पाटन (ललितपुर), १७ कात्तिक :
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उहाँले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् हो भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ ।”
आफू २०२७ सालमा काठमाडौँ आएपछि यहाँकै स्थानीय बासिन्दा भएको छु भन्नुहुँदै यहाँको भाषा, संस्कृति प्रति प्रेम रहेको बताउनुभयो । “मैले नेवारी परिवारमा विवाह गरेँ, तर मलाई नेवारी बोल्न आएन, तर मलाई नेपाल भाषा बोल्न नआएपछि यसभाषा प्रति मेरो प्रेम छ, नेपालका सबै भाषा, संस्कृति बचाउनु पर्छ ।” उहाँले भन्नुभयो ।
उहाँले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवद्र्धधन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो परम्परालाई ऐतिहासिक रुपमा कायम गर्नुपर्छ जनाउँदै हामीले यसका गौरव गर्नुपर्छ भन्नेमा जोड दिनुभयो ।
सांसद प्रेमबहादुर महर्जनले नेपाल भाषालाई विद्यालय तहमा पठनपाठनमा नेपाल भाषालाई देशैभर ऐच्छिक भाषाका रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।
बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रभावकारी बनाउन तिनै तहका सरकारले समन्वयमा काम गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकार राष्ट्रिय विभूति शङ्खधर शाखाले नेपाल मण्डलका विपन्न जनताको ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो भन्नुभयो ।
विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो । त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो । नेपाल संवत्का अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरी उत्सव र हर्षाेल्लास मनाइँदैछ ।
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताउनुभएको छ ।
नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल संवत् र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल संवत् सुरुआत गर्ने राष्ट्रिय विभूति शङ्खधर साख्वाप्रति सम्मान पनि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ– “नेपाल संवत्को नयाँ वर्ष, नेपाल संवत् ११४५ को आज पहिलो दिन, यसका सुरुआतकर्ता विभूति शङ्खधर साख्वाप्रति हार्दिक सम्मान, आज नेवार समुदायमा म्हः पूजा गरिन्छ, यसले आफूप्रति गौरवबोध बढाउँछ, नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई शुभकामना ।”