प्रस्तावित निर्वाचन आयुक्त प्रधान अस्वीकृत

प्रस्तावित निर्वाचन आयुक्त प्रधान अस्वीकृत

काठमाडौँ, १४ साउन :

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जवराको अध्यक्षतामा बसेको बैठकले प्रधानको नाम अस्वीकृत गरेको समिति सदस्य महेशकुमार बर्ताैलाले जानकारी दिनुभयो ।

यसअघि समितिको बैठक बस्नुअघि नै प्रधानले आफूलाई प्रस्ताव गरिएको पदमा उम्मेदवारी कामय राख्न नचाहेकोबारे आजै लिखित जानकारी गराउनुभएको थियो । उहाँले प्रस्तावित आयुक्तबाट नाम फिर्ता लिएको जनाउँदै समितिसमक्ष निवेदन दिनुभएको हो ।

समितिले सोही निवेदनका आधारमा बैठकले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको सदस्य बर्ताैलाले बताउनुभयो । समितिले प्रस्तावित व्यक्तिबाटै प्रस्तावित पदमा नियुक्तिका लागि उम्मेदवारी कायम राख्न नचाहेको जनाउँदै प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले गत असार २ गते नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्तावगरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो ।

समितिलाई आज पत्र लेख्दै उहाँले संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान् रहँदारहँदै पनि आफूप्रति केन्द्रित दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको उल्लेख गर्नुभएको छ ।

भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान् रहने वचनबद्धता व्यक्त गर्दै प्रधानले लेख्नुभएको पत्रमा भनिएको छ, “सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समितिसमक्ष जानकारीसहित अनुरोध गर्दै सोअनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।”

समितिको साउन ९ गतेको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

प्रधानको अवधारणा र कार्ययोजना सुनेपछि समिति सदस्यले उच्च नैतिक व्यक्ति रहनुपर्ने निर्वाचन आयोग जस्तो संवैधानिक निकायमा उजुरीमा उठाइएका प्रश्नको स्पष्टीकरण माग गर्नुभएको थियो । उहाँविरुद्ध यौन दुराचारको अभियोगसम्बन्धी चार वटा उजुरी परेका थिए ।

रासस

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *