काठमाडौँ, २३ पुसः
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर आज गएको शक्तिशाली भूकम्पका कारण ठूलो सङ्ख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएको र भौतिक पूर्वाधारको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराष्ट्रपति भण्डारीले दुःखको यस घडीमा चीनका राष्ट्रपति सी चिनफिङ, चीन सरकारमार्फत भूकम्पमा परी ज्यान गुमाएका शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । “दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा छौँ । छोटो समयमै घाइतेहरूको उपचार र उद्धार कार्य पूरा भई जनजीवनलाई सामान्य बनाउन चीन सरकारलाई सफलता मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु”, पूर्वराष्ट्रपति भण्डारीले लेख्नुभएको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै
काठमाडौँ, २३ पुसः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएम) ले आज बिहानको भूकम्पको धक्काबाट हालसम्म कुनै पनि मानवीय क्षति नभएको र क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको जनाएको छ ।
प्राधिरणले आज प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी आएको जनाएको हो । उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलगायतलाई प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भूकम्पको केन्द्र नजिकैका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएको र क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।
प्राधिकरणले भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति
सोलुखुम्बु, २३ पुस : आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेका अनुसार भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा माटोको गाह्रो र टिनको छाना भएको दुईतले घर पूर्ण क्षति भएको छ भने सोही वडाको थामेत्याङस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको पोष्ट भवनमा सामान्य क्षति भएको छ ।
यस्तै थुलुङ दूधकोशी गाउँपालिका–७ देउसा लुरूवा बस्ने वर्ष ५० को हर्कबहादुर खत्रीको घरमा आंशिक क्षति पुगेको छ । माप्य दूधकोशी–१ जुभिङका पञ्चबहादुर कामी र निङ्गा नुरू शेर्पाको ढुङ्गा माटोले बनेको घरमा पनि सामान्य क्षति पुगेको प्रनाउ घिमिरेले बताउनुभयो ।
यस्तै सोताङ गाउँपालिका–३ नार्केलका चेतन बस्नेत र सोही ठाउँका जनक बस्नेतको दुईतले, ढुङ्गामाटोले बनेको घरमा सामान्य क्षति पुगेको छ । जिल्लाको लिखुपिके गाउँपालिका–४ लेब्लुु बस्ने कमलकिशोर कार्कीको ढुङ्गामाटो र टिनको छाना भएको तीनतले घर पनि भूकम्पकै कारणले सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति नभएको बताइएको छ ।
भूकम्पका कारण ११ जना बेहोस, दुई घाइते, चनाखो हुन अनुरोध
काठमाडौँ, २३ पुस : चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिनुभयो ।
यद्यपि विवरण सङ्कलनका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी रहेको पनि उहाँले राससलाई बताउनुभयो । उहाँले भूकम्पका कारण काठमाडौँमा एक, बारामा ११ र काभ्रेमा एक जना घाइते पनि जानकारी दिनुभयो ।
काठमाडौँमा भाग्दा घाइते भएका, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएका र काभ्रेका एक जना माथिबाट ढुङ्गा खसेर घाइते भएका अधिकारीले जानकारी दिनुभयो ।
ओखलढुङ्गामा एक घर पूर्ण र दुई घरमा सामान्य तथा सङ्खुवासभामा एक घरमा सामान्य क्षति भएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार सोलुखुम्बुम एक पूर्ण र एक आंशिक तथा तीन घरमा सामान्य क्षति भएका तथा ताप्लेजुङमा तीन, सिन्धुपाल्चोकमा एक र रामेछापमा एक घरमा सामान्य क्षति भएको छ ।
चनाखो हुने अनुरोध
यसैबीच सरकारले छिमेकी मित्रराष्ट्र चीनको तिब्बत (सिचाङ) स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रविन्दु बनाएर गएको ७.० म्याग्नेच्युडको भूकम्पबाट भएको क्षतिबारे जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको छ ।
गृहमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारीप्राप्त नभएको जानकारी गराउँदै विवरण सङ्कलन भइरहेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएका जानकारी दिनुभयो ।
उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन भएको उहाँले बताउनुभएको छ ।
“सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । विपद्मा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्राधिकरणले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त
काठमाडौँ, २३ पुसः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै भन्नुभएको छ,“म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु ।” अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनताप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’
काठमाडौँ, २३ पुसः सङ्खुवासभाका शिव चापागाईं बिहानै भैँसीलाई खोले दिएर दूध दुहुने तरखरमा हुनुहुन्थ्यो । एक्कासि बाल्टी हल्लियो । हातखुट्टा लगगल कामे । “के भयो भनेर आत्तिएर भैँसीको थलाबाट निस्कदा गाउँतिर भूकम्प आयो भनेर गाउँभर कोलाहल मच्चिसकेको रहेछ”, उहाँले रासससँग भन्नुभयो ।
सङ्खुवासभा सभापोखरी गाउँपालिका–१ धुँपुका चापागाईं जस्तै धेरैलाई बिहानै भूकम्पको धक्काले त्रसित बनायो । सङ्खुवासभा सभापोखरी गाउँपालिका–१ धुँपुका चापागाईं जस्तै धेरैलाई बिहानै भूकम्पको धक्काले त्रसित बनायो । भोजपुर षडानन्द नगरपालिका–१४ का कुमार अधिकारी बिहान सबेरै उठेर घरको काममा व्यस्त हुनुहुन्थ्यो । भुइँ हल्लियो । घरका दलिन मच्चिए । बाहिर निस्कदा भूकम्प गयो भनेर होहल्ला भइरहेको रहेछ । “घरभित्रै थिए । एक्कासि शरीर नै हल्लिएजस्तो भयो । घरको दलिन हल्लिएको देखेर के भयो भन्दै आत्तिदै बाहिर निस्के भूकम्पको हल्ला भइसकेको रहेछ”, उहाँले भन्नुभयो ।
भूकम्पको धक्काले काठमाडौँ उपत्यकाका नागरिकमा पनि ठूलो त्रास पैदा गरायो । भक्तपुरको मध्यपुर ठिमी–३ स्थित लोकन्थली निवासी रेनुका कार्की पनि बिहानको नियमित काममा व्यस्त हुनुहुन्थ्यो । एक्कासि भूकम्पको झड्का महसुस भएपछि आत्तिएर बाहिर निस्कनुभयो । त्यतिञ्जेल घर बाहिरको खाली जग्गामा मानिसको जमघट भइसकेको थियो । लोकन्थलीकै कृष्ण श्रेष्ठ पनि हत्तारहत्तार परिवार लिएर बाहिर निस्किएको स्मरण गर्नुभयो ।
बूढानीलकण्ठ नगरपालिका–७ निवासी मन्दिरा चापागाईं खड्का पनि एक्कासि बत्तीको झुमर हल्लिएपछि आत्तिएर बाहिर निस्कनुपरेको बताउनुभयो । “विसं २०७२ को भूकम्पपछि यति धेरै हल्लाएको आजै हो । धन्न केही भएन, हामी त ठूलो क्षति हुन्छ कि भनेर आत्तिएका थियौँ”, उहाँले भन्नुभयो ।
नेपालको उत्तरपूर्वी सीमा नजिक चीनको स्वशासित क्षेत्र तिब्बत प्रान्तको दिंगी काउन्टीमा केन्द्रविन्दु भएर सात रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ६ बजेर ५० मिनेटमा उक्त स्थानमा भूकम्प गएपछि सङ्घीय राजधानी काठमाडौँसम्मै धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरू आत्तिदै घर बाहिर निस्किएका देखिन्थे । काठमाडौँसहित नेपालका पूर्वी पहाडी जिल्लामा भूकम्पको ठूलो धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता मोनिका झाले देशका पूर्वी जिल्लाहरुमा र मध्य नेपालका काठमाडौँलगायत सहरमा भूकम्पको धक्का बढी महसुस भएको बताउनुभयो । यसको परकम्प अझै आउनसक्ने भएकाले नआत्तित उहाँले सबैलाई अनुरोध गर्नुभयो । “सात रिक्टरको भूकम्प गएकाले यसको परकम्प आइरहन्छ, यसबाट आत्तिनुपर्ने अवस्था छैन । परकम्प बढीमा ४, ५ र ६ रिक्टरसम्मको जानसक्ने भएकाले त्यसले खासै असर गर्दैन”, प्रवक्ता झाले भन्नुभयो ।
भूकम्पबाट हालसम्म नेपालमा कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ । पूर्वी पहाडी जिल्लाका केही घरहरू (पुराना घर) मा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको प्रवक्ता झाले बताउनुभयो ।
उहाँका अनुसार चीनको दिंगी काउन्टी आसपासमा एक सयभन्दा बढी परकम्प गइसकेका छन् । चार रिक्टरभन्दा माथिका १२ वटा परकम्प गएका छन् । दिंगी काउन्टी नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका भूकम्पको केन्द्रविन्दु भएको स्थानको औसत दूरी नेपालबाट ९० किलोमिटर रहेको छ ।
नेपालको कोशी, मधेस, बागमती प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यसबाहेक कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा भने धक्का महसुस नभएको जनाइएको छ । कोशी प्रदेशका सङ्खुवासभा, भोजपुर तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढु¬ङ्गा, सोलुखुम्बे र पाँचधरमा भूकम्पको कडा धक्का महसुस भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । इलाम, झापा, मोरङ र सुनसरीमा भने सामान्य धक्का महसुस भएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
मधेस प्रदेशका जिल्लामा सामान्य धक्का महसुस भएको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यका र उत्तर तर्फका तिब्बतसँग सीमाना जोडिएका जिल्लामा कडा धक्का/कम्पन महसुस गरिएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले केन्द्रले छदेखि आठ रिक्टर भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते ७ दशमलव ६ रिक्टर स्केलको गोरखा भूकम्प गएको थियो ।