पाटन (ललितपुर), ११ कात्तिक :
शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ । सम्मेलनको दोस्रो दिन शनिबार ऊर्जा, वातावरण र बायोमेडिकलबारे भएका पछिल्ला अनुसन्धान, अन्वेषणबाट पत्ता लागेका कुरा तथा अनुसन्धानबाट हासिल उपलब्धिको उपयोगिताको सम्भावनाका बारेमा समेत छलफल भएको छ ।
‘नेपाल मटेरियल्स साइन्स सोसाइटी’को आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा जारी ‘एड्भान्स फङ्सनल मटेरियल्स’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन सुरुआतमा चीनको साङ्घाइस्थित दोङ्वा विश्वविद्यालयका प्राध्यापक बिन दिङले ऊर्जाका क्षेत्रमा गरिएको आफ्नो अनुसन्धान र विश्वमा पछिल्लो समय भइरहेका अन्वेषणबारे आफ्नो धारणा राख्नुभयो । उहाँले नयाँ प्रविधिको प्रयोग गरेर न्यानो फाइबरको उत्पादन र यसको उपयोगिताबारे जानकारी गराउनुभयो ।
न्यानो फाइबरलाई ऊर्जा भण्डारण, ब्याट्री बनाउन, मानव स्वास्थ्यका लागि हानिकारक ग्यास सोस्नेलगायत विषयमा उपयोग गर्न सकिने प्राध्यापक दिङले जानकारी दिनुभयो । उहाँले न्यानो फाइबरलाई मानव स्वास्थ्यको उपचारका लागि पनि प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो ।
त्यसैगरी जापानस्थित नेशनल इन्स्टिच्युट फर मटेरियल्स साइन्स (निम्स)का प्राध्यापक डा लोककुमार श्रेष्ठले ऊर्जा, वातावरण र नानो मटेरियल्स’सम्बन्धी शीर्षकमा धारणा राख्दै ऊर्जा भण्डारण गर्ने उपकरण कसरी निर्माण गर्न सकिन्छ र यसको कार्यक्षमता के हुन्छ भन्ने विषयमा सहभागीलाई अवगत गराउनुभयो ।
हेल्थकेयर, बायोमेडिकल शीर्षकमा मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्रा डा पारसना यादवले नेपालमा क्यान्सरको उपचारका सम्बन्धमा भए–गरेका अनुसन्धानबारे जानकारी गराउनुभयो । त्यस्तै सोही विषयमा धारणा राख्दै डा कृष्ण कट्टेलले क्यान्सरको उपचारमा विश्वमा चलिरहेको नयाँ पद्धतिको अनुसन्धान र उपचार विधिका बारेमा व्याख्या गर्नुभएको थियो ।
यसैगरी आइआइटी रुड्की भारतका प्रा डा विमल श्रीवास्तवले वायुमण्डलमा उत्सर्जन भएको कार्बनडाइक्साइडलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभयो । उहाँले वायुमण्डलमा कार्बन उत्सर्जनलाई कम गर्ने मात्र नभएर उत्सर्जित कार्बनडाइक्साइडबाट अल्कोहल बनाउन सकिने विषयमा आफ्नो धारणा राख्नुभयो ।
नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रा डा टिस्टा प्रसाईँ जोशीले पिउने पानीमा देखिने आर्सनिकको मात्रा कसरी घटाउने र त्यो झिकिएको आर्सनिकको बहुउपयोगिता कसरी गर्न सकिन्छ भन्नेबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।
सम्मेलनको दोस्रो दिन विभिन्न मुलुकका ३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताले ऊर्जा, वातावरण र बायोमेडिकलबारे विभिन्न अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्नुभयो । भारत, चीन, मलेसिया, इण्डोनेसिया, दक्षिण कोरिया, जापान, संयुक्त राज्य अमेरिकालगायत १६ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी उक्त सम्मेलन आजसम्म चल्नेछ ।