हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै मृत फेला

हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै मृत फेला

खोटाङ, ८ पुसः

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला पर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला पर्नुभएको हो ।

हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य बिदामा जाने भनेर मङ्सिर २८ गते प्रशासनमा आउनुभएको थियो । आज यस्तो खबर सुनियो । ”

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुग्नुभएको थियो । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको मृतकका आफन्त एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गोपाल आचार्यले बताउनुभयो । गएराति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताएका छन् ।

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनीहरुको शव भाडाको कोठाबाट निकालेर परीक्षणका लागि अस्पताल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । बिदामा बस्नुभएका निमित्त कार्यालय प्रमुख आचार्यको मृत्यु हुनाका कारण अहिलेसम्म प्राप्त भइनसकेको जिल्ला हुलाक कार्यालय खोटाङले जनाएको छ ।

 

रोशीका वडाध्यक्ष लामाको निधन

काभ्रेपलाञ्चोक, ८ पुस : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आउनुभएका लामाको आइतबार साँझ वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

लामाको आज काठमाडौँस्थित स्वयभूमा सामाजिक परम्पराअनुुसार अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ । ६९ वर्षीय लामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही वडामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा निर्वाचित हनुभएको थियो ।

लामाको निधनको शोकमा आज गाउँपालिकाले बिदा दिएको छ । एमालेका जिल्ला सचिवालय सदस्यसमेत रहनुभएका लामाको निधनमा काभ्रेपलाञ्चोक एमालेले शोक विज्ञप्ति जारी गरी पार्टीको कुशल, जुझारु र जनप्रिय जनप्रतिनिधि गुमाएकोमा दुःख व्यक्त गरेको छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *