काठमाडौँ, २८ असारः
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुनसक्ने अवस्था रहेसम्म सर्वाेच्च अदालतको नजिरबमोजिम संविधानको धारा, ७६ (२) बमोजिम नै सरकार गठनका लागि आह्वान हुनेमा विश्वास व्यक्त गर्नुभयो । सोही दलका नेता डा प्रकाशशरण महतले आफूहरु एमालेसँगको सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्न स्पष्ट रहेको उहाँले अवगत गराउनुभयो ।
एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले दुई दलको सहमतिबमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने तयारीमा आफूहरु रहेको जानकारी दिनुभयो । प्रमुख सचेतक बर्ताैलाले राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको विश्वासको मत असफल भएको जानकारी पाएपछि सम्भवतः आजै वा भोलिसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गर्ने र उक्त आह्वानका आधारमा आफूहरु प्रक्रियामा सहभागी हुने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिमको अहिलेको सरकारले विश्वासको मत नपाएकाले अब धारा ७६ (३) बमोजिम ठूला दलका नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति पौडेलले आह्वान गर्नुपर्ने आग्रह गर्नुभयो ।
उहाँले ठूलो दलका नेता प्रधानमन्त्री बन्ने अवस्थामा त्यस्तो सरकारलाई आफ्नो दलले विश्वासको मत दिने तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएमा आफूहरु त्यसको विपक्षमा रहने जनाउनुभयो । उहाँले प्रधानमन्त्री दाहाल अहिले राष्ट्रपति पौडेललाई भेट्न जानुभएको पनि जानकारी पनि दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले वर्तमान सरकारमा रहेर देश र जनताका लागि इमानदार रुपमा काम गरेको र अबका दिनमा प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्ने बताउनुभयो ।
—
राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श
राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उहाँले संविधान तथा कानुनविद्हरूसँग परामर्श गर्नुभएको हो ।
सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
—
अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नुभएको छ ।
राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको उल्लेख छ ।
“प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
रासस