भालुको आक्रमणबाट पाँच भेडा मरे
जुम्ला, १७ भदौ :
जिल्लाको कनकासुन्दरी गाउँपालिका–७ स्थित हलगाडेमा आइतबार राति भालुको आक्रमणमा परी पाँच वटा भेडा मरेका छन् ।
भेडापालक किसान गोबी कार्कीका अनुसार पाटनमा दिन भर चराएर ल्याएका भेडा भेडी खर्कमा बास बसाल्ने समयमा भालु पसेर आक्रमण गरी मारेको हो ।
भालुको आक्रमणबाट आकाशी कार्कीका दुई वटा, गोबी कार्कीका तीन वटा भेडा मरेको भेडापालक किसान कार्कीले जानकारी दिनुभयो ।
करेन्ट लागेर एकको मृत्यु, चार घाइते
बैतडी, १७ भदौ :
करेन्ट लागेर यहाँको पाटन नगरपालिका–६ डुङरामा एक महिलाको मृत्यु भएको छ । घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि लुगा सुकाउने क्रममा करेन्ट लागेर ५७ वर्षीया जानकी लुहारको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते लुहारलाई उपचारका लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेको बेला छुट्टाउन गएका अन्य चार जना घाइते भएका छन् । स्थानीय ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पवित्रा ओड, १० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार घाइते भएका हुन् ।
घरको भान्सा कोठामा मिटरबक्स राखिएको र सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएकोमा सोही तारमा करेन्ट प्रवाह भएको प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बरियारपट्टीमा बेवारिसे शव फेला
गोलबजार, १७ भदौः
सिरहाको बरियारपट्टीमा एक पुरुषको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका–३ दशगजाभन्दा दुई सय मिटर उत्तर र सशस्त्र प्रहरी बलको वेशक्याम्पभन्दा दुई सय ५० मिटर पूर्व रहेको खेतको आलिमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।
उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शवको सनाखत हुन सकेको छैन, घटनास्थलमा प्रहरी परिचालन भई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”
प्युठानको एक घरमा मानव कङ्काल भेटियो
स्वर्गद्वारी (प्युठान), १७ भदौ :
प्युठानमा मानव कङ्काल भेटिएको छ । माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो ।
स्थानीय दलबहादुर खत्रीको घरमा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए । ओत लागेको समयमा मानव कङ्काल देखिएको स्थानीय बताएका छन् । कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कङ्काल भेटिएको प्रहरीले जनाएको छ ।
मानव कङ्काल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो । घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ । सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली आज घटनास्थलमा पुगेको हो । प्रहरीले कङ्काललाई प्यूठान अस्पताल लिई डिएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ । त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरु हुने प्रवक्ता केसीको भनाइ छ ।
बाँकेमा अज्ञात रोगका कारण चार जनाको मृत्यु
जानकी (बाँके), १७ भदौः
अज्ञात रोगका कारण यहाँको नरैनापुरमा एकै परिवारका तीन जना र एक बालकसहित चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा चार जनाको ज्यान गएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको यही भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।
“सुरुमा उषा पासीलाई सामान्य टाउको दुख्यो, त्यसपछि पेट दुख्यो र दुईदेखि तीन पटकसम्म पखाला लागेको रहेछ”, परिवारको भनाइलाई उद्धृत गर्दै स्वास्थ्य शाखा प्रमुख शाहले भन्नुभयो, “झाडापखाला नै हो भनेर हामीले भन्न सक्दैनौँ । किनकी दुईदेखि तीन पटकसम्म भएको दिसालाई झाडापखाला भन्न मिल्दैन ।”
उषाका श्रीमान् छोटेलाल पासीका अनुसार उषालाई केही दिन अघिदेखि टाउको र पेट दुख्नुका साथै ज्वरो आएपछि नजिकै रहेको भारतीय क्लिनिकमा उपचार गरिएको थियो । उपचारको क्रममा उषाको ज्यान गएको श्रीमान् छोटेलालको भनाइ छ । “टाउको दुख्यो, पटे दुख्यो भन्दै थिइन् । पछि एक दुई चोटी पातलो दिसा गरिन् । उनको उपचार चलिरहेको थियो । तर उपचार चल्दै गर्दा हामीलाई छाडेर गईन्”, छोटेलालले भन्नुभयो ।
श्रीमती उषाको मृत्यु भएको एकदिन नबित्दै ७५ वर्षीया उहाँकी ठुलीआमा शान्ति पासीको पनि उस्तै दुखाइको कारण मृत्यु भयो । “मेरो श्रीमतीको १४ गते मृत्यु भयो । भोलिपल्ट नै हामीसँगै बस्दै आउनुभएकी ७५ वर्षीया ठुलीआमा पनि श्रीमतीको जस्तै दुखाइका कारण मृत्यु भयो”, उहाँले भन्नुभयो, “एकै पटक परिवारका दुई सदस्य गुमाउनुको पीडा त छँदै थियो । भोलि पल्टै मेरो डेढ वर्षीया भतिजी नन्दनी पासीको पनि उस्तै लक्षणले ज्यान गयो ।”
तीन दिनमा एकै परिवारका तीन जनाको ज्यान गएको सोही गाउँमा १६ गते उस्तै लक्षण, दुखाईले १२ वर्षीय बालक सुफियान अलि सेखको पनि ज्यान गएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु भएका चारै जनाको उपचार भारतीय सीमासँग जोडिएको ‘प्राईभेट क्लिनिक’मा भएको थियो ।
उहाँले भन्नुयो, “यो खबर आजै मात्र हामीले थाहा पायौँ । थाहा पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।” नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्रका अुनसार अहिलेसम्म ४० जनाको स्वास्थ्य जाँच गराइएको छ । जसमा सात जनाको अवस्था गम्भीरबाट विस्तारै सामान्य बन्दै गएको छ ।
नरैनापुरमा भएको उक्त घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल नं ३० गण नेपालगञ्ज बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीसहितको टोली अनुगमनमा पुगेको थियो ।
अनुगमन पश्चात प्रजिअ रिजालले नरैनापुरको स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन दिनुभएको छ ।
बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला
मकवानपुर, १७ भदौः
बाढीले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बकैया गाउँपालिका–६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा बेपत्ता भएकी स्थानीय नानिमाया तितुङ मृत अवस्थामा फेला परेकी हुन् ।
आइतबार दिउँसो बाराको निजगढ नगरपालिका–१०, लालस्थित रहेको आफ्नै घर–पसलबाट आफ्नो घर फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएकी उनको शव आज भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोला किनारमा भेटिएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा तीन वर्षमा सात जनाको मृत्यु
सिमकोट, (हुम्ला), १७ भदौः
जिल्लामा तीन वर्ष अवधिमा ३३ वटा सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा पाँच वटा सवारी दुर्घटना भएका थिए । सो आवमा एक बालकको जीप दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
आव २०७९/०८० मा विभिन्न दश वटा सवारी दुर्घटना भएका थिए । सो आवमा दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो । जीप चार, ट्याक्टर पाँच र स्काभेटर एक दुर्घटनामा परेका थिए । सोही आवमा महिला पुरुष गरी २४ जना घाइते भएका थिए ।
आव २०८०/०८१ मा १८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी महिला एक, बालक एक र पुरुष दुई गरी चार जनाले ज्यान गुमाएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । सबैभन्दा बढी यही आवमा दुर्घटना भएको थियो । सो आवमा ३५ जना दुर्घटनाकै कारण घाइते भएका थिए ।
तीन वर्षको तथ्याङ्कमा हरेक वर्ष घाइते हुनेको सङ्ख्या बढ्दो देखिएको छ । तीन वर्ष अवधिमा जिल्लामा सवारी दुर्घटनामा परी जम्मा ६५ जना घाइते भएका छन् ।
काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो
जुम्ला, १७ भदौ :
जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ । गत बुधबार उक्त पालिकाको लुममा रहेको काठेपुलबाट खसेर बेपत्ता भएका २८ वर्षीय बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।
पुलबाट करिब १४ किलामिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गएको बुधबार बिहानै ८ बजे गाउँपालिको लासी बजारबाट तल्फी जानेक्रममा क१प १८२० नम्बरको मोटरसाइकल पुलबाट जवा नदीमा खसेको थियो ।
सर्पले टोकेर बालकको मृत्यु
कैलाली, १७ भदौः
कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामासर्पले टोकी घाइते भएको र उपचारको क्रममा राति १ः ५० बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी गएराति नै सर्पले टोकेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् । विष्टलाई निजकै किराना पसलको घर आगनमा दाँहिने खुट्टामा सर्पले टोकी घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनलाई कुन सर्पले टोकेको हो भन्ने जानकारी नएको र घाइते विष्टको अवस्था मध्यम रहेको जनाइएको छ ।
दुर्घटनामा चालकको मृत्यु
रामपुर (पाल्पा), १७ भदौ :
पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ ।
नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु : सातजना बिरामी
खजुरा (बाँके), १७ भदौः
नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिनुभयो ।
भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।” झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु
चितवन, १७ भदौः
डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।
काभ्रेमा अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु
काभ्रेपलाञ्चोक, १७ भदौः
काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बनेपा–पनौती सडकखण्डअन्तर्गत पनौती नपा–५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलत्रात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश३–०२–०१३प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेपछि उहाँको उपचारका लागि काठमाडाँैको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जनाइएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा–७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका थिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेरिँदै मानव बेचबिखनको स्वरुप
काठमाडौँ, १७ भदौ :
चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझ बिहान दुई छाक खान धौधौ थियो । श्रीमानले ज्याला मजदुरी गरेर दुई चार पैसा कमाउँथे । तर, कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर्थे । विपनालाई चार छोराछोरीको पालनपोषण गर्न कठिन थियो ।
कसरी बालबच्चालाई पेटभरी ख्वाउने भन्ने चिन्ताले विपनालाई सधैँभरी सताईरहन्थ्यो । यत्तिकैमा एक दिन विपनालाई नयाँ नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो । विपनाले को रहेछ भनेर फोन उठाउँदै कुरा गर्नुभयो । पछि त्यो फोन गर्ने मान्छेले सामाजिक सञ्जाल (फेसबुक) मा साथी बन्न अनुरोध पठाए । विपनाले अनुरोध स्वीकार गर्नुभयो र साथी बन्नुभयो ।
फेसबुकमा कुरा हुँदै जाँदा विपनालाई पैसा नलाग्ने गरी विदेश पठाइदिने प्रलोभन देखाए । विपनाले भन्नुभयो, “घरमा पनि सधैँभरी लाउन खानकै दुःख, अरु भन्दा पनि छोराछोरालाई कति दिन भोकै राख्ने भनेर मैले विदेश जाने निधो गरेँ ।”
फोन गर्ने मान्छेले विपनालाई भारत हुँदै कुवेत पठाइदिने भनेका थिए । विपनालाई भारतको वेश्यालयमा लगेपछि मात्रै दलालले आफूलाई बेचेको थाहा पाउनुभयो । एक बर्षपछि विपना आफन्तको सहयोगमा नेपाल फर्किन सफल हुनुभयो ।
यसरी प्रलोभनमा पारेर भारतमा बेचिनुभएकी विपना एक उदाहरण मात्रै हुन् । बढ्ढो सूचना, सञ्चार र प्रविधिको विकासले मानव बेच बिखन सजिलो भएको छ । पहिले गाउँका सोझा महिला मात्रै बेचिन्थे । अहिले सहरका टाठाबाठा सजिलै बेचिने गरेका छन् । पछिल्ला पाँच वर्षयता सहरकै शिक्षित महिला बेचविखनको जोखिममा पर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन रोक्न तीव्रता देखाए पनि बढ्दो सञ्चार प्रविधिका कारण मावन बेचविखन तथा ओसारपसार गर्न दलालहरुलाई सजिलो भएको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि मावन बेचविखन रोक्न पहल गरिरहेका छन् । तर, मावन बेचविखनको अवस्था घट्नुको सट्टा बढ्दै गएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने मानव बेचविखनमा पर्ने ८० प्रतिशत बढी महिला छन् । पछिल्लो समय पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले नेपाली युवती विवाह गरेर लैजाने र बेचविखनमा पर्ने गरेको माइती नेपाल नामक संस्थाले जनाएको छ ।
नेपालबाट विवाह गरेर लगे पनि ती महिलालाई पछि घरमै बन्धकझैँ बनाएर यातना दिने गरेको माइती नेपालको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका लागि लैजाने तर प्रक्रिया नपु-याइ लैजाँदा श्रम शोषण, यौनशोषण हुने गरेको छ । विभिन्न सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेकै बाट बेचिने गरेका छन् । पछिल्लो समय धनुषा जिल्लाका सात र सिरहा जिल्लाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ जना पुरुष बन्धक बनाइएको भारतीय गैरसरकारी संस्था किन इण्डियामार्फत जानकारी हुन आएको थियो ।
मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इण्डियाको प्राविधिक सहयोग र सहकार्यमा उक्त पीडित÷प्रभावितलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ । मानव बेचविखनबाट पीडित र प्रभावितको उद्धार तथा संरक्षणलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ । यो घटनाको संवेदनशीतालाई मध्यनजर गरी धनुषा ल्याइएका २८ पुरुषलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह (सुडी), मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको समुपस्थितिमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत निजको परिवारसँग पुनःमिलन गराइएको छ ।
यसरी पछिल्लो समय मानव बेचविखनको शैली परिवर्तन हुँदै गएको हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको सङ्ख्या बढेसँगै बेचविखनको जोखिम बढेको हो । सामाजिक सञ्जालमा आम नागरिकको पहुँच भएकाले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन फस्टाएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा बेचबिखनको जोखिम बढेको जनाइएको छ । प्रविधिको विकाससँगै बढ्दो मानव बेचविखन तथा ओसारपसार रोक्न राज्यले सोही अनुरुप सक्रियता देखाउनुपर्ने देखिन्छ ।
RSS