काठमाडौँ, २३ असारः
अविरल वर्षाका कारण आएको बाढी पहिरा लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।
गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
बाढी, पहिरामा परी काठमाडौँ एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
यसैगरी बाढी पहिरा तथा विपद्का कारण काठमाडौँ तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।
उहाँका अनुसार बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना तथा कर्णाली प्रदेशमा एक जना गरी सात जना वेपत्ता भएका छन् ।
यसैगरी बाढीको कारण एक सय २१ घर डुबानमा परेका छन् । जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ प्रहरीले जनाएको छ । बाढी परिहामै परी एक सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार ५८ घर परिवार विस्थापित भएका छन् ।
भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । देशैभरी तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
…
ढोरपाटन (बागलुङ), २३ असारः अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् । सडक अवरुद्धहुँदा काठमाडौँदेखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि बससहित दर्जनौँ सवारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिनुभयो । बिहानदेखि नै सडक खुलाउने प्रयास गरे पनि अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेको रानाले बताउनुभयो । पहिरो अहिले पनि निरन्तर खसिरहेको हुँदा सडक सञ्चालनमा समस्या भएको छ । भारी वर्षा भएको हुँदा यात्रु गाडीबाट बाहिर निस्कनसमेत समस्या भएको प्रहरी निरीक्षक रानाको भनाइ छ । रानाले भन्नुभयो, “अहिले निकै ठूलो पानी परिरहेको छ, माथिबाट पहिरो पनि निरन्तर खसेको हुँदा खुलाउन समस्या भएको छ, यद्यपि मेसिन लगाएर काम गरी रहेकाछौँ, रात्रिबसहरु सडकमा रोकिएका छन्, रुकुमपश्चिम, जाजरकोटलगायतका ठाउँमा जाने यात्रुहरु छन्, अन्य धेरै गाडीहरु पनि पहिराले गर्दा रोकिएका छन् ।” बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–१ जिम्रिघाटस्थित पहिराको कारण कालिगण्डकी करिडोर पूर्णरुपमा अवरोध रहेको भन्दै सोही पालिकाको वडा नम्बर ८ रादीखोलामा पनि ठूलो पहिरा जाँदा करिडोर पूर्ण रुपमा ठप्प भएको हो ।
…
काठमाडौँ, २३ असार : मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रुपमा क्षति पुगेको छ । ११ घरमा आंशिक क्षति भएको छ । पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराले ४३ घर पूर्ण रुपमा क्षति भएको छ । २४ घरमा आंशिक क्षति पुगेको छ । १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् ।
११ घर पूर्ण रुपमा र छ घर आंशिक रुपमा क्षतिग्रस्त छन् । बाढी र पहिराले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङ्बाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । “बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ”, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भन्नुभयो, “यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ ।” उहाँका अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्मा पर्ने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलले सोमबारदेखि मुलुकभर बाढीको जोखिम कम हुने जानकारी दिनुभयो । “आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार कुनै पनि नदी बाढीको खतरा तहमा पुगेको छैन, मुलुकको विभिन्न नौ वटा नदीहरु सतर्कता तहमा छ”, उहाँले भन्नुभयो, “क्रमिक रुपमा नदीमा पानीको प्रवाह घटिरहेको छ, भोलिदेखि बाढीको खतरा तत्कालका लागि टर्नेछ ।” गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक सातामा मुलुकको एक सय १० स्थानमा पहिरो गएको छ । बाढी जस्तै पहिराको पूर्वसुचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू–गर्भविद् डा सुवोध ढकालले बताउनुभयो ।
“राजमार्गमा पहिराको सम्भावना बढी हुने भएकाले यात्रा गर्दा विशेष ध्यान दिऊ । जमिन चिरा देखिएमा तत्काल खाँदेर पुर्ने र पानी तर्काउने काम गरौँ, नसकेमा सुरक्षित स्थानमा बस्ने, जथाभावी भल बग्ने गरेको छ भने सामान्य कुलो बनाई पानीलाई एकीकृत गरी तर्काउनुपर्छ”, उहाँले भन्नुभयो, “तपाईं बस्ने स्थानमा पहिले पहिरो गएको छ भने निरन्तर निगरानी गर्ने, सुरक्षित स्थानमा बस्ने, जमिन अथवा पहरोमा अनौठो किसिमको कटकट आवाज सुनियो भने पहिरोको संकेत हुनसक्ने भएकाले सतर्क रही सूचना दिनुपर्छ ।” उहाँका अनुसार सुकिसकेका कुवा धारामा एक्कासी पानी आउन थाल्यो वा पानी आउने धारा कुवामा पानी सुक्न थाल्यो भने जमिन हलचलको सङ्केत हुनसक्छ । २७ सडकखण्ड अवरुद्ध ललितपुरस्थित बागमती गाउँपालिकामा गएको पहिराले कान्ति लोकपथ पूर्ण रुपमा अवरोध भएको छ । सङ्खुवासभास्थित मकालु गाउँपालिकामा गएको बाढीले दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सङ्खुवासभाकै भोटखोला गाउँपालिकामा बाढीले कोशी रोजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । सुनसरी बराहक्षेत्र नगरपालिका–१ मा गएको पहिराले चतरा–बराहक्षेत्रको भित्री सडक अवरुद्ध छ । रसुवास्थित आमाछोदिङ्गो गाउँपालिका–५ मा गएको पहिराले स्याफ्रुबेसी–थाम्बुचेत सडकखण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
चितवनस्थित इच्छाकामना गाउँपालिका–३ मा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–४ मा गएको पहिरोले भिमफेदी–काठमाडौँ–हेटौँडा राजमार्ग एकतर्फी सञ्चालन छ । सोही गाउँपालिका–८ को पहिराले कान्ती लोकपथ एकतर्फी सञ्चालन छ । काभ्रेको रोशी गाउँपालिकामा गएको पहिराले बिपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ । मनाङको चामे गाउँपालिकामा गएको बाढीले चामे–बेंसीसहर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । म्याग्दी बेनी नगरपालिका–४ मा गएको पहिराले बेनी–दरबाङ सडक अवरुद्ध छ भने कुश्मा नगरपालिकामा गएको पहिराले बेनी–जोमसोम सडक अवरुद्ध छ । पर्वतको मुलढुङ्गा बेनी सडक र सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन छ । तनहुँको म्याम्दे गाउँपालिकामा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । नवलपरासीपूर्वको कालीगण्डकी करिडोर र बागलुङको मध्यपहाडी लोकमार्ग पहिरोकै कारण पूर्ण रुपमा अवरुद्ध छ । प्यूठानको स्याउलीवा बाग्दुला र भालुवाङ दाङ प्यूठान सडकखण्ड बाढी, पहिराका कारण अवरुद्ध छ । यसैगरी पाल्पाको सिद्धार्थ राजमार्ग, तम्घास–बुटबल सडक, कालीगण्डकी करिडोर एकतर्फी सञ्चालन भएको छ । गुल्मीको रिडी–बाग्लुङ सडकखण्ड, कालीगण्डकी करिडोर सडक, मदन भण्डारी राजमार्ग र अर्घाखाँचीस्थित गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड, पाल्पा अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ । रोल्पाको सहिद राजमार्ग अवरुद्ध छ । दाङको घोराही–तुल्सीपुर सडकखण्ड एकतर्फी भएको छ । कालीकोटको कर्णाली राजमार्ग अवरुद्ध छ । अछामको साँफे–मार्तडी, बैतडीको जयपृथ्वी राजमार्ग र डडेल्धुराको भिमदत्त राजमार्ग पूर्ण रुपमा अवरोध पुगेको छ । बैतडीको बझाङ–खोड्पे बैतडी सडकखण्ड र बाजुराको साँफे मार्तडी सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालन रहेको नेपाल प्रहरीले जनाएको छ ।
…
काठमाडौँ, २३ असार : जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो । विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनिकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधरणलाई एसएमएस पठाएको जानकारी दिनुभयो । “बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधरणलाई सचेत गराउन हामीले एसएमएस पठाएका हौँ”, उहाँले भन्नुभयो, “सर्वसाधारणको मोबाइलमा एसएसएस पठाएपछि जोखिममा परेका सुरक्षित स्थान जान सक्छन्, जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सचेतना अपनाउन सकिन्छ भनेर एसएमएस पठाउने गरेका छौँ ।” विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी करिब ९० लाख एसएमएस सर्वसाधरणलाई पठाउने योजना बनाएको जानकारी दिनुभयो । “प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गछौँ, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ”, उहाँले भन्नुभयो । “बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धार तथा मद्दत माग्न ११४९ को व्यवस्था गरिएको महानिर्देशक कर्माचार्यले जानकारी दिनुभयो । बर्सेनि ९० लाख हाराहारीमा एसएमएस सम्प्रेषण गरेर मनसुनजन्य विपत्तीबाट हुने क्षति न्यूनिकरण गर्ने प्रयास गरेका भन्दै यस वर्ष पनि सोही मात्रामा सम्प्रेषण गरिने उहाँले बताउनुभयो । विभागका महानिर्देशक कर्माचार्यका अनुसार विभागसँगको समन्वयमा नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन निःशुल्क एसएमएस प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।
…
वालिङ (स्याङ्जा), २३ असारः स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता हुनुभएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी राखेका थिए । पहिराले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो । उक्त घरमा सासूबुहारी बस्दै आउनुभएको थियो । पहिरो खस्दाखस्दै बुहारी रिता मल्लको भने भागेर ज्यान जोगिएको थियो ।
…
खजुरा (बाँके), २३ असार : लगातारको वर्षासँगै बाँकेको राप्ती नदीमा आएको बाढीले तटीय क्षेत्र जोखिममा परेका छन । नदीको सतह बढेपछि तटीय क्षेत्रका अधिकांश घरहरू डुबानमा परेका छन् । शनिबार जोखिममा रहेका एक सय ३५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डुडुवा गाउँपालिका–१ पाझा र चौफेरीका बालबालिका, जेष्ठ नागरिक, महिलाहरुलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । वर्षा निरन्तर भइरहेकोले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रजिअ रिजालका अनुसार डुबानको जोखिम बढेकाले उद्धारका लागि सुरक्षाकर्र्मी तैनाथ गरिएका छन् । शनिबार बाँकेको राप्ती नदीले खतराको तह पार गरी राप्ती नदी कुसुमको जलमापन केन्द्रमा पानीको सतह आठ दशमलव १० मिटर मापन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार आज विहान ७ बजे पानीको सतह घटेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई ‘एसएमएस’मार्फत सतर्क रहन सूचित गरिएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरिएको छ ।
…