
काठमाडौं उपत्यकाको जनघनत्व बढ्दो छ। जसका कारण यहाँका साँघुरा सडकमा सवारी साधनको चाप पनि उत्तिकै बढ्दै गएको छ। यसै परिवेशमा, निजी विद्यालयका ठूला बसहरू साँघुरा सडकहरूमा निर्वाध रूपमा गुड्दा यात्रुहरूले सास्ती भोग्नुपरेको छ। यो समस्या दिनानुदिन बढ्दो छ, तर सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।
विद्यालय सञ्चालकहरूले विद्यार्थी ओसारपसारका लागि ठूला बस प्रयोग गर्नु स्वभाविकै हो। तर, काठमाडौंका साँघुरा सडकहरूमा ती बसहरू छिर्दा दैनिक आवतजावत गर्ने सर्वसाधारण नागरिकहरूले अनेकौं समस्या भोग्नु परिरहेको छ। बिहान र बेलुकाको व्यस्त समयमा एउटा बस मुस्किलले छिर्न सक्ने सडकमा दुई वटा बस क्रस गर्दा यात्रुहरू घण्टौंसम्म जाममा फस्न बाध्य छन्।
कतिपय निजी विद्यालयहरूले थोरै विद्यार्थी ओसार्नका लागि पनि ठूला बसको प्रयोग गर्छन्। दुई–चार जना विद्यार्थी बोकेर टाढा–टाढासम्म पुग्ने बसका कारण सडकमा अन्य यात्रुहरूले सास्ती खेप्नुपरेको छ। निजी विद्यालय सञ्चालकहरूले यात्रुहरूको यो व्यथा बुझ्न चाहेका छैनन्। समयमै गन्तव्यमा पुग्न हतारिएका यात्रुहरूको होहल्ला र निरन्तरको हर्नको आवाजले वरपरका बासिन्दाको दैनिकी समेत प्रभावित भएको छ।
प्रश्न उठ्छ, के निजी विद्यालयहरू सरकारको नियमनमा पर्दैनन्? यदि पर्छन् भने पनि सरकार किन मौन छ? के नेताहरूको आफ्नै विद्यालय सञ्चालनमा रहेका कारण सरकारले यस विषयमा आँखा चिम्लिएको हो? यो प्रश्न गम्भीर छ। किनभने, यदि सरकारले समयमै यस समस्यालाई सम्बोधन गरेन भने यसले भविष्यमा झन् ठूलो रूप लिने निश्चित छ।
यस समस्याको समाधानका लागि तत्कालै पहल गर्नु आवश्यक छ। पहिलो, साँघुरा सडकमा चल्ने सवारी साधनको आकार निर्धारण गरिनुपर्छ। साँघुरा सडकहरूमा ठूला बसहरूलाई प्रवेश गर्न रोक लगाउनुपर्छ। साना बस वा अन्य उपयुक्त सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। दोस्रो, एउटै स्कुलकाे बस काठमाडौं उपत्यकाभर नै सञ्चालन गर्न दिने व्यवस्थालाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ। तेस्रो, कार्यालय समय र विद्यालयको समयलाई पुनरावलोकन गर्नुपर्छ। कार्यालय जाने र फर्कने समय तथा विद्यालय जाने र फर्कने समयलाई केही परिवर्तन गर्न सकिन्छ। यसले सडकको चापलाई कम गर्न मद्दत गर्छ।
सरकारले निजी विद्यालय सञ्चालक, यातायात व्यवसायी र सरोकारवालाहरूसँग तत्काल छलफल गरी समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्छ। जनसाधारणको सुविधालाई ध्यानमा राख्दै काठमाडौंका साँघुरा सडकमा स्कुल बसका कारण हुने समस्यालाई समाधान गर्न अब ढिलाइ गर्नुहुँदैन।