सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ, १६ माघː

राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

 

“सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।

 

सोनामल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

 

एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छःउपराष्ट्रपति

काठमाडौँ, १७ माघː उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सोनामल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने उल्लेख गर्नुभएको छ ।

“यसले हामीलाई हाम्रो मौलिक परम्परा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रव।्द्धन गर्नुपर्ने जिम्मेवारी स्मरण गराउँद । यस अवसरमा आयोजना गरिने मौलिक एवं सांस्कृतिक नाचगान र सङ्गीतले नेपाली संस्कृतिको जगेर्ना गर्नमा सघाउँदछ । ल्होसारमा पकाइने विशेष तथा परम्परागत मीठो परिकारहरूले हाम्रो रैथाने रीतिरिवाजलाई जीवन्त बनाउँदै पुस्तान्तरण गर्नमा उत्तिकै सहयोग पुगेको मेरो विश्वास छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

 

 

नेपालका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायतले आ–आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार नयाँ वर्षका रूपमा यो पर्व मनाउने चलन रहिआएको छ । यस पर्वको मुख्य विशेषताहरूमा सामूहिकता, भूमिपूजा, कुलपूजा, दानदक्षिणा र ढोगभेटका साथ आपसमा शुभकामना आदानप्रदान गर्नुलगायतको रहेको पाइन्छ ।

 

उपराष्ट्रपति यादवले आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व र द्वेष बिर्सेर परस्पर खुसी र उल्लास साटासाट गर्न सोनामल्होसारले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । “नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको छ । हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । यस पर्वले पनि त्यसमा उत्प्रेरित गर्ने विश्वास लिएको छु”, उहाँको भनाइ छ ।

 

 

विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख

काठमाडौँ, १७ माघः सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताउनुभएको छ । सोनामल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गर्नुभएको छ ।

 

तामाङ समुदायको महत्वपूूर्ण पर्व सोनामल्होसार नयाँ वर्षको सुरुआतसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ । “सोनामल्होसार तामाङ समुदायको मौलिक पर्व हो । डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ”, उहाँले उल्लेख गर्नुभएको छ ।

 

 

सोनामल्होसारले राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्छ’

 

 

काठमाडौँ, १७ माघː राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोनामल्होसारले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

तामाङ समुदायको सोनामल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्नुभयो । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित सोनामल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

 

“नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ”, अध्यक्ष दाहालले भन्नुभएको छ,“प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु । यस प्रकारका पर्वहरुले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन् ।”

 

 

 

 

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *