
काठमाडौँ, २९ फागुनः
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो भन्नुभयो । उहाँले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।
होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्याउने छः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
“फागु पर्वका अवसरमा तयार पारिने विशेष परिकार मालपुवा, दालपुरी, खिरलगायत मिठा–मिठा व्यञ्जन सामूहिक रूपमा ग्रहण गर्नु नेपाली संस्कृतिको अर्को कालजयी रीतिरिवाज हो, यसको संरक्षण र सम्वर्द्धन गर्न जरूरी छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।
आपसी कटुता, मतभेद, क्लेश, मनमुटाव र मनोमालिन्य बिर्सेर पारिवारिक, सामाजिक र समुदायगत सम्बन्धलाई नवीकरण गर्दै थप उचाइमा पु¥याउन होली एउटा उत्तम माध्यम भएको उहाँको भनाइ छ । उपराष्ट्रपति यादवले फागु पर्वले नयाँ पिँढीलाई नेपाली संस्कृति र परम्पराबारे जान्ने अवसर प्राप्त भई आफ्नो संस्कृतिप्रति गर्व र सम्मान गर्ने भावना विकसित गर्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसमा र त्यसको भोलिपल्ट तराई–मधेसमा फागुपूर्णिमा, होली, होरी, फगुवा, रङपञ्चमी आदि नामले यो पर्व मनाउने परम्परा रहिआएको छ । होली पर्व विभिन्न नामबाट मनाइए पनि यसको सारतत्व आपसी सद्भाव, भाइचारा र मेलमिलापका साथ खुसी साटासाट गर्नु नै हो । प्राचीनकालमा चन्दन र अबिर लगाएर होली मनाइने गरिएकामा पछिल्ला केही वर्षयता कृत्रिम र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने रङहरूको प्रयोग बढ्नु राम्रो नभएको उपराष्ट्रपति यादवको भनाइ छ ।
“मौलिक वाद्य उपकरण डम्फु र ढोलकको तालमा गाइने लोकभाका र परम्परागत होरी गीत र जोगिरा नेपाली संस्कृतिको मौलिक पहिचान हो, यसको जगेर्ना गर्न सक्नुपर्दछ”, उहाँले भन्नुभएको छ,“होली राष्ट्रिय एकता र समरसताको प्रतीक हो, यो पर्व धर्म, जाति र क्षेत्रभन्दा माथि उठेर एकैसाथ र सामूहिक रूपमा मनाइनुले राष्ट्रिय एकता बलियो हुनेछ ।”
सभामुखद्वारा मर्यादित र सभ्य तरिकाले होली पर्व मनाउन अपिल
सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सबैमा प्रेम, शान्ति र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“फागु पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । धार्मिक रूपमा भक्त प्रह्लादको कथासँग जोडिएको यो पर्वले जीवनमा सकारात्मक सोच राख्न प्रेरणा दिन्छ । यो विभिन्न जातजाति, धर्म, क्षेत्रका मानिसहरूबीच मेलमिलाप र एकता बढाउने, नेपाली समाजको पहिचान झल्काउने पर्व हो, रङ, रमाइलो र उत्सवमय वातावरणले यस पर्वलाई अझ उल्लासमय बनाउँछ”, सभामुख घिमिरेले भन्नुभएको छ ।
उहाँले पछिल्लो समय फागु पूर्णिमा मनाउने तरिकामा केही विकृतिहरू देखिन थालेको उल्लेख गर्दै जबर्जस्ती रङ दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थको दुरुपयोग गर्ने जस्ता प्रवृत्तिले चाडको वास्तविक भावना धमिल्याइरहेको उल्लेख गर्नुभएको छ । “नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभौगोलिक विशेषता भएको देश हो । नेपालमा अनेक जाति, भाषा, संस्कृति छन्, आ–आफ्नै मौलिक संस्कृति र चाडपर्व छन् । विविध चाडपर्व र संस्कृतिभित्र नेपाली एकता प्रतिविम्बित छ । नेपालका सबै चाडपर्वका विशेषता भनेको आपसी एकता, सद्भाव, सहकार्य कायम राख्नु रहेको छ”, सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ |
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले होली पर्वका अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउन सबैमा आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जथाभाबी लोला हान्ने, फोहर पानीको प्रयोग गर्ने, हूलहुज्जत गर्नेजस्ता विकृति पनि देखिन थालेकाले यसो नगर्न आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “सद्भाव, भ्रातृत्व र विविध रङहरूको पर्व फागु पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवं विविध रङहरूको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।”
नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पर्व एक विशिष्ट पर्व हो । पहाडमा पहिलो दिन र तराई–मधेसमा त्यसको भोलिपल्ट मनाइने यस पर्वलाई मधेस प्रदेश र विशेषगरी मिथिला क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ । परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एकअर्कालाई विविध रङ दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्वपूर्ण पर्वका रूपमा यसलाई मनाउने गरिन्छ । नेपालका अधिकांश जातजाति, भाषाभाषी र समुदायले हर्षोल्लासपूर्वक मनाउने यस पर्वले मनोरञ्जनका साथै भावनात्मक एकता कायम गर्न पनि विशेष भूमिका खेल्दै अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ ।
“पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वहरूका दृष्टिले हामी धेरै सम्पन्न छौँ, विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ । यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो”, उहाँले भन्नुभएको छ ।
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताउनुभएको छ ।
नेपालको हिमाल, पहाड र तराईका जिल्लामा हर्षोल्लासका साथ एक अर्कालाई रङ लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्वका अवसरमा उहाँले सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । “फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना छ”, सन्देशमा भनिएको छ ।
सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
पूर्वराष्ट्रपतिद्वारा होलीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहनुभएका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उहाँले फागुपूर्णिमालगायत पर्वबाट आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बढाउने बताउनुभको छ ।
“वसन्त ऋतुको मौसममा मनाइने रङहरुको पर्व फागुपूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक मङ्गलय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ”, एक्समा उहाँले लेख्नुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको हो ।
फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गर्नुभएको छ ।
“फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,” फेसबुकमा प्रधानमन्त्रीले लेख्नुभएको छ, “हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना ! ह्याप्पी होली !”