
पर्वत, १ वैशाखः
कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् ।
पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।

बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो । प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ ।
उनीसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनीहरु भने सकुशल फर्किएको प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा वैशाखे सङ्क्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनको घुइँचो लाग्छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
गोरखा, १ वैशाखः आज बिहान गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । काठमाडौँबाट गोरखा आउँदै गरेको बा८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पाण्डेको भनाइ छ ।
गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि सिटमा बस्ने अश्राङकै १८ वर्षीय रवीन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौँ वीरअस्पतालमा पठाइएको छ ।
दुर्घटनामा चालकको मृत्यु
तानसेन (पाल्पा), १ वैशाख : पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार लाम्टाङबाट ओइरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नंको स्कुटर अनियन्त्रित भई पल्टिँदा चालक ठाडा घाइते भएका थिए । उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।