गोरखा, ५ मङ्सिर :
गोरखा सदरमुकाममा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ आज सुरु भएको छ । दुई दिन सम्म चल्ने भेलाको आज पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।
गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्देश्यसहित सदरमुकाममा भेला सुरु भएको आयोजक होटल सङ्घ गोरखाले जनाएको छ । जिल्लामै पहिलोपटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो । भेलामा जिल्लाभित्र स्थायी घर भई देशभर पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहेको होटल व्यवसायी सङ्घ गोरखाका अध्यक्ष केशव कुँवरले जानकारी दिनुभयो ।
भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसके जिल्लामा अत्यधिक पर्यटक भित्र्याउन सकिने आयोजकको भनाइ छ ।
भेलामा एक सय ५० बढी पर्यटन व्यवसायीको सहभागिता रहेको सङ्घका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने भेलामा जिल्लाभित्रका ११ वटै स्थानीय तहले आआफ्ना स्थानीय भित्रको पर्यटकीय सम्भावना बोकेका क्षेत्रको भिडियो सामग्री प्रस्तुत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।