
काएरो, २७ माघ :
इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’ बारे छलफल गर्न फेब्रुअरी २७ मा अरब राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्ने जानभएको छ ।
इजिप्टको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजिप्टले प्यालेस्टाइनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’ बारे छलफल गर्न सम्मेलन आयोजना गर्नेछ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजा पट्टीबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने र तटीय क्षेत्रमा अमेरिकी नियन्त्रण स्थापित गर्ने योजनाविरुद्ध इजिप्टले क्षेत्रीय समर्थन जुटाइरहेका बेला ‘आकस्मिक अरब शिखर सम्मेलन’ हुन लागेको हो ।
इजिप्टले प्यालेस्टाइनलगायत अरब मुलुकहरूसँग हालैका दिनहरूमा उच्च स्तरमा व्यापक परामर्श गरेपछि प्यालेस्टिनी मुद्दासम्बन्धी पछिल्लो गम्भीर घटनाक्रमलाई सम्बोधन गर्न शिखर सम्मेलनको अनुरोध गरेको थियो।
सम्मेलनका लागि इजिप्टले हाल अरब लिगको अध्यक्षता गरिरहेको बहराइनसँग समन्वय पनि गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीले जोर्डन, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) लगायत क्षेत्रीय साझेदारहरूसँग प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट जबर्जस्ती विस्थापन गर्ने कार्यको विरोध गर्न सक्रियता देखाउनुभएको थियो ।
गत हप्ता ट्रम्पले गाजामा अमेरिकी प्रशासनको अवधारणा अघि सार्दै गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनीलाई इजिप्ट र जोर्डनजस्ता अन्य स्थानमा पुनस्र्थापित गरेपछि ध्वस्त क्षेत्रलाई ‘मध्यपूर्वको रिभेरा’का रूपमा पुनः निर्माण गर्ने परिकल्पना गरिएको थियो ।
उक्त टिप्पणीले विश्वव्यापी प्रतिक्रिया निम्त्याएको छ र अरब देशहरूले इजरायलसँगै स्वतन्त्र प्यालेस्टिनी राज्यसँग दुई–राज्य समाधानमा जोड दिँदै प्रस्तावलाई दृढतापूर्वक अस्वीकार गरेका छन् ।
प्यालेस्टिनीहरूको विस्थापनले मध्यपूर्वलाई खतरामा पार्छ– इरान
इरानका शीर्ष कूटनीतिज्ञले युद्धग्रस्त गाजा पट्टीबाट प्यालेस्टिनीहरूलाई सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावले मध्यपूर्वको स्थिरता र सुरक्षामा खतरा उत्पन्न गर्ने बताएका छन् ।
“गाजाबाट प्यालेस्टिनीहरूलाई जबरजस्ती विस्थापित गर्नु औपनिवेशिक तरिकाले प्यालेस्टिनलाई समाप्त पार्ने योजनाको एक हिस्सा हो”, विदेशमन्त्री अब्बास अराघचीले शनिबार राति आफ्ना इजिप्टका समकक्षी बद्र अब्देलाट्टीसँग टेलिफोन वार्तामा भन्नुभएको इरानी विज्ञप्तिमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा मङ्गलबार पहिलो पटक सार्वजनिक गरिएको गाजामाथि अमेरिकाले नियन्त्रण लिने र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गर्ने ट्रम्पको प्रस्तावको व्यापक निन्दा भएको छ ।
अराघचीले यो योजनाले यस क्षेत्रको ‘स्थिरता र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गर्ने’ बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गाजावासीहरूलाई इजिप्ट वा जोर्डनमा पुनर्वास गर्नसक्ने सुझाव दिनुभएको छ । दुवै सरकारले यस्तो कदमको कडा विरोध गरेका छन् ।
अराघचीका अनुसार ‘यस परियोजनाविरुद्ध इस्लामिक देशहरूले दृढ र एकीकृत अडान लिन आवश्यक छ ।’
इरानी विदेश मन्त्रालयका अनुसार अराघचीले शनिबार गाजाको स्थितिबारे ट्युनिसिया र टर्कीका आफ्ना समकक्षीहरूसँग पनि वार्ता गर्नुभएको थियो ।
शनिबार तेहरानमा हमासका अधिकारी र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीबीच भएको बैठकपछि मन्त्रीको छलफल भएको हो ।
यो जनवरी १९ मा इजरायल–हमास युद्धमा १५ महिनाभन्दा बढीको युद्ध रोक्दै नाजुक युद्धविराम लागू भएपछिको पहिलो यस्तो बैठक थियो ।
हमासको कट्टर समर्थक इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी मुद्दालाई आफ्नो विदेश नीतिको आधारका रूपमा लामो समयदेखि समर्थन गर्दै आएको छ । तेहरानले इजरायललाई मान्यता दिँदैन ।
इजरायलद्वारा वार्ताकारलाई दोहा जान निर्देशन
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) युद्धविरामअन्तर्गत सहमति भएको बन्धक र कैदीको पाँचौं समूहको अदलाबदली पूरा भएपछि हमाससँगको युद्धविरामबारे छलफल गर्न वार्ताकारलाई कतार फर्कन शनिबार आदेश दिनुभएको छ ।
उहाँले गाजामा तीन जना बन्दीलाई सुपुर्दगी गरेपछि हमासलाई विस्थापित गर्ने र बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्ने आफ्नो प्रतिज्ञा दोहो¥याउनुभयो । उहाँले लडाकू समूहलाई ‘गैर–मानव’ को रूपमा निन्दा गर्नुभएको छ ।
यसैबीच, शनिबारको अदलाबदलीमा गाजाबाट शनिबार रिहा गरिएका तीन जना इजरायली बन्धकको उपचार गरिरहेको अस्पतालले ओर लेभी र एली शाराबीको स्वास्थ्य अवस्था ‘खराब’ रहेको र ओहद बेन अमीको ‘पोषणको गम्भीर कमीको अवस्था’ रहेको जनाएको छ।
बदलामा इजरायलले रिहा गरेका १८३ कैदीमध्ये सात जनालाई अस्पताल भर्ना गर्नुपर्ने र जेलमा ’क्रूरता’ र दुव्र्यवहारको निन्दा गरेको प्यालेस्टिनी प्रिजनर्स क्लब एडभोकेसी ग्रुपले जनाएको छ ।
इजरायली हिरासतबाट रिहा भएकामध्ये ४१ जना पश्चिम किनाराको रामल्लाह शहर, चार जना इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलम, १३१ जना गाजामा र सात जना इजिप्टमा निर्वासित भएका छन् ।
– ‘सम्झौतालाई खतरामा पार्न सक्छ’ –
युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले युद्धविरामको अर्को चरणमा वार्ता सुरु हुन लागेका बेला गत महिना युद्धविराम लागू भएयता पाँचौँ पटक युद्धविराम भएको हो ।
तर हमासका वरिष्ठ अधिकारी बासेम नईमले शनिबार जारी विज्ञप्तिमा भन्नुभएको छ, “इजरायलको ढिलासुस्ती र पहिलो चरणको कार्यान्वयन प्रतिबद्धताको कमीले यस सम्झौतालाई खतरामा पार्छ र यसैले यो रोक्न वा पतन हुन सक्छ।”
एएफपीसँगको अन्तर्वार्तामा उहाँले गाजा पट्टीमा कठिन परिस्थितिमा बसोबास गरिरहेका बन्धकहरूको अवस्था स्वीकार्य रहेको दावी गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिएर त्यहाँका बासिन्दालाई सफाया गर्नुपर्ने सुझाव दिएपछि शनिबारको अदलाबदली भएको हो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा लडाकुले कब्जामा लिएका तीनै जना इजरायली बन्धक शनिबार ‘सीमा पार गरी इजरायली भूमिमा प्रवेश गरेका’ इजरायली सेनाले जनाएको छ ।
इजरायली सेनाले आक्रमणका क्रममा बन्धक बनाइएका २५१ मध्ये ७३ जना गाजामै रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको जनाएको छ ।
(रासस/एएफपी)