राेग, अपराध, विपद,  र दुर्घटनाका ११ समाचार

राेग, अपराध, विपद, र दुर्घटनाका ११ समाचार

आठ किलो चाँदीका गहनासहित युवक पक्राउ

सिरहा, १८ भदौ :

सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानले आइतबार बेलुका ७ बजे लहान–७ दुर्गामन्दिरबाट मोरङ उर्लाबारी नगरपालिका–५ का ३० वर्षीय दिपेन्द्र विश्वकर्मालाई करिब आठ केजी चाँदीको गहनासहित पक्राउ गरेको हो ।

चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पैदलयात्रीले बोकेको कालो रङको झोला जाँच गर्दा रू १० लाख ४० हजार मूल्य बराबरको चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो ।

प्रहरीले कहाँबाट र कसका लागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गरगहनासहित विश्वकर्मालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाउने तयारी भइरहेको जनाएको छ ।

विश्वकर्मा भरिया मात्र भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनले लहानकै व्यवसायीका लागि भारतबाट गहना ल्याएको प्रारम्भिक बयान दिएको प्रहरी प्रवक्ता सापकोटाले बताउनुभयो ।

 

सर्पले डसेका युवकको बाटोमै मृत्यु

बरहथवा (सर्लाही), १८ भदौः

सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ ।

हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्युभएको हो । आलेलाई गएराति शौचालय जाने क्रममा गोमन सर्पले डसेकामा उहाँलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्‍याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

गएराति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिनुभयो ।

 

विष्णुमतीले खतराको तह पार गर्‍यो, राती पनि ठाउँठाउँमा वर्षा

काठमाडौँ, १८ भदौ :

काठमाडौँको विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको छ ।

‘काठमाण्डौँ जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले विष्णुमती नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेले उच्च सतर्कता अपनाऔँ’, सूचनामा भनिएको छ ।

जल ततथा मौसम विज्ञान विभागका अनुसार उपत्यकालगायत केही क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । विभागका मोसमविद् प्रतिभा मानन्धरले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जानकारी दिनुभयो ।

उहाँले हाल देशभर साधारणतया बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमवर्षा भइरहेको बताउनुभयो । काठमाडौँ उपत्यकाको गोङ्गबु माथिल्लो क्षेत्र र बूढानीलकण्ठ आसपासका क्षेत्रमा आज वर्षा भएको थियो ।

नेपाल बाढी सूचनामा जनाइएअनुसार आज बिहान गौरीघाट जल मापन केन्द्रमा बागमती नदी सतर्कता तह आसपास आइपुगेको थियो । आजै साँझ सिन्धुलीस्थित कमला नदी पनि सतर्कता तह आसपास आइपुगेकाले सावधानी अपनाउन सूचना जारी भएको थियो ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आजराति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै भोलि पनि कोशी मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

 

स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते/तीनको अवस्था गम्भीर

जलेश्वर, १८ भदौ :

महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन् ।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार पाठकले बताउनुभयो ।

जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ३२ वर्षीया उषा देवी, १४ वर्षीया शिवानी मिश्रा, ३३ वर्षीय दिलीपकुमार मण्डल र सात वर्षीय अर्पितकुमार महतोलाई घरै अगाडि वन क्षेत्रबाट आएको स्यालले टोकेर घाइते बनाएको छ । त्यस्तै जलेश्वर नगरपालिका–६ बस्ने ३५ वर्षीया लिलम देवी, १२ वर्षीया माया कुमारी र १२ वर्षीया सङ्गीता मण्डललाई वन क्षेत्रबाटै आएको स्यालले टोकेर घाइते बनाएको जनाइएको छ ।

विगत दुई दिनदेखि जलेश्वर नगरपालिका–३ र ६ को वन क्षेत्रमा स्यालले आतङ्क नै मच्चाएको छ भने वनक्षेत्र वा साँझ र एकाबिहानै वन क्षेत्रको बाटो भएर आउजाऊ गर्नेमाथि स्यालले आक्रमण गरेर घाइते बनाउने गरेकोछ ।

स्यालले जिल्लामा आतङ्क नै मच्चाइरहेका बेला जिल्लामा कुकुरले टोकेर सात जना घाइते भएका छन् । कुकुरले टोकेर घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–२ का ६० वर्षीया सागर देवी, ४० वर्षीय विलास साह, जलेश्वर–१० का ६९ वर्षीया निर्मला देवी, ६४ वर्षीय रासिद अन्सारी, बलवा नगरपालिका–३ का ३७ वर्षीय जुगेश्वर यादव र लोहारपट्टी नगरपालिकाका ५३ वर्षीय नसरुद्दिन राईन रहेको प्रादेशिक अस्पताल जलेश्वरले जनाएको छ ।

स्याल र कुकुरले टोकेर घाइते भएकालाई उपचारको लागि चाहिने एन्टिरेबिज भ्याक्सिन ५० जनालाई पुग्ने रहेकाले तत्कालै भ्याक्सिनको अभाव नहुने जनाइएको छ ।

यसै क्रममा अनुहार, मुख र ओठ नै काटिने गरी गम्भीर घाइते भएका तीन जनालाई उपचारको लागि ‘इमिनो ग्लोबिन’ लगाउनुपर्ने तर सो भ्याक्सिन प्रादेशिक अस्पताल जलेश्वरमा उपलब्ध नरहेको कारण उनीहरूलाई थप उपचारको लागि जनकपुर पठाइएको हो ।

स्याल र कुकुरले टोकेर घाइते भएकालाई एन्टि रेबिज भ्याक्सिन (एआरभी) को तीन/तीन डोज लगाउनुपर्ने छ । विगत दुई दिनमा जिल्लामा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भए पनि स्याल र कुकुर नियन्त्रणको लागि कुनै निकायबाट कुनै पहल भएको छैन ।

 

सङ्खुवासभाको चैनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा), १८ भदौः

यहाँको चैनपुर नगरपालिका– २ चित्लाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्र्याक्टर दुर्घटनामा परी चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

चैनपुरको सिद्धपोखरी–नुनढाकी सडकखण्डमा आज दिउँसो खाद्यान्न बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १–०२००३ त १७६३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

 

अर्घाखाँचीमा खोलाले बगाएर दुई जनाको मृत्यु

अर्घाखाँची, १८ भदौ :

अर्घाखाँचीको सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

शीतगङ्गा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताउनुभयो ।

आज दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवैजनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताउनुभयो ।

 

जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट घोडाघोडीका दुई जनाको मृत्यु

घोडाघोडी (कैलाली), १८ भदौः

जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिनुभएको छ ।

जोशीकानुसार घोडाघोडी नगरपालिका–५का ९ वर्षीय बालकको भदौ ७ र वडा नं ६ का ६० वर्षीय पुरूषको भदौ ३ गते मृत्यु भएको हो ।  गौरीगङ्गा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा सङ्क्रमण पुष्टि भएको जोशीले बताउनुभयो ।

गौरीगङ्गामा छ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा सङ्क्रमण पुष्टि हो । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको उपचार भइरहेको छ । पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।

 

वैदेशिक रोजगारमा पठाउने भन्दै रु २२ लाख ५० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १८ भदौः

विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी रहेका प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यकानुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र उज्वेकिस्तानलगायत देशमा लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यार विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

लामाले विदेश पठाउने भन्दै सात जनाबाट रु १० लाख तथा चौधरीले छ जनाबाट रु १२ लाख ५० हजार लिएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

बिरामीको चाप बढेपछि अस्पताल व्यवस्थापनमा समस्या

गाईघाट (उदयपुर), १८ भदौ:

जिल्ला सदरमुकाम गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ ।

अस्पताल प्रशासनका अनुसार २०६७ सालदेखि २५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्दै आएको भए पनि यस पटकदेखि बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेको हो ।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार हाल दैनिक पाँच सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । भाइरल ज्वरो, रुघाखोकी, डेङ्गी र अन्य रोगका बिरामी दैनिक पाँच सय भन्दाबढी आउन थालेपछि अस्पतालको शय्याले धान्न छाडेको उहाँले बताउनुभयो । शय्या अभाव भएपछि भूइँमासमेत राखेर बिरामीको उपचार गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माका अनुसार अस्पतालको क्षमता बढाइदिन सम्बन्धित निकायमा पटक–पटक माग गरेपनि सुनुवाइ भएको छैन । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले भन्नुभयो, “अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढ्दै गएको कारण क्षमता वृद्धि गरिदिनेबारे पटक–पटक कोशी प्रदेशका मुख्यमन्त्री र सङ्घीय सरकारका स्वास्थ्यमन्त्रीसँग भेट गरेर अनुरोध गरिसकेका छौँ, तर सुनुवाइ भइरहेको छैन ।”

स्वास्थ्य मन्त्रालयको नियमावली अनुसार दुई सय शय्यासम्मको अस्पताल वृद्धिको अनुमति प्रदेश सरकारले दिनसक्ने व्यवस्था छ । सो भन्दा बढीको क्षमता वृद्धि गर्न परे सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयको अनुमति आवश्यक पर्छ । अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाका अनुसार उदयपुरको जनसङ्ख्या हाल तीन लाख ७८ हजारभन्दा बढी पुगिसकेको छ । यस अस्पतालमा उदयपुर बाहेक खोटाङ, भोजपुरका बिरामीसमेत उपचारका लागि आउने गर्छन् ।

 

कुटपिट गरी धनमाल लुटपाट

सिरहा, १८ भदौ :

यहाँको गोलबजार नगरपालिका—१ मुक्सारमा सोमबार राति लुटेराको एक समूहले धनमाल लुटपाट गरेको छ । स्थानीय जागेश्वर रामको घरमा राति १२ बजेको आसपासमा १२÷१५ जनाको समूहमा आएका लुटेराहरुले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगेका हुन् ।

लुटेरा समूहले जागेश्वरलाई कुटपिट गरी उहाँको मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिनुभयो । घटनालगत्तै स्थानीयले मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि चार घण्टा पछिमात्र प्रहरी आइपुगेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारले भने सामान्य चोरीको घटना भएको जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले भन्नुभयो, “सामान्य चोरी भएको भन्ने सूचना आएको थियो । हामीले प्रहरी टोली खटाइसकेका छौँ । थप अनुसन्धान गर्दै छौँ ।”

सिरहाको लहान, धनगढीमाई, गोलबजार लगायतका स्थानमा पछिल्लो समय चोरी तथा डकैतीका घट्ना बढेका छन् । खासगरी घरमै धनमाल राख्ने वित्तीय साक्षरता कम भएका दलित समुदायमा यस्ता घट्ना बढ्दो छ ।

 

वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग गर्न माग

काठमाडौँ, १८ भदौ :

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न राजनीतिक दलका नेताले सामूहिक रुपमा माग गर्नुभएको छ ।

माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताले अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन आज माग गरेका हुन् । वडाध्यक्ष यादवको यही भदौ ९ गते बर्दिबास नगरपालिका–१२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो । उक्त घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटना नभइ हत्या भएको हुनसक्ने भन्दै ज्ञापनपत्रमा अनुन्धानको माग गरिएको छ ।

भदौ ८ गते साँझ केही शङ्कास्पद व्यक्तिले बोलाएको, घटनास्थल र शवको प्रकृति हेर्दा दुर्घटनाबाट मृत्यु भएजस्तो नदेखिएको, शव परीक्षण रिपोर्टबाट टाउको र छातिमा चोट देखिएको, टाउको र छातिमा वजनदार वस्तुले प्रहार भएको पाइएको थियो ।

यस्तै मोटरसाइकलको हेल्मेटमा केही क्षति नभएको बरु हेल्मेट लकसहित निकालेर राखेको, मोटरसाइकल स्टार्ट बन्द गरिएको अवस्थामा राखिएको आदि कारणले दुर्घटना नभइ हत्या भएको हुनसक्ने ज्ञापनपत्रमा उल्लेख छ ।

शव परीक्षणका लागि काठमाडौँ लगिएपछि अर्को दिन शङ्कास्पद व्यक्तिलाई प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको भन्दै यी विभिन्न परिस्थिति, वातावरण, शवको प्रकृति, समय र मुकेशसँग सम्पर्कमा रहन पुगेका व्यक्तिसँग गम्भीरतापूर्वक छानबिन गरेमा सत्यतथ्य पत्ता लाग्ने उल्लेख गर्दै ज्ञापनपत्रमा प्रहरी प्रशासन यसप्रति गम्भीर नभएकाले केन्द्रीय अनुसन्धान ब्यूरोबाट नै छानबिनका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले सो घटनालाई आफूले गम्भीर रूपमा लिएको बताउनुभयो । मधेस–तराई क्षेत्रमा रहेको सुरक्षा चुनौतीबारे जानकार रहेको र अवस्था सुधारका लागि आफू सरकारमा रहँदा सुक्ष्म ढङ्गले अभियान चलाएको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षको मृत्यु र तराईमा भइरहेका हत्या हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाउनुभयो ।

सर्वदलीय रुपमा मागपत्र बुझाउन माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल, नेपाली कांग्रेसका नेता महेन्द्रकुमार राय, जसपा नेपालका नेता डा सुरेन्द्रकुमार यादव, माओवादी केन्द्रका नेता भरत साहलगायत परिवारका सदस्य सहभागी हुनुहुन्थ्यो ।

 

RSS

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *