्तै, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यसहित मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय कच्चापदार्थ, उद्यमशीलता र सीपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित, सहकारी तथा सामुदायिक क्षेत्रलाई उद्योगतर्फ आकर्षित गर्ने, स्टार्टअप कर्जा कार्यक्रम विस्तार, स्टार्टअप उद्यमीलाई सबै प्रदेशमा व्यवसाय संवर्द्धन केन्द्र स्थापनालगायतका नीति सरकारले लिएको छ ।

 

यस्तै, लजिस्टिक गुरुयोजना बनाउने, रेल र जल परिवहनको पूर्वाधार बनाई ढुवानी लागत घटाउने, रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउने, राष्ट्रिय सुरक्षा भण्डार र खाद्य सुरक्षा भण्डारमा आवश्यक खाद्यान्न मौज्दात राख्नेजस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।

 

साथै, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन र भण्डार क्षमता बढाउने नीति सरकारको छ । ग्रिन हाइड्रोजनको प्रारम्भिक प्रयोगका लागि तयारी गर्ने र पेट्रोलमा बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ ।

 

 

 

सरकारले महिलाविरुद्ध हुने शोषण, हिंसा र भेदभाव अन्त्य गर्ने उद्देश्यले महिला बेचबिखन तथा ओसारपसारमा शून्य सहनशीलता अपनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।

 

राष्ट्रपति पौडेले भन्नुभयो, “मानव बेचबिखन तथा ओसारपसारमा शून्य सहनशीलता अपनाउँदै लैङ्गिक हिंसापीडितका लागि तत्काल संरक्षण, उद्धार र मनोसामाजिक परामर्श र न्यायिक निरुपण र पीडकलाई कडा कारबाही गरी पीडितको समाजमा पुनःस्थापना गरिनेछ ।” महिलाको सर्वाङ्गीण उत्थान र सवलीकरणमा विशेष ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा सङ्कल्पका साथ सरकार अघि बढिरहेको बताउनुभएको छ ।

 

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सुशासन प्रवर्द्धनका लागि तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

 

राष्ट्रपति पौडेलले भन्नुभयो, “प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, सङ्घर्ष र बलिदान, परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउन, जनतामा राज्यप्रति थप आशा र भरोसा प्रदान गर्न, आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण र दण्डहीनता अन्त्य गर्न सरकार प्रतिबद्ध छ ।”

 

 

सरकारले गम्भीर प्रकृतिका उपचार स्वास्थ्य बिमाबाट गरिने व्यवस्था गर्ने भएको छ ।

 

सङ्घीय संसद्मा आज प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गम्भीर प्रकृतिका रोगको उपचार बिमाबाट हुनेगरी सुविधा थैली परिमार्जन गर्न आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले बिमा सेवाको सुशासन र वित्तीय दायित्वका लागि बिमा बोर्डको पुनः संरचना गरिने उल्लेख गर्नुभयो ।

 

साथै बिमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधि बिमा प्रणालीमा जोडिने जनाइएको छ ।

 

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वको उपलब्धिको रक्षा गर्न वर्तमान सरकार दृढ रहेको बताउनुभएको छ ।

 

सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गणतान्त्रिक व्यवस्थाकाविरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिक्रियावादी अराजक गतिविधिको प्रतिवाद गरिने बताउनुभयो ।

 

“राष्ट्रिय आवश्यकता र जनचाहनाअनुरुप लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादोन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि, राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

 

 

 

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने भएको छ । आज संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराइने बताउनुभएको छ ।

 

राष्ट्रपति पौडेलले खानेपानी र सरफाइमा क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताउनुभयो । “विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरु र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गरिनेछ ।”

 

 

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रममा समस्याग्रस्त सहकारीका थोरै रकम भएका बचतकर्ताको रकम फिर्ता गर्न यस्तो नीति लिइएको उल्लेख छ । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

यस्तै, सहकारीको तथ्याङ्क व्यवस्थित गर्न सरकारले विद्युतीय सूचना प्रणाली स्थापना गर्ने उल्लेख गरिएको छ । सहकारीको यकिन तथ्याङ्क नहुँदा समस्या समाधानमा असहज भइरहेको थियो ।

 

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि समस्याग्रस्त सहकारीमा रु पाँच लाखभन्दा थोरै बचत भएका पीडितलाई बचत फिर्ता गर्ने भनी उल्लेख गरिए पनि हालसम्म फिर्ता हुन नसकेको भनी सहकारीपीडितले आन्दोलन गरिरहेका छन् ।

 

 

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *