काठमाडौँ, २३ पुस :
काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा धक्का महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा भएको अनुमान गरिएको छ ।
आज बिहान ६ः५० बजे भूकम्पको धक्का महसुस गरिएको थियो । प्रारम्भिक अनुमानअनुसार सो क्षेत्रमा सात रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ
चीनको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प
काठमाडौँ, २३ पुसः चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताउनुभयो । केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
काठमाडौँ, २३ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।” आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाँै सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।
‘ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन’
विराटनगर, २३ पुसः चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताउनुभएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको जानकारी दिनुभयो । सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ । ” सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताउनुभयो । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उहाँले जानकारी दिनुभयो । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिनुभयो । भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताउनुभयो । उहाँले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिनुभयो ।
सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै
सोलुखुम्बु, २३ पुसः चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिकोे विवरण सङ्कलन थालिएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भन्नुभयो, “अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।” उहाँले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पु¥याएको अनुमान गरेको बताउनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिनुभयो । “लबुचेमा केही क्षति भयो कि भन्ने लागेर त्यहाँ हाम्रो टोली खटिएको छ, पुग्न केही समय लाग्न सक्छ तर टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण सङ्कलनमा समस्या भएको छ”, उहाँले भन्नुभयो । भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए ।