काठमाडौँ, २६ भदौ :
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले नागरिता, सडक निर्माण, चाडपर्वमा महँगी नियन्त्रण गर्नुपर्नेलगायत विषय उठाएका छन् ।
बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले नेपालको संविधानमा कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने व्यवस्था गरिए पनि अहिले पनि सयौँ नेपाली नागरिकताविहीन भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अनिशा नेपालीले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानी रुपमा ठगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुनचाँदीसम्बन्धी छुट्टै कानुन ल्याएर काम गर्नुपर्ने बताउनुभयो ।
सांसद डा अमरेशकुमार सिंहले १७ लाख नागरिकले सवारी साधनको चालक अनुमतिपत्र नपाएको रसिदका भरमा हिँडिरहेको उल्लेख गर्दै सवारी साधन दर्ता र नवीकरण गर्ने काममा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद ईश्वरबहादुर रिजालले नारायणघाटदेखि बुटवलसम्मको सडकको अवस्था अत्यन्तै नाजुक रहेकाले सडक निर्माणका लागि ठेक्का दिँदा समय कम लगाएर बनाउनेलाई दिन सरकारसँग माग गर्नुभयो ।
सांसद ईश्वरी घर्तीले शान्ति प्रक्रिया पूरा नहुँदा अझै पनि पीडितहरु न्यायको प्रतीक्षामा बसेको बताउनुभयो ।
सांसद एकनाथ ढकालले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको उपस्थिति महत्वपूर्ण रहेको र गरिबी निवारण, दिगो विकास, नेपाल लगानी र भ्रमणका लागि उत्कृष्ट गन्तव्य रहेकोबारे कुरा राख्नुपर्नेमा जोड दिनुभयो ।
सांसद कल्पना चौधरीले चाडपर्वमा घर जाने यात्रुलाई सहज रुपमा यातायातको व्यवस्था गर्न र चाडपर्वको समयमा हुने महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कुसुमदेवी थापाले जलवायु परिर्वतनका जोखिमका कारण नेपाल जोखिममा पर्दै गएकाले सर्वोच्च अदालतबाट आवश्यक कानुन बनाउन दिएको आदेशको कार्यान्वयन नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद किरणकुमार साहले रौतहटको राजपुर नगरपालिकामा भ्रष्टाचार भएको तथा अन्य निकायमा पनि आर्थिक अनियमितता बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गणेश पराजुलीले सहकारी पीडितले कहिले न्याय पाउने भन्ने विषयमा गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गर्नुभयो ।
सांसद गोमादेवी लाभले चाडपर्व आउन लाग्दा कालोबजारी बढ्दै जाने र सडक दुर्घटना भएर धेरै धनजनको क्षति हुने गरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद चन्द्रबहादुर विश्वकर्माले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुममा अहिलेसम्म पुनः निर्माण प्रक्रिया सुरु नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद जावेदा खातुन जागाले उपसभामुख ईन्दिरा रानाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो ।
शून्य समयमा बोल्ने सबै सांसदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मुलुकले महत्वपूर्ण व्यक्ति गुमाएको भन्दै दुःख व्यक्त गरेका थिए ।
…
संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय छ : मुख्य सचेतक बर्तौला
काठमाडौँ, २६ भदौ :
प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा खेल्नुभएको भूमिका उल्लेखनीय भएको बताउनुभएको छ । स्व नेम्वाङलाई संविधान निर्माणका साथै नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका सबै नेपालीले सधैँ सम्झिरहने बताउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै मुख्य सचेतक बर्तौलाले संविधानसभाका अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसका दिनमा उहाँलाई स्मरण गर्दै नेपालको संविधान निर्माण र संसदीय व्यवस्थालाई सिर्जनात्मक तथा रचनात्मक भूमिका निर्वाह गर्नुभएको व्यक्तित्व गुमाउनुपरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको संसदीय प्रणालीलाई जीवन्त राख्न र संविधान निर्माणका लागि खेल्नुभएको भूमिका नेपालीले सधैँ सम्झिने छन् ।” यस्तै उहाँले मङ्गलबार मकवानपुरको मनहरी गाउँपालिका–७ युनाइटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने १२ वर्षीया रञ्जिता गुरुङ घर फर्किने क्रममा बाढीमा परेर ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।
सांसद शान्ति परियारले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै मुलुकले एउटा महत्वपूर्ण व्यक्तित्व गुमाएको उल्लेख गर्नुभयो । उपसभामुख इन्दिरा राना विवादमा मुछिएकाले उहाँलाई मार्ग प्रशस्त गर्न सांसद परियारले माग गर्नुभयो ।
सांसद भगवती चौधरीले नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको ब्लड बैँक सञ्चालनमा बेथिति रहेको पाइएको भन्दै त्यसतर्फ सरकारको ध्यान जाओस भन्नुभयो ।
…
‘बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ’
काठमाडौँ, २६ भदौ :
सांसद ऋषिकेश पोख्रेलले स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकनै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले स्वास्थ्य बीमामार्फत देशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“हरेक पालिकाको स्थास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाईदिनुप¥यो भन्दै आएका छन, स्वास्थ्य बीमाका कारण अहिले हजारौँ जनताले दुःख पाइरहेका छन्, यसतर्फ सरकारको ध्यान जान जरुरी छ”, सांसद पोख्रेलले भन्नुभयो ।
सांसद हितराज पाण्ड र मनिष झाले पूर्वसभामुख स्व सुवाषचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा पु¥याउनुभएको योगदानबारे संसदमा स्मरण गर्नुभयो ।
सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानि रुपमा कार्यविधि बनाइ सरकार र श्रमिकलाई ठग्ने काम गरिरहेका उल्लेख गर्दै सम्बन्धित निकायले सुनचाँदी बिक्री वितरणसम्बन्धी विधेयक ल्याएर कानुनमार्फत समस्याको निकास दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद डा अमरेशकुमार सिंहले चालक अनुमतिपत्र प्रदेशले दिने वा सङ्घले दिने भन्नेबारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।
RSS