काठमाडौँ, ६ पुसः
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् ।नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।
एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपिएलकोे पहिलो संस्करणमा उपविजेता बनेको छ । कप्तान ऐरीले एनपिएलका नौ खेलबाट दुई सय २७ रन जोड्दै नौ विकेट बनाएका छन् ।
एनपिएलको विजेता टोली जनकपुर बोेल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् । उनले एनपिएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपिएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रन समेत जोड्न सफल भए ।
‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन् । उनले रु पाँच लाखको चेक प्राप्त गरे । जैबले एनपिएलमा सुदूरपश्चिमको लागि दुई सय ७५ रन जोड्दै १२ विकेट लिएका थिए ।
जनकपुरबाट एनपिएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । एनपिएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन्् । मिलान्थाले एनपिएलमा कूल दुई सय ९३ रन बनाएका छन् ।
यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । उनले रु दुई लाखकोे चेक समेत प्राप्त गरेका छन् । निशमले जनकपुरको लागि दुई ४७ रन जोड्दै ७ विकेट आफ्नोे नाममा दर्ता गरेका छन् ।
कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्डसहित रु ५० हजारको चेक प्राप्त गरेका छन् । साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट रु दश लाख बराबरकोे छात्रवृृत्तिसमेत प्राप्त गरेका छन् । विपीनले एनपिएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन् । एनपिएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ ।
एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान
काठमाडौँ, ६ पुसः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित रु एक करोड दश लाख प्राप्त गरेको छ ।
आज यहाँ भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो । फाइनल खेलपछि आयोेजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा रु एक करोड दश लाखको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गर्नुभएको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई रु ५१ लाख प्रदान गर्नुभयो । तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः रु २५ लाख र १५ लाख प्राप्त गरेका छन् । तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तारण गर्नुुभएको हो ।
एनपिएल विजेतालाई राष्ट्रपतिको बधाई
काठमाडौँ, ६ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । साथै उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
एनपिएलः उपाधि जितका लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
काठमाडौँ, ६ पुसः नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा उपाधि जितका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो ।
सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत गरे । उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।
सुदूरपश्चिमका लागि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन÷तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए ।
सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।
जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको १८औँ खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।
एनपिएलः टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौँ, ६ पुसः नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिए । स्थानीय समयअनुसार खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ ।
“पिच राम्रो छ, फाइनलमा शतप्रतिशत क्षमता प्रदर्शन गर्नेछौँ”, टस जितेपछि कप्तान ऐरीले भने, “हाम्रो लक्ष्य एक सय ६० रनभन्दा बढीको लक्ष्य प्रस्तुत गर्नुहुनेछ ।”
सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।
जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।
प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई
काठमाडौँ, ६ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ ।
“आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपिएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !!” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भन्नुभएको छ ।
आज यहाँ भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो ।
एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई
काठमाडौँ, ६ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ ।
अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्नुभएको हो । उहँँले उक्त खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभएको छ, “एनपिएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपिएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”