समावेशी प्रतिनिधित्व संविधानमा लेखेर नहुँदाे रहेछ…

समावेशी प्रतिनिधित्व संविधानमा लेखेर नहुँदाे रहेछ…

काठमाडाैँ, १५ साउनः

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डल समावेशी नभएकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजका बैठकको विशेष समयमा उहाँले समावेशी मन्त्रिमण्डल गठन गर्न नेतृत्वको इच्छाशक्ति नदेखिएको टिप्पणी गर्नुभयो ।

“समावेशी प्रतिनिधित्व संविधानमा लेखेर मात्रै हुँदो रहेनछ, नेतृत्वको दृढ इच्छाशक्ति भयो भने संविधानमा नलेखे पनि हुँदो रहेछ भन्ने उदाहरण २०१५ सालको संसदीय निर्वाचन र २०१६ कोे मन्त्रिमण्डललाई लिन सकिन्छ”, उहाँले भन्नुभयो, “पहिलो आम निर्वाचनपछिको १९ सदस्यीय मन्त्रिमण्डलमा छ जनजाति, दुई मधेसी, थारु र महिला एक÷एक जना हुनुहुन्थ्यो ।”

तत्कालीन प्रधानमन्त्री विपी कोइरालाले सुदूरपश्चिमका द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाउनुभएको स्मरण गर्दै उहाँले वर्तमान मन्त्रिपरिषद् गठनमा त्रुटी भएको टिप्पणी गर्नुभयो । राजनीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उहाँले सरकारले जनताको आशाअपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले देश र जनताका अगाडि आएका समस्या समाधानमा बहस नभई राजनीतिक दलबीचको आरोप र प्रत्यारोपले जनतालाई निराश बनाएको बताउनुभयो । समावेशिता नेपाली राजनीतिका सिद्धान्त भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले संविधान संशोधनमार्फत समावेशितालाई प्रगाढ बनाएर लैजाने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद दुर्गा राईले संसद्मा सत्ता पक्षले प्रतिपक्षमाथि निषेध गर्न खोजेको आरोप लगाउँदै सत्ता गठबन्धनले मुलुकलाई सुशासन र समृद्धि दिन नसक्ने ठोकुवा गर्नुभयो । “नयाँ समीकरणका बारेमा जनतालाई स्पष्ट थाहा छ, सुशासनलाई कमजोर पार्न सरकारले अनियमितताको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेको छ”, उहाँले प्रश्न गर्नुभयो, “सरकारको ध्यान कता गइरहेको छ ?”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले तथ्यमा आधारित रहेर संसद्मा बहस हुनुपर्नेमा जोड दिँदै कोही, कसैले विषयलाई अतिरञ्जित गर्न नहुने बताउनुभयो । “नयाँ शक्तिलाई गलाउने, झुकाउने, व्यङ्ग्य गर्ने, झुट बोलेर पन्छाउन सकिन्छ कि भन्ने दुष्शाहस कसैले नसोच्नु होला”, उहाँले भन्नुभयो, “नेपालको हितलाई केन्द्रमा राखेर बदलिँदो विश्व समुदायबाट कसरी लाभ लिने भन्ने हामी स्पष्ट छौँ, सबैसँग तथ्यगत बहस गर्न तयार छौँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले मुलुकको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीले जिल्ला भ्रमण गर्दा जनताले भेट गर्न नपाउनु बिडम्बना भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपालकै जेठो त्रिभुवन विश्वविद्यालयको स्तर तीव्र गतिमा खस्किरहेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै शैक्षिक पात्रो प्रभावकारी रुपमा कार्यान्वयन गर्न विश्वविद्यालयका पदाधिकारीसँग आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले संसदीय मर्यादालाई ख्याल राखेर वहस गर्न सभामुखले सांसदलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो । “संसद्भित्र बसेर हामी कुन विषय बोल्ने, नबोल्ने, कुन विषयमा शङ्का व्यक्त गर्ने नगर्ने भन्नेमा सीमा देखिएको छैन । यो दुःखद् हो, व्यक्तिगत रुपमा पनि मलाई चित्त दुखेको छ । के हुनुपथ्र्यो, के भइरहेको छ”, उहाँले भन्नुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खानले नेपालमा रहेका विदेशी राजदूतले आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुनेमा जोड दिँदै अन्तर्राष्ट्रिय हस्तक्षेप नेपाली जनतालाई स्वीकार्य नभएको बताउनुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले असुरक्षित बन्दै गएका सडक र हवाई यात्रा भरपर्दो र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सांसद रामप्रकाश चौधरीले आरक्षण कोटा दुरुपयोग भएकातर्फ ध्यानार्कषण गराउदै हरेक दश वर्षमा आरक्षणको पुनरावलोकन हुनुपर्नेमा जोड दिनुभयो । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को हुलाकी राजर्मागको अवस्था भद्रगोल भएकाले अनुगमन गर्न आग्रह गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्ति सीमाङ्कन गरी विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न माग गर्नुभयो । आम जनता पार्टीका सांसद प्रभु साहले मधेस प्रदेश सरकारको जिम्मेवारीमा छाडिएका ‘जनता आवास कार्यक्रम’ अलपत्र भएको उल्लेख गर्दै सङ¬्घीय सरकारले निर्माणमा चासो दिनुपर्ने बताउनुभयो ।

