काठमाडौँ, १८ भदौः
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
अध्यक्ष ओलीले बैठकमा समसामयिक राजनीतिक विषयमा मन्तव्य राख्नुहुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यसैगरी, एमाले सचिवालय बैठकले तयार पारेको कार्ययोजनासहित मुलुकमा व्याप्त बाढी पहिरोसहित प्राकृतिक विपत्ति, सामाजिक सद्भाव बिथोल्न उद्यत अराजक घटनाक्रमलगायत समसामयिक विषयमा बैठकमा छलफल हुने नेता गौतमले बताउनुभयो । उहाँका अनुसार कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई थप व्यवस्थित गर्ने तथा बाँकी रहेका पार्टीको जिल्ला अधिवेशन र पालिका अधिवेशन समयमै व्यवस्थित रूपमा सम्पन्न गर्ने उल्लेख छ ।
यसैगरी, बैठकमा केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन र निर्णायक राष्ट्रिय शक्ति निर्माणः वार्षिक कार्ययोजनासहित पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई तीन महिनाभित्र विभिन्न कमिटीमा जिम्मेवारी दिइने विषय उल्लेख छ ।
पार्टीको केन्द्रमा एक तथा सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्नेसमेत कार्ययोजनामा समेटिएको छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कूलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको प्रस्ताव बैठकमा पेस हुने बताइएको छ ।
प्रचारप्रसार कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउने तथा बजेट व्यवस्था गरी कमिटीको कामलाई चुस्तदुरुस्त ढङ्गबाट अगाडि बढाउने विषय कार्ययोजनामा उल्लेख गरिएका छन् ।
त्यस्तै, पार्टीको हीरक वर्षका लागि तय भएका र बाँकी रहेका कामहरू, पार्टीको इतिहास लेखन, ‘शेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेलगायत विषयवस्तु कार्ययोजनामा समेटिएको छ । बैठकमा पार्टी पदाधिकारी, स्थायी कमिटी सदस्यसहित ९५ जना पोलिटव्युरो सदस्यको सहभागिता रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । एमाले पोलिटब्यूरो बैठक भोलिसम्म चल्ने छ ।
रासस