लन्डन, २१ कात्तिक :
अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए ।
रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गर्नुभएको छ ।
धेरै अमेरिकी मिडियाले ट्रम्पलाई विजेता घोषणा गर्नुअघि नै पूर्वराष्ट्रपतिले ‘भव्य’ जितको दाबी गर्दा बजार खुल्नुभन्दा घन्टौँ अगाडि नै वाल स्ट्रिट स्टक फ्युचर्स उच्च भयो ।
युरोपका मुख्य शेयर सूचकाङ्कहरू बिहानको कारोबारमा बढे भने एसियाली बजार विभाजित रह्यो । चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ सेयरहरू प्रभावित भए ।
बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित थियो ।
“ट्रम्प ट्रेड पूर्ण गतिमा छ”, स्विसक्वोट बैंकका वरिष्ठ विश्लेषक इपेक ओजकार्डेस्कायाले भन्नुभयो ।
ट्रम्पको जितले अमेरिकी कर कटौतीमा व्यापक परिणाम ल्याउने अपेक्षा गरिएको छ । यसलाई मुद्रास्फीतिका रूपमा मानिन्छ र त्यसैले आगामी महिनाहरूमा फेडरल रिजर्भले ब्याजदरमा कम कटौती गर्नेछ ।
यसले मुख्य प्रतिद्वन्द्वीविरूद्ध डलरलाई बढावा दियो र युरोविरुद्ध एक दशमलव पाँच प्रतिशतभन्दा बढीले बढ्यो । फेडले बिहीबार आफ्नो पछिल्लो दर निर्णय घोषणा गर्दैछ ।
“फेडरल रिजर्भले भोलि सम्भावित २५ आधार अङ्क कटौतीको घोषणा गर्ने अपेक्षा गरिएको छ, ट्रम्पका नीतिहरू स्वाभाविक रूपमा मुद्रास्फीति हो भन्ने धारणालाई ध्यानमा राख्दै डिसेम्बरको बैठकका लागि हामीले पहिले नै अपेक्षाहरू कम भएको देख्दैछौँ”, स्कोप मार्केटका विश्लेषक जोशुआ महोनीले पूर्वानुमान गर्नुभयो ।
अमेरिकी ट्रेजरी प्रतिफलले पनि बुधवार समर्थन प्राप्त गरेको छ ।
“लगानीकर्ताहरूले शुल्क र (अमेरिकी) आप्रवासनमा कडाइका लागि तयारी गरिरहेका छन्, यी नीतिहरूलाई मुद्रास्फीतिका रूपमा मानिन्छ । यसले आगामी वर्षहरूमा ब्याजदर उच्च हुनसक्ने सङ्केत गर्दछ”, हाग्र्रिभ्स ल्यान्सडाउनका मनी एन्ड मार्केट्स प्रमुख सुसान्ना स्ट्रिटरले भन्नुभयो, “ट्रम्पको राष्ट्रपतिको अर्थ ठूला प्रविधि र ठूला वित्तमा कम नियमहरू हुनेछन् भन्ने अपेक्षा उच्च छ ।”
ट्रम्पले विजय भाषणमा प्रमुख प्रचार समर्थक विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कलाई ‘स्टार’ भनेर प्रशंसा गरेपछि पूर्व–बजार अमेरिकी कारोबारमा टेस्लाको सेयर १५ प्रतिशतभन्दा बढीले बढेको छ ।
– बिटक्वाइन रेकर्ड –
बिटक्वाइन छ हजार डलरले बढेर मार्चको करिब ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१ दशमलव ६७ डलर पुगेको छ ।
ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी’ बनाउने र टेक अर्बपति मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
“ट्रम्पको नेतृत्वमा अमेरिकी कुवाबाट थप कच्चा तेल बग्ने अपेक्षाबीच अन्यत्र तेलको मूल्यमा गिरावट आएको छ”, स्ट्रिटरले भन्नुभयो, “ट्रम्पको अर्को राष्ट्रपतिकालले ऊर्जा स्वतन्त्रतामा जोड दिने सम्भावना छ र उहाँका नीतिहरूले जीवाश्म इन्धनलाई प्राथमिकता दिने, तेल, ग्यास र कोइला उद्योगहरूमा नियमन खुकुलो पार्ने सम्भावना छ ।”
रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताउनुभएको छ ।
“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उहाँले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनस्थापित भएकोतर्फ सङ्केत गर्दै भन्नुभयो ।
सीमा व्यवस्थापन गर्ने र देशलाई एकिकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै उहाँले भन्नुभयो ।
सम्बोधनका क्रममा उहाँले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिनुभएको छ ।
उहाँले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गर्नुभएको छ ।
मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।
समाचार तयार पार्दासम्म ट्रम्पले छ करोड ८८ लाख ७७ हजार २९३ मत प्राप्त गर्नुभएको छ भने ह्यारिसले छ करोड ३६ लाख १३ हजार ९५१ मत प्राप्त गर्नुभएको छ । नेपाली समय अनुसार बुधबार मध्यान्नसम्ममा रिपब्लिकन नेता ट्रम्पले मङ्गलबार खसेको कुल मतको ५१.१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको छ भने डेमोक्र्याटिक पाटीका तर्फबाट उम्मेदवार हुनुभएका उपराष्ट्रपति कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
रिपब्लिकन नेता ट्रम्पले २६६ इलेक्टोरल मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी ह्यारिसले २१९ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २७० मा पुग्न अब मात्र चार इलेक्टोरल मतको आवश्यक हुनेछ । अमेरिकी समाचार संस्था फक्स न्यूजले ट्रम्प निर्वाचित भएको घोषणा गरेको छ । फक्स न्यूजले ट्रम्पलाई २७० भन्दा माथि थप केही सीट प्राप्त हुने जनाएको छ ।
विश्वका नेताहरूद्वारा रिपब्लिकन नेता ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिवद्धता
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् ।
राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उहाँलाई बधाइ दिने क्रम सुरू भएको हो ।
युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु। इयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन् । हामी हाम्रा जनताबीचको साँचो साझेदारीमा बाँधिएका छौं, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।”
“हामी एक बलियो ट्रान्सएटलान्टिक एजेन्डामा सँगै काम गर्नेछौँ,” भोन डेर लेयेनले एक्समा लेख्नुभएको छ ।
त्यसैगरी, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उहाँको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताउनुभएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै भन्नुभयो, “हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकाङ्क्षाका साथ उहाँसँग काम गर्न तयार छौँ।”
अमेरिकी राष्ट्रपतीय निर्वाचन परिणाममा अग्रता कायम गरिरहेको अवस्थामा नै सामाजिक सञ्जाल ‘एक्स’ मा म्याक्रोँले लेख्नुभएको छ, “तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ।”
परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भन्नुभयो, “हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौं ।” उहाँले भन्नुभयो, “हामी अमेरिकी जनताको रोजाइको सम्मान गर्छौं।”
त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’ का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
“म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिको माध्यमबाट शान्ति’ दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्दछु। यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउन सक्छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई पूर्व अमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताउनुभएको छ ।
नेतन्याहूले आफ्नो कार्यालयद्वारा जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई! ह्वाइट हाउसमा तपाईंको ऐतिहासिक पुनरागमनले अमेरिकाका लागि नयाँ सुरुवात प्रदान गर्दछ र इजरायल र अमेरिकाबीचको महान् गठबन्धनप्रति एक शक्तिशाली पुनः प्रतिबद्धता प्रदान गर्दछ। यो ठूलो विजय हो।”
उहाँले भन्नुभयो, “उहाँको नेतृत्व हाम्रो गठबन्धनलाई बलियो बनाउन फेरि महत्वपूर्ण हुनेछ । म नाटोमार्फत शक्तिको माध्यमबाट शान्तिलाई अगाडि बढाउन उहाँसँग फेरि काम गर्न उत्सुक छु,” रुटद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा हुने क्रमसँगै डलरको भाउ बढेको छ । बिटक्वाइनले उच्च रेकर्ड हासिल गरेको छ र युरोपेली शेयर बजारमा उछाल आएको छ ।
ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने र टेक अर्बपति एलन मस्कलाई सरकारी फोहोरको व्यापक अडिटको जिम्मा दिने वाचा गर्नुभएको छ ।
अर्थशास्त्री तथा एशो क्यापिटलका संस्थापक पिटर एशोले भन्नुभयो, “बजारहरू पछि के हुन्छ बिश्लेषकहरूले पत्ता लगाउने कोसिस गरिरहेका छन्, तर केही समयको लागि, बजारले उच्च वृद्धि र उच्च मुद्रास्फीति दृष्टिकोणबाट मूल्य निर्धारण गरिरहेको छ।”
ट्रम्पको समर्थनमा खरो उत्रिनुभएका एलन मस्कको टेस्ला कम्पनी (सन् २००३ मा स्थापित टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी) को शेयरमा प्रारम्भिक १२ प्रतिशतले उछाल आएको छ ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनले बुधबार अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएको दाबी गरेका डोनाल्ड ट्रम्पको कदमको मूल्याङ्कन गरेर समर्थज वा आलोचना गर्ने बताएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भन्नुभयो, “हामी ठोस कदम र ठोस शब्दका आधारमा निष्कर्ष निकाल्नेछौँ। ”
‘ट्रम्पलाई चुनावमा बधाई दिने राष्ट्रपतिको योजनाबारे आफूलाई जानकारी नभएको’ उहाँले बताउनुभयो ।
(रासस/एएफपी)