काठमाडौं, २३ पुसः
राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै उहाँले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गर्नुभएको छ ।
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
काठमाडौँ, २३ पुस : पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ ।
खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताउनुभयो । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उहाँले उल्लेख गर्नुभयो ।
आज बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौँसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताउनुभयो । “पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।”
भूकम्पपछिको पुनर्निर्माणका लागि पालिकाको नेतृत्वमा विवरण सङ्कलन
काठमाडौँ, २३ पुसः विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भूकम्प हुँदा क्षतिग्रस्त निजी आवासको प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापनाको विस्तृत विवरण सम्बन्धित स्थानीय तहको नेतृत्व स्थानीय तहका प्राविधिकमार्फत सङ्कलन गर्ने निर्णय भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक सहयोग, सहजीकरण र समन्वयमा यथाशक्य चाँडो विवरण सङ्कलन सुरु गरिने प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हालैको बैठकले ‘विपद प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि, २०८१’ लाई पुस १६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा पश्चिम नेपाल भूकम्प तथा मनसुनजन्य विपद् पुनर्लाभ कार्ययोजनामा छलफल भएको र अर्काे बैठकको निर्णयपछि पुनर्निर्माण तीव्र गतिमा थालिने…