काठमाडौँ, १ माघः
राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । यस पर्वलाई मुलुकका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।
थारू समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँछन् । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको पनि राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । त्यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी तथा खिचडी आदि परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहेको छ ।
यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा नेपाललाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने राष्ट्रपति पौडेलले बताउनुभयो ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले नेपालीका बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडाैँ, १ माघः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव, एकअर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा माघे सङ्क्रान्ति पर्वको महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज दाहालद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, जनजाति समुदायले आआफ्नो ऐतिहासिक मान्यता र परम्परा रहेको उल्लेख गरिएको छ । “आजका दिन मनाइने माघे सङ्क्रान्ति पर्वमा सबैलाई सुख, शान्ति र समृद्धि प्राप्त होस्”, सन्देशमा भनिएको छ । “नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रुपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेकाले विविध भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन्”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले थारू समुदायले माघी ‘माघे सकराँती’ भनेर मनाउने यो पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा लिने भन्दै यो पर्वलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभयो । उहाँले थारू र मगर समुदायले बितेको वर्षको समीक्षासहित आजका दिनदेखि आगामी वर्षको कार्ययोजना बनाउने जनाउँदै अन्य समुदायले आ–आफ्नो परम्परा, विशेषता अनुसार हर्षोल्लासपूर्वक मनाउने बताउनुभयो । यस पर्वमा तिल, तरुल, घिउ, चाकु, सख्खरका परिकारहरू बनाएर खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँकी, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, धनुषवाण हान्ने खेललगायत क्रियाकलाप गरेर मनाउने गरिन्छ ।
मनहरी (मकवानपुर), १ माघः बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफ्ना विशिष्ट पहिचानहरूलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देश जारी गर्नुहँुदै उहाँले हाम्रा विशिष्ट र मौलिक पहिचान बोकेका चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन् भन्नुभयो । चाडपर्वले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्त्वपूर्ण योगदान दिने जनाउँदै उहाँले आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्न प्रदेशवासी सबैमा माघी पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा माघे सङ्क्रान्ति र माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले हासीखुसी तथा धुमधामका साथ आआफ्नै तरिकाले मनाउने प्रचलन रहेको उल्लेख गर्नुभएको छ । थारू समुदायले माघीपर्वलाई अति उल्लासका साथ नयाँ वर्षका रूपमा नाचगान, आफन्त भेटघाट तथा खानपिन गरेर मनाउने गर्छन् । यो पर्वमा पवित्र नदी तथा त्रिवेणीमा गएर स्नान गरी घ्यू, चाकु, तीलको लड्डु, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायत पवित्र तीर्थस्थलमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण आरम्भ हुने गर्दछ ।
काठमाडौँ, १ माघः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति तथा समुदायको संस्कृतिले समग्र नेपालीलाई सांस्कृतिक रूपमा एकताबद्व बनाउन सहयोग पुर्याएको बताउनुभएको छ । माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देशमा उहाँले फरक जातजाति, भाषाभाषी मिलेर बनेको मुलुकमा विविधतामा एकता हुनु जरुरी छ भन्नुभयो । अध्यक्ष नेपालले थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाएर नयाँ आर्थिक कारोबार सुरु गर्ने जनाउँदै मगर समुदायलगायतले माघे सङ्क्रान्तिका रूपमा पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको मौलिक संस्कृतिको संरक्षणबाट नेपाल विश्वमा नै विविधतामा एकता भएको देशका रूपमा परिचित रहेको विचार व्यक्त गर्नुभयो । देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा सुख शान्तिको कामना गर्दै उहाँल शुभकामना सन्देशमा देशमा सबै जातजाति वेशभूषाको पहिचानलाई राज्यले समानता प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले लड्डु, घ्यू, चाकु, तरुल तथा खिचडीलगायत परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहेको यस पर्वले सबै समुदायमा उमङ्ग र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सन्देशमा राज्यले विविधताको संरक्षण गरी सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै समुदायका ऐतिहासिक सम्पदा संरक्षणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।