एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल

एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल

चितवन, १९ माघः

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको सातौँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै उहाँले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनेसमेत बताउनुभयो ।

अध्यक्ष दाहालले सङ्घले राखेका माग कार्यान्वनका लागि सडक र सदन दवैै ठाउँबाट सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिनुभयो । “एम्बुलेन्स चालकहरूका समस्या समाधानका लागि म मेरो तर्फबाट प्रतिबद्ध छु । यसमा सरकारको ध्यान केन्द्रित गर्न मेरो भूमिका हुनेछ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको उल्लेख गर्दै अब हरेक क्षेत्रमा देखिएको बिचौलियाको प्रभाव रोक्न सबै वर्ग एकताबद्ध हुन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले पार्टी मातहतका जनवर्गीय सङ्गठनहरुलाई बलियो बनाउने नीतिअनुसार पार्टीलाई चलायमान बनाइएको बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहाल, सङ्घका कानुनी सल्लाहाकार एकराज भण्डारी, चितवन मेडिकल कलेजका निर्देशकहरू डा दयाराम लम्साल, प्रताप देवकोटा, नेसनल सिटी अस्पतालका सञ्चालक सरोज ढकाललगायतले आफ्ना धारणा राख्नुभएको थियो । सङ्घका अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालकहरूले भोग्नुपरेका समस्याबारे जानकारी दिनुभएको थियो ।

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *