काठमाडौँ, २१ मङ्सिर :
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । यसअघि कर्णालीले दुई खेलमा हार ब्यहोरेको थियो ।
चितवन राइनोजले कर्णाली याक्सलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कर्णाली याक्सले १९ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । यस्तै चाडविक वाल्टनले ३०, देव खनालले २५, जिशान मकसूदले १२ र अर्जुुन घर्तीले ११ रनको योगदान दिए ।
बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, रवि बोपारा र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतमा ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन र अमर रौतेलाले नौ नौ तथा दीपक बोहोराले आठ रन बनाए ।
बलिङतर्फ कर्णाली याक्सका लागि विपिन शर्माले तीन, जिशान मकसूदले दुई तथा नन्दन यादव र कप्तान सोमपाल कामीले एक एक विकेट लिए । चितवनले यसअघि दुई खेल जितेको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच अर्को खेल भइरहेको छ । लुम्बिनीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।
एनपिएलः लुम्बिनीद्वारा पोखरा सामु एक सय ७१ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, २१ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स सामु जितका लागि एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स सामु जितका लागि एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्दले शून्य रनमा आउट भए । यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त ग¥यो ।
पोखराका लागि विपीन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारे । अहिले पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।