सांसद अमरेशकुमार सिंहले संविधानले समावेशी सिद्धान्तलाई अङ्गीकार गरेको भए पनि सरकारी नियुक्तिमा समावेशिता नदेखिनुले संविधानअनुरुप काम नभएको बताउनुभयो । कांग्रेस सांसद मैना कार्कीले सङ्क्रमणकालीन न्यायलाई चाँडै निष्कर्षमा पु¥याएर पीडितलाई न्याय दिइनुपर्नेमा जोड दिनुभयो ।

एमाले सांसद अच्युत मैनालीले राजनीतिक दल देश र जनताप्रति उत्तरदायी हुनुपर्छ भन्दै नेतामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित दलले दिनुपर्ने बताउनुभयो । सांसद उर्मिला थेवेले ताप्लेजुङ विगतदेखि नै मनसुनजन्य विपद्बाट प्रभावित हुँदै आएकाले पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन सांसद बेलबासेको सुझाव

सांसद गङ्गाकुमारी बेलबासेले राजनीतिक स्थिरता र विकास निर्माणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी काम गर्न आग्रह गर्नुभयो ।

“खर्चिलो चुनाव भयो भनिएको छ । जनताबाट निर्वाचित भएको कार्यकारी प्रमुखलाई निर्वाचन गर्न हामी पहिलेदेखि नै तयार छौँ । यो पक्षमा जाने आँट गर्नुहुन्छ भने हामी समर्थन जनाउँछौँ”, उहाँले भन्नुभयो ।  उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुँदा स्थिर सरकार बन्न सक्ने धारणा  राख्नुभयो ।
सांसद आनन्दप्रसाद ढुङ्गाना संविधान संशोधन गर्नु भनेको समावेशी प्रणाली विरोधी नभएको बताउनुभयो । उहाँले प्रतिपक्षी दलले संविधान संशोधन गर्नु भनेको समावेशी विरोधी भएको भन्दै लगत भाष्य प्रचार गरेको बताउनुभयो ।

उहाँले राजतन्त्र हटाएर गणतन्त्र ल्याउँदा र संविधान बनाउदासमेत सत्तापक्ष पार्टी सधैँ समावेशीकै पक्षमा रहदै आएको बताउनुभयो । “समानुपातिक समावेशी नेपाली जनताले पाइसकेको अधिकार हो”, उहाँले भन्नुभयो, “सरकार विरोधी होइन, प्रतिपक्षीको गलत प्रचार हो ।”

उहाँले जनताले अब सरकारसँग परिणाम खोजेको उल्लेख गर्दै त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान संशोधन निकासको अर्को आधार भएको उहाँको तर्क थियो । गठबन्धन सरकारले संविधानको संशोधनको कुरा उठाउनु मुलुकलाई निकास दिनका लागि भएको उहाँले बताउनुभयो । संविधान बनेको दश वर्षपछि यसका सबल र निर्वल पक्षमाथि समीक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

 

थोत्रा बस सञ्चालनमा रोक लगाउन माग

नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले दुर्घटना न्यूनीकरणका योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ, सरकारले यसलाई नियमन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “घुम्ती सडकमा छेकबार तथा सङ्केत चिह्न नहुँदा दुर्घटना हुने गरेका छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलैमा ध्यान दिनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यप्रसाद ढकालले बाँकेको राप्तीसोनारी गाउँपालिका– ७ झगडिया क्षेत्रमा राप्ती नदीमा यथाशीघ्र तटबन्धको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “बेलैमा तटबन्ध गरिएन भने राप्तीसोनारी–७ को आधा गाउँ र नरैनापुर गाउँपालिकाका सबै वडा डुबान जोखिममा पर्ने र ६० हजार बढी जनता विस्थापित हुने देखिएको छ, यतातर्फ सरकार र सिङ्गो सदनको ध्यान जानुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले धादिङ जिल्ला अस्पतालभित्र राजनीति गतिविधि व्याप्त भएको दाबी गर्दै अस्पताल व्यवस्थापन समितिलाई पार्टीको भ्रातृ सङ्गठन बनाइएकामा विरोध गर्नुभयो । “अस्पतालमा कार्यरत सक्षम जनशक्तिलाई टिक्न नदिइ सरुवा गराउन गरिएको छ, स्वास्थ्य संस्थालाई यसैगरी अघि बढाउने हो भने स्वाथ्य क्षेत्रमा सुधार हुन्छ ? स्वास्थ्य क्षेत्रमा राजनीतिक दलले गैरजिम्मेवार काम गर्न हुँदैन”, उहाँले भन्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले चितवनको सीमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले वैदेशिक रोजगारी जाने युवाहरु ठगी बढिरहेको तथ्य प्रस्तुत गर्दै ठगी नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले रुस–युक्रेन युद्धमा घाइते भएका दैलेखका दुई युवाका उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गर्नुभयो ।

 

सांसदकाे प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?” गत आर्थिक वर्षमा एक लाख १२ हजार चार सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्याङ्क पेस गदै उहाँले यसका लागि रु एक खर्ब ५२ करोडभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताउनुभयो ।

विसं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसइई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उल्लेख बताउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदहरुले विपत् व्यवस्थापन र भइरहेको विभिन्न दुर्घटनाप्रति सरकारकालाई ध्यानर्काषण गराउनुभएको छ ।

सांसद कमला पन्तले सौर्य जहाजको दुर्घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही गर्न माग गर्नुभयो । सांसद जयन्तीदेवी राईले सौर्य जहाज दुर्घटनाका मृतकका परिवारलाई सरकारले नभेटेको गुनासो सुनाउनुभयो । उहाँले थोत्रो जहाज कहिलेसम्म चलाउने ? भन्दै सरकारको जवाफ माग गर्नुभयो ।

सांसद दुर्गा गुरुङले बाढीपरिहराका कारण कर्णाली प्रदेशको सडक बिग्रिएको उल्लेख गर्दै त्यहाँको जनजीवन प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नारायणदत्त मिश्रले जहाज दुर्घटनाको निष्पक्ष छानबिन र  किसानले रासायनिक मल नपाएकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भुवनबहादुर सुनारले भर्खर गठन भएको मन्त्रिपरिषद् समावेशी नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद मदनकुमारी साह गरिमाले विभिन्न स्थानमा भएका स्कुल बस दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद सुरेशकुमार आलेमगरले पुतलीसडक–मैतिदेवी सडकखण्डमा दुईतर्फी सवारी सञ्चालनको माग गर्नुभयो ।

 

रासस

 

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *