अछाममा जिप दुर्घटना हुँदा आठ घाइते

अछाममा जिप दुर्घटना हुँदा आठ घाइते

अछाम, १९ भदौ :

यहाँको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । साँफेबगरबाट मङ्गलसेनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

जिपमा नवदुर्गा गाउँपालिका–४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए । त्यसमध्ये आठ घाइते भएका छन् । घाइते हुनेमा चौरपाटी गाउँपालिका–१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८ वर्षीया प्रति साउद, साँफेबगर नगरपालिका–४ बस्ने १७ वर्षीया पुजा सुनार घाइते भएका छन् ।

घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताउनुभयो । चालकलाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ ।

 

बस र एम्बुलेन्स ठोक्किदा तीन घाइते

 

पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीस्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुवाहक बस र एम्बुलेन्स ठोक्किदा तीन जना घाइते भएका छन् ।

नारायणगढबाट आज बागलुङतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०३०० नम्बरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन् ।

घाइते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका–१ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गीताकुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको छ । उहाँलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य दुईको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पर्वतको जलजला गाउँपालिका–७ की ५५ वर्षीया महिला बिरामी भई पोखरा लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । दुईवटै सवारीसाधन र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

RSS

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *