उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

बेइजिङ, २३ पुस :

चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गर्नुभएको छ ।

साथै, उहाँले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनस्र्थापना गर्न पनि आग्रह गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

उहाँले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गर्नुभएको छ ।

चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ ।

हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।

 

 

चीन भूकम्पमा कम्तिमा ५३ जनाको मृत्यु, ६२ घाइते

चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पको केन्द्र २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री ई देशान्तरमा रहेको बताएको छ ।

हाल चिनियाँ सेनाले भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न ड्रोन तैनाथ गरेको छ ।

यसैबीच, राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले मङ्गलबार तिब्बत स्वायत्त क्षेत्रको सिजाङमा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।

 

(रासस/सिन्ह्वा)

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *