प्रतिनिधिसभाः अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन ध्यानाकर्षण

प्रतिनिधिसभाः अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन ध्यानाकर्षण

काठमाडौँ, १४ साउन :

सांसद अब्दुल खानले अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको भन्दै यथाशीघ्र राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले सो सडक अवरुद्ध हुँदा दैनिकी हजारौँ यात्री समस्यामा परेका भन्दै यथाशीघ्र सञ्चालन गराउन आग्रह गर्नुभयो ।

सांसद खानले दैलेखको आठबिसे नगरपालिका–१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको बताउँदै सुर्खेतबाट माथिलो कर्णाली र माथिलो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने सवारीसाधन र यात्री अलपत्र परेका जानकारी गराउनुभयो ।

सांसद खानले कास्कीको पोखरामा भएको स्कुल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन संसद्मार्फत सरकारलाई आग्रह गर्नुभयो । उहाँले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद  डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न उठेको टिप्पणी गर्नुभयो ।

 

प्रतिनिधिसभाः बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ ।

बैठकमा सांसद उदयशमशेर जबराले पछिल्लो छ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताउनुभयो । सो अवधिमा भएका हवाई दुर्घटनामा परी नौ सय ३५ जनाले ज्यान गुमाएका तथ्याङ्क प्रस्तुत गर्दै उहाँले हवाई दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन र कडाइका साथ कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रघुजी पन्तले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताबारे मुलुकका सबै राजनीतिक दल र नागरिकको एउटै आवाज हुनुपर्ने आवश्यकता औँल्याउँदै सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने सबालमा सरकार सशक्त रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सांसद अमनलाल मोदीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै वर्तमान सरकारले सुशासनको अभियानलाई निरन्तरता दिन्छ कि दिँदैन भनेर प्रश्न गर्नुभयो ।

सांसद रवि लामिछानेले सरकारले अन्य पार्टी र पार्टीका नेतालाई कमजोर देखाउनेतर्फ भन्दा पनि सुशासन, जनतालाई राहत दिने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अनिसा नेपालीले विपन्न क्षेत्रका बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै असहाय, अपाङ्गता भएका, अनाथ र जोखिममा रहेका बालबालिकालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रञ्जुकुमारी झाले राजनीतिक दलले एक–अर्काप्रति आरोप प्रत्यारोप नगरी मुलुकका समस्या पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रेखा यादवले देशका विभिन्न स्थानमा रहेका खोलामा पुल निर्माण गर्ने भनिए पनि निर्माणले पूर्णता पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“किसानले कहिलेसम्म मल र बीउविजन नपाउने हो, किसानले कहिलेसम्म कृषि सामग्रीको हाहाकार खेपिरहने हो, किसानका लागि आवश्यक सागग्री पनि महँगो बनाइएको छ”, उहाँले भन्नुभयो ।

सांसद रामप्रकाश चौधरीले देशका विभिन्न स्थानमा बढ्दै गएको आपाराधिक क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले देशको सन्तुलित विकास गर्न जिल्ला भित्रमात्रै बसाइँसराइ हुने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद कान्तिका सेजुवाल पहिराका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा सडकअवरुद्ध भएको जानकारी गराउँदै निर्वाध सडक सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

सांसद जुलीकुमारी महतोेले प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहभागितामा गठित वर्तमान सरकारले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद जावेदा खातुनले वर्तमान सरकारसँग जनताले ठूलो आशा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाका विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिनिधिसभा : विद्यालय बसको गति नियमन गर्न सुझाव

सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कूल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित तुल्याउन र नियमन गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “चालकले तीव्र गतिमा बस कुदाउने गर्दछन्, त्यसकारण नेपाल सरकारले कडाईका साथ विद्यालयका बसको गति सीमिततालाई कार्यान्वयन गर्न जरुरी छ ।”

कास्कीको पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस आज बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको थियो ।

सांसद नेपालीले भन्नुभयो, “पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नै नचिनिने र गुड्नेबाट यात्रा गरे शव नै नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ ।”

सांसद नेपालीले बिपी कोराइलाको ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र तथा गणतन्त्र आए पनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको आरोप लगाउनुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानून तथा नियमावली जारी गरे पनि सो ऐन, कानुन तथा नियमावली यातायात व्यवसायी विरुद्ध भएको उहाँको भनाइ थियो ।

“कानुनका कयौँ बुँदा यातायात व्यवसायीका विरुद्धमा छन्, यातायात महासङ्घ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याएको देखिन्छ,” सांसद नेपालीले भन्नुभयो ।

सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई कुनै पनि सरकारी निकायमा नियुक्त गर्न नहुने जिकिर गर्नुभयो ।

सांसद अब्दुल खानले वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले दैलेखको आठबिस नगरपालिका–१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएकाले सुर्खेतबाट माथिलो कर्णाली र माथिलो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने यात्री अलपत्र परेको सदनलाई जानकारी गराउनुभयो ।

सांसद खानले कास्कीको पोखरामा भएको स्कूल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । उहाँले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद  डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरमाथि प्रश्न उठेको टिप्पणी गर्नुभयो ।

 

रासस

 

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *