
काठमाडौँ, ४ फागुनः
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानिसको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रमा ‘कनेक्टिभिटी’सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । उक्त सम्मेलनको मुख्य विषयवस्तु ‘समुद्री साझेदारीको नयाँ क्षितिजको यात्रा’ नेपालजस्ता भूपरिवेष्ठित देशका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै मन्त्री डा देउवाले यसबाट हुने सामुद्रिक साझेदारीले कनेक्टिभिटी बढाउने र यो मानवताको समावेशी र दिगो विकासका लागि माध्यम बन्ने धारणा राख्नुभयो ।
सम्मेलनमा आयोजित ‘विश्वव्यापी दक्षिणको आवाजलाई बुलन्द गर्ने’ विषयक सत्रमा मन्त्री डा देउवाले विशेष गरी हिन्द महासागरीय क्षेत्रले बहुसङ्ख्यक मानवको प्रतिनिधित्व गर्ने र यसको उन्नतिबिना विकसित विश्वले प्राप्त गरेको उपलब्धि पनि खतरामा पर्न सक्दछ भन्नुभयो । “मलाई लाग्छ भविष्यको लागि ‘रोडम्याप’ स्पष्ट छ । मानवताको भविष्यको लागि अगाडि बढ्ने बाटोमा विश्व सहमत छ, यसका लागि आवश्यक रणनीति पनि पहिचान भएको छ । म दोहो¥याउन चाहन्छु कि ग्लोबल–साउथले बहुसङ्ख्यक मानवको प्रतिनिधित्व गर्दछ । हामी कसैलाई पनि पछाडि छोड्ने छैनौँ र पछाडि छोडिन पनि चाहँदैनौँ । हाम्रा एजेन्डा र साझा लक्ष्य पूरा गर्न सामूहिक सहकार्य र प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ”, उहाँको भनाइ थियो ।
ग्लोबल साउथको आवाजका विषयमा छलफल गर्दा सबैले यो क्षेत्र न्यायपूर्ण, निष्पक्ष र समावेशी विश्व निर्माणको लागि अझ महत्वपूर्ण छ भन्ने कुरामा ख्याल गर्नुपर्ने मन्त्री डा देउवाको भनाइ थियो । उहाँले ग्लोबल साउथको पूर्ण सम्भावनालाई उजागर गर्न यस क्षेत्रले दक्षिण–दक्षिण सहयोग सुधारका लागि आवश्यक नीतिहरूको समीक्षा गर्दै क्षेत्रीय एकीकरणलाई सुदृढ पार्ने र पारस्परिक सहयोगलाई बढावा दिने कामलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
“वित्तीय स्रोतहरूमा समतामूलक पहुँच सुनिश्चित गर्ने र ग्लोबल साउथको प्रतिनिधित्व सुनिश्चित गर्न विश्वव्यापी रुपमा प्रशासन तथा वित्तीय संस्थाहरूमा सुधार गर्न आवश्यक छ । साथै विकसित देशहरूका प्रतिबद्धताहरूको कार्यान्वयनका लागि पनि हामीले सामूहिक वकालत गर्नुपर्ने अवस्था छ”, मन्त्री डा देउवाको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले भनेको छ ।
यसैगरी सडक, हवाई तथा समुद्रमार्फत क्षेत्रीय कनेक्टिभिटी बढाउने र आपसी ज्ञान, सीप र प्रविधिको हस्तान्तरणमार्फत क्षमता विकासका कामलाई सामूहिक रुपमा अघि बढाउने काम गर्नुपर्नेमा पनि उहाँको जोड थियो ।
असमानता, गरिबी, बढ्दो ऋण सङ्कट, द्वन्द्व, डिजिटल विभाजन एवं जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूको सामना गर्न यस क्षेत्रमा सामूहिक सङ्कल्पका साथ दक्षिण दक्षिण–सहयोग र सहकार्य आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । “कम विकसित, भूपरिवेष्ठित र साना टापु देशहरूमा उपलब्ध सीमित स्रोत र क्षमताको दबाब रहेकाले यसलाई पार लगाई बलियो भविष्य निर्माणका लागि सामूहिक सहकार्य आवश्यक छ । यसले सीमापार तथा अन्तरदेशीय भौगोलिक क्षेत्रमा पर्नसक्ने चुनौतीहरूको सामना गर्न सहयोग पुग्नेछ”, डा देउवाले भन्नुभयो ।
गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आयोजित ‘समिट अफ द फ्युचर’ मा परिकल्पना गरिएको दिगो विकास लक्ष्य पूरा गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगलाई प्रभावकारी रणनीतिका रूपमा मान्यता दिइएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस क्षेत्रका देशका अन्तरराष्ट्रिय प्रतिबद्धता एवं लक्ष्य पूरा गर्न पनि यो सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।
यसै भावनाका साथ नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा ‘सगरमाथा संवाद’को आयोजना गर्न लागेको जानकारी पनि मन्त्री डा देउवाले दिनुभयो । आगामी मे महिनामा काठमाडौँमा आयोजना हुने संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ मुख्य विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने उहाँले जानकारी गराउनुभयो । “यस संवादमार्फत जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही एवं विश्वका नेताहरूलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको छ । सो संवादमा सहभागिताका लागि सबैलाई आमन्त्रण गर्दछु”, मन्त्री डा देउवाले भन्नुभएको थियो ।
परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा–दुबई उडानका लागि आग्रह
काठमाडौँ, ४ फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागी हुन ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो । भेटका क्रममा उहाँहरुबीच नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो ।
त्यसअवसरमा मन्त्री डा देउवाले नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री सायेघले युएइको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
उहाँहरुबीच दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो ।
मन्त्री डा देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा युएइको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ । मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
मन्त्री डा देउवाले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा आगामी ‘मे’ मा काठमाडौँमा सगरमाथा संवाद आयोजना गरेको जानकारी गराउँदै जलवायु परिवर्तनबारे केन्द्रित हुने सो संवादमा भाग लिन युएइलाई पनि आमन्त्रण गर्नुभयो ।