देशभर बाढीपहिराेकाे कहर…

देशभर बाढीपहिराेकाे कहर…

पुल भत्किँदा राजविराज–कञ्चनपुर सडकखण्ड अवरुद्ध
राजविराज (सप्तरी) २२ असार :

सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ । तिरहुत–२ का वडाध्यक्ष सञ्जिवकुमार यादवले राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिनुभयो । उहाँले बाढीले कोशी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पु¥याएको बताउनुभयो ।

यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिका–११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा खेतीबालीलाई क्षति पु¥याएको छ । तिरहुत–२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति पु¥याएको जानकारी दिनुभयो ।

बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन् । खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन् ।

–––

ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध
बलेवा (बागलुङ), २२ असार :

अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ । जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत् आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो ।

कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पु¥याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताउनुभयो । पहिरोका कारण बाँध पुरिँदा विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको उहाँले जानकारी दिनुभयो । उहाँले १.५ मेगावट विद्युत् उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताउनुभयो ।

पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् ।

उपप्रमुख शर्माले भन्नुभयो, “यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा–सर्कुवा–व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तारोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन ।”

जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उहाँले जानकारी दिनुभयो । उपप्रमुख शर्माका अनुसार कालिगण्डकी करिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले करिडोर अवरुद्ध बनेको छ ।

वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका–४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले —  

 

बाढीले जलविद्युत् आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध
वालिङ (स्याङ्जा), २२ असार :

अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत् आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिल्लाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा बाढीले क्षति पु¥याएपछि आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिटी, बालुवा भरिएको बिपिसीका प्रमुख डोल खरेलले बताउनुभयो । “खोलामा जल सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्रै टनेलमा पानी पठाउँछौँ र विद्युत् सेवा सञ्चालन हुनेछ ।”

गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मीको केही भेग र पर्वतको केही भेग गरी करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको प्रमुख खरेलले जानकारी दिनुभयो ।

वालिङ–६ स्थित मिर्दी खोलामा आएको बाढीले मिर्दी बजार नजिकै रहेको वितरण लाइनको पोल बगाएको छ । खोला बढेकाले उपकरणसहित मर्मत गर्न जानसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

“बाढी र पहिराका कारण कहाँ के कति क्षति भएको छ भनी खोजी गरिरहेका छौँ”, खरेलले भन्नुभयो, “कार्यालयलाई जानकारी आएका र थाहा पाइएका केही ठाउँमा मर्मत भइसकेका छन् भने केही मर्मत भइरहेका छन् । कतिपय ठाउँमा जलसतह बढी भएकाले मर्मतमा समस्या भइरहेको छ ।”

मर्मतका लागि प्राविधिक र उपकरण तयारी अवस्थामा भएपनि ठाउँठाउँमा सडक अवरुद्ध भएकाले कठिनाइ भइरहेको बिपिसीका प्रमुख खरेलले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक काममा समस्या भइरहेको स्थानीय बताउँछन् ।

पहिराले मुग्लिन–मलेखु सडक अवरुद्ध
मुग्लिन, (चितवन) २२ असार :

अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फि अवरुद्ध बनेको हो । उहाँले भन्नुभयो “अहिले पहिरो पञ्छाउने काम भइरहेको छ । ” प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताउनुभयो ।
–––

 

पृथ्वीराजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प
तनहुँ, २२ असार :

पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन् ।

सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो । उहाँले भन्नुभयो, “कल्भर्ड बगाएपछि राजमार्गमा सवारीसाधान सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।”

म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पानी पर्न रोकिएपछि पहिरो पन्छाउने छौँ ।”

पृथ्वीराजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

 

पहिराले कान्तिलोकपथ अवरुद्ध
पाटन (ललितपुर), २२ असारः

अविरल वर्षात्का कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ ।  शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका–३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्घ हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनले दिनुभएको जानकारीअनुसार वर्षात्का कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ । अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति भएको प्रहरी प्रमुख महतले बताउनुभयो ।  महाँकाल गाउँपालिकाका प्रमुख गणेश केसीले भन्नुभयो  “अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक बन्द भएको छैन ।”
–––

 

अविरल वर्षाबाट जनजीवन प्रभावित
काठमाडौँ, २२ असार :

गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।

यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

काठमाडौँ उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २०  विपद् उद्धार उपत्यका  गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमाण्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ ।

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला,  जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृहमन्त्रालयमा आपत्कालीन बैठक जारी छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको सो बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थिति छ ।

 

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
दमौली (तनहुँ), २२ असार :

अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन् ।

शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिनुभयो । खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन् । उहाँले भन्नुभयो, “प्रत्येक वर्षको वर्षाका समयमा यहाँ बाढी र डुबानको समस्या हुन्छ, यसको समाधान हुन नसक्दा प्रत्येक वर्ष घर डुबानमा पर्नेतथा स्थानीय विस्थापित हुने गरेका छन् ।”

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नुभएको छ ।

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो ।

सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउनसक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको प्रजिअ गौतमले बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा आइतबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार मर्स्याङ्दी नदीको सतह १०.२५ मिटरभन्दा माथि आएको छ । जिल्लाको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका हुँदै यो नदी मुग्लिनमा पुगेर त्रिशूलीमा मिसिन्छ ।

 

बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
घोराही (दाङ), २२ असार ः

बाढीमा परी यहाँ एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । दर्जनौँ घर डुबानमा परेका छन् ।

आज बिहान राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो ।

लमहीबाट दूध बेचेर फर्किंदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए । बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भयो । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्र्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी नेपाल प्रहरीले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको छ । सेवार खोलाको बाढीले ‘डाइर्भसन’ बगाउँदा घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ ।

 

कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा
पर्वत २२ असार :

केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ । सेतीखोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछि जनजीवन प्रभावित भएको हो ।

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणी र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा रहेको विश्वको ठूलो शालिग्राम शिला पूर्णरुपमा डुबानमा परेको सेतीवेणी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिनुभयो ।

कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमस्थल डुबिसकेका छन् भने बजार उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

मुस्ताङ, म्याग्दी, पर्वतमा ठूलो वर्षा भएकाले कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको प्रहरी सहायक निरीक्षक भण्डारीले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्ला डुबानको जोखिममा परेका हुन् ।

वर्षा नरोकिए केही बेरमा बजारसम्म आइपुग्ने र पसलमा क्षति पुग्ने अवस्था देखिएको स्थानीय तिलक पराजुलीले बताउनुभयो । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव अत्यधिक उर्लिएपछि पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा कटानको जोखिम बढ्दै गएको परालुलीले बताउनुभयो ।

यसैबीच, कालीगण्डकीमा पानीको बहाव बढेपछि कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिएका छन् । दुवै खोलाको बहाव बढेसँगै बजार क्षेत्रका दुई सयबढी व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।

विगत १५ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन परिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले वर्षाको समयमा त्रास रहने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताउनुभयो ।

स्थानीय प्रहरी चौकीका इञ्चार्ज भण्डारीले अहिले वर्षा अत्यधिक भइरहेकाले पानीको बहाव अझै बढ्दो क्रममा रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।

 

नवलपुर खण्डमा कालीगण्डकी करिडोर अवरुद्ध
त्रिवेणी  (नवलपरासी), २२ असार :

कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण तरङ्ग खोलाको ह्युमपाइप बगाएपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

करिडोर अवरुद्ध भएपछि गैँडाकोटबाट पहाडी क्षेत्रका लागि छुटेका र  नवलपुरको पहाडी क्षेत्रसहित रामपुरबाट गैँडाकोटतर्फ आउँदै गरेका सवारी बाटोमा अलपत्र परेका छन् । ह्युमपाइप बगाएपछि खोला वारपार गर्नसक्ने अवस्था नभएको स्थानीय भोज पुलामीले बताउनुभयो । ह्युमपाइप राख्नसके यातायात सञ्चालन हुनसक्ने उहाँले बताउनुभयो ।

ह्युमपाइप बगाएपछि राखिएका सवारीलाई वारपार गराउन र ह्युमपाइप राख्न विषयमा समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी रु तीन करोड ७३ लाखमा ठेक्का लागेको थियो । यही असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले काम सम्पन्न नगर्दा अहिले यात्रुहरुले सास्ती खेप्नुपरेको छ । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा तरङ्ग खोलाको पुलमात्र निर्माण गर्न बाँकