दोधारा चादनी (कञ्चनपुर), ८ मङ्सिरः
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नं को बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।
घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
—
काठमाडौँमा आज तीन शव भेटिए
काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् ।
यसैगरी दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीय ती पुरूषको पहिचान खुलेको छैन । तीनै वटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
—
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
किमाथाङ्का (सङ्खुवासभा), ८ मङ्सिर :
सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता हुनुभएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरे लगत्तै नदीमा चिप्लिएर बेपत्ता हुनुभएको थियो । चैनपुर–११ कुइबिरका गजेन्द्र परिवारका छ जनासहित शनिबार अरुण नदी पुग्नुभएको थियो । शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
…