युक्रेन र अमेरिकाद्वारा खनिज सम्झौतामा हस्ताक्षर

युक्रेन र अमेरिकाद्वारा खनिज सम्झौतामा हस्ताक्षर

Mahabhoj

वासिङ्टन, १८ वैशाख :

संयुक्त राज्य अमेरिका र युक्रेनले बुधबार दुई महिनाको ढिलाइपछि खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सैन्य सहायता समाप्त भएपछि किएभप्रति अमेरिकी प्रतिबद्धताको नयाँ रूप भनेको छ ।

 

युक्रेनले लामो वार्तापछि आफ्ना प्रमुख हितहरू सुरक्षित गरेको बताएको छ । यसमा आफ्नै दुर्लभ धातुहरूमाथि पूर्ण सार्वभौमिकता पनि समावेश छ, जुन नयाँ प्रविधिहरूका लागि अत्यावश्यक छन् र अहिलेसम्म धेरै जसो प्रयोग नभएका छन् ।

 

तीन वर्षअघि रुसले आक्रमण गरेपछि पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा पठाइएको अमेरिकी हतियारको क्षतिपूर्तिका रूपमा ट्रम्पले सुरुमा युक्रेनको खनिज सम्पत्तिको अधिकारको माग गर्नुभएको थियो ।

 

ट्रम्पले विश्वभरका अमेरिकी सुरक्षा प्रतिबद्धताहरूलाई तीव्र रूपमा कम गर्न खोजिरहेकाले प्रारम्भिक हिचकिचाहटपछि युक्रेनले संयुक्त राज्य अमेरिकाको दीर्घकालीन लगानी सुरक्षित गर्ने तरिकाका रूपमा खनिज सम्झौतालाई स्वीकार गरेको छ ।

Mahabhoj

 

वासिङ्टनमा सम्झौताको घोषणा गर्दै अर्थमन्त्री स्कट बेसेन्टले ‘युक्रेनमा स्थायी शान्ति र समृद्धिका लागि दुवै पक्षको प्रतिबद्धता’ देखाएको बताउनुभयो ।

 

“यो सम्झौताले रुसलाई ट्रम्प प्रशासन लामो समयसम्म स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनमा केन्द्रित शान्ति प्रक्रियामा प्रतिबद्ध छ भन्ने स्पष्ट सन्देश दिन्छ”, बेसेन्टले भन्नुभयो, “र स्पष्ट रूपमा रूसी युद्ध मेसिनलाई वित्त पोषण वा आपूर्ति गर्ने कुनै पनि राज्य वा व्यक्तिलाई युक्रेनको पुनर्निर्माणबाट फाइदा लिन अनुमति दिइने छैन ।”

 

अर्थमन्त्रीको वक्तव्यमा युक्रेनमा रुसको ‘पूर्ण–स्तरको आक्रमण’ उल्लेख गरिएको छ । यो ठूलो मात्रामा जिम्मेवारी बोक्ने ‘सङ्घर्ष’ भन्ने ट्रम्प प्रशासनको सामान्य व्याख्याबाट फरक छ ।

 

किएभमा प्रधानमन्त्री डेनिस स्मिगलले सम्झौता ‘राम्रो, समान र फाइदाजनक’ भएको बताउनुभयो ।

 

उहाँले दुई देशले प्रत्येक पक्षलाई समान मतदान अधिकार भएको पुनर्निर्माण लगानी कोष स्थापना गर्ने र युक्रेनले ‘आफ्नो भूमिगत, पूर्वाधार र प्राकृतिक स्रोतहरूमा पूर्ण नियन्त्रण’ राख्ने बताउनुभयो ।

 

किएभका लागि प्रमुख चिन्तालाई सम्बोधन गर्दै उहाँले युक्रेनलाई सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि अमेरिकी समर्थनमा अर्बौं डलरको कुनै पनि ‘ऋण’ फिर्ता गर्न नभनिएको बताउनुभयो ।

 

“कोषको नाफा युक्रेनमा मात्र पुनः लगानी गरिनेछ”, उहाँले भन्नुभयो ।

 

युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोले सम्झौताले खनिज र तेल तथा ग्यास परियोजनाहरूका साथै ‘सम्बन्धित पूर्वाधार वा प्रशोधन’ लाई वित्तीय सहयोग गर्ने जानकारी दिनुभयो ।

 

ट्रम्पले प्रारम्भमा पाँच खर्ब डलर मूल्य बराबरको खनिज सम्पत्ति खोज्नुभएको थियो । यो युद्धदेखि युक्रेनलाई संयुक्त राज्य अमेरिकाले योगदान गरेको रकमको लगभग चार गुणा हो ।

 

– खराब कर्ताहरू विरुद्ध अमेरिकी उपस्थिति –

 

ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन अस्वीकार गर्नुभएको छ र नाटोमा सामेल हुने युक्रेनको आकांक्षालाई अस्वीकार गर्नुभएको छ ।

 

तर उहाँले बुधबार जमिनमा अमेरिकी उपस्थितिले युक्रेनलाई फाइदा पुर्‍याउने बताउनुभयो ।

 

“अमेरिकी उपस्थितिले, मलाई लाग्छ, धेरै खराब कर्ताहरूलाई देशबाट वा निश्चित रूपमा हामीले उत्खनन गरिरहेको क्षेत्रबाट बाहिर राख्नेछ”, ट्रम्पले क्याबिनेट बैठकमा भन्नुभयो ।

 

न्युजनेशनसँगको टाउन हलमा पछि बोल्दै ट्रम्पले भ्याटिकनमा हालैको बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई ‘रुस धेरै ठूलो र धेरै बलियो छ’ भन्दै सम्झौतामा हस्ताक्षर गर्नु ‘धेरै राम्रो कुरा’ हुने बताउनुभयो ।

 

खनिज सम्झौताले रुसी नेता भ्लादिमिर पुटिनलाई ‘अवरोध’ गर्ने छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो, “ठिक छ, यो हुन सक्छ ।”

 

विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार दुवै पक्षले ‘ठोस प्रस्तावहरू’ अगाडि नल्याएसम्म मध्यस्थता छोड्ने धम्की दिनुभएको थियो ।

 

आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि ट्रम्पले युक्रेनले रुसले कब्जा गरेको केही क्षेत्रलाई त्याग्ने सम्झौताका लागि दबाब दिनुभएको छ । रुसले कम्तीमा ३० दिनको युद्धविरामका लागि अमेरिकी समर्थित प्रस्तावहरूलाई अस्वीकार गरेको छ ।

 

अन्तर्राष्ट्रिय समुदायको समर्थनमा जेलेन्स्कीले सन् २०१४ मा कब्जा गरिएको कृष्ण सागर प्रायद्वीप क्रिमिया रुसलाई औपचारिक रूपमा दिने कुनै पनि कुरा अस्वीकार गर्नुभएको छ ।

 

तर जेलेन्स्कीले फेब्रुअरी २८ मा ह्वाइट हाउसमा भएको विनाशकारी बैठकपछि ट्रम्पको कूटनीतिका लागि आवाज उठाउन ख्याल राख्नुभएको छ । उक्त बैठकमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले उहाँलाई अमेरिकी सहायताका लागि कथित रूपमा कृतघ्न भएको भन्दै आलोचना गर्नुभएको थियो ।

 

सम्झौतालाई ‘ट्रम्पको युक्रेनमाथिको जबरजस्ती सम्झौता’ भन्दै सदनको विदेश मामिला समितिका डेमोक्रेट श्रेणीका अमेरिकी सांसद ग्रेगरी मिक्सले भन्नुभयो, “ट्रम्पले अब जेलेन्स्की र युक्रेनमा ‘फिक्सेसन’ गर्नुको साटो पुटिनमाथि दबाब दिने प्रयासमा ध्यान केन्द्रित गर्नुपर्छ ।”

 

विभिन्न अनुमान अनुसार युक्रेनले विश्वको खनिज स्रोत र दुर्लभ पृथ्वीहरूको लगभग पाँच प्रतिशत भाग ओगटेको छ । तर धेरै स्रोतहरू प्रयोग गर्ने कामको अझै सुरु भएको छैन र धेरै स्थान अहिले रुसी सेनाको नियन्त्रणमा छन् ।

 

विशेष गरी फ्रान्सको ब्युरो अफ जियोलोजिकल एन्ड माइनिङ रिसर्चका अनुसार युक्रेनमा विश्वको लगभग २० प्रतिशत ग्राफाइट छ । ग्राफाइट विद्युतीय ब्याट्रीका लागि अत्यावश्यक सामग्री हो ।

 

युक्रेन म्याङ्गनिज र टाइटेनियमको प्रमुख उत्पादक पनि हो र युक्रेनले युरोपमा सबैभन्दा ठूलो लिथियम भण्डार भएको दाबी गर्दछ । रासस/एएफपी

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *