शेयर बजारमा लगानीबारे सचेतना प्रदान

शेयर बजारमा लगानीबारे सचेतना प्रदान

Mahabhoj

नवलपुर (नवलपरासी), १० कात्तिक :

विश्व लगानी सप्ताह–२०२४ को अवसर पारेर नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् ।

नेप्से ब्रोकर सनी सक्युरिटिज लिमिटेडसँगको सहकार्यमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा शेयर बजारमा सुरक्षित लगानी गर्न कसरी गर्ने भन्नेबारे शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक विनोद पौडेलले बजारको अनियन्त्रित गतिविधिलाई बोर्डले नियन्त्रण गर्ने बताउनुभएको छ । उहाँले व्यवसायको प्रवद्र्धन र लगानीकर्ताको हित संरक्षण गर्नु आफूहरूको दायित्व भएको बताउनुभयो । “लगानीकर्ताको हित संरक्षण गर्दै बजारमा पुँजी वृद्धि गर्ने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “लगानीकर्ताले शेयर लगानी गर्दा बुझेर तथा गहन अध्ययन गरेर लगानी गर्दा ठगिने सम्भावना रहँदैन ।”

कुनै व्यक्तिले ठगी गरिरहेको भए नेपाल धितोपत्र बोर्डमा उजुरी गर्न आग्रह गर्दै उहाँले त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । ब्रोकरहरूले समेत आफ्नो दायित्व निर्वाह नगरेको गुनासो आउने गरेको भन्दै शेयर खरिद बिक्रीको रकम तत्काल भुक्तानी गर्न उहाँले निर्देशन दिनुभयो । “शेयर बिक्री गर्ने व्यक्तिलाई ब्रोकरले शेयर बेचेको चार दिनभित्र पैसा भुक्तानी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यदि कसैले भुक्तानी गरेको छैन भने हामीकहाँ जुनसुकै माध्यमबाट उजुरी दिनुभयो भने हामी तत्काल कारबाही गर्छौं ।”

Mahabhoj

शेयर खरिदकर्ताले समेत आफूले खरिद गरेको शेयरको भुक्तानी भोलिपल्ट नै तिर्नुसमेत उहाँले आग्रह गर्नुभयो । बजार बुझेर लगानी गर्दा लगानी डुब्ने सम्भावना नहुने भन्दै अरुको उक्साहटमा नलाग्न समेत पौडेलले आग्रह गर्नुभयो ।

कार्यक्रममा स्रोतव्यक्ति एवं स्टक मार्केटका विद्यावारिधि शोधकर्ता कुलचन्द्र पण्डितले शेयर बजारमा मुनाफा आर्जन गर्न लामो समयसम्म पर्खनुपर्ने अवस्था रहेको बताउनुभयो । अधिकांश लगानीकर्ता चाँडै कमाउने भनेर शेयर बजारमा आउने गरेका भन्दै पाँच वर्षको अध्ययन गर्दा तीन प्रतिशत लगानीकर्ताले मात्रै कमाउने गरेको पण्डितले बताउनुभयो । “पाँच वर्षसम्म शेयर बजारमा टिकेका व्यक्तिमध्ये तीन प्रतिशतले कमाउँछन्, आठ प्रतिशत बराबरीमा रहन्छन् तर ८९ प्रतिशत लगानीकर्ताले गुमाउँछन्”, उहाँले भन्नुभयो, “लगानी गर्न लागेको कम्पनीको बारेमा अध्ययन गरेर लगानी नगर्दा धेरैले गुमाउनुपर्ने अवस्था छ ।”

शेयर बजारमा कमाउन आउने भए पनि गुमाउनेको सङ्ख्या धेरै भएको उहाँले बताउनुभयो । नेपालको शेयर बजार हल्लाका कारण घटबढ हुने गरेको भन्दै यस देशको राजनीति स्थिर भएको अवस्थामा लगानी डुब्ने सम्भावना कम हुने बताउनुभयो । शेयर बजारमा लगानी गरेपछि निरन्तर किनबेच गरिरहेको अवस्थामा मात्रै कमाउन सकिने भन्दै लागनीकर्ताहरूमा अनुशासन हुनुपर्ने पण्डितको भनाइ छ ।

गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले पैसा बैंकमा राख्नभन्दा शेयरमा लगानी गर्न अथवा आफैँ उद्यमी बन्न नगरवासीलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा सहभागीले राखेका जिज्ञासा धितोपत्र बोर्डका निर्देशक पौडेलले समाधान गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोटभित्रका उद्यमी तथा लगानीकर्ताको सहभागिता रहेको थियो ।

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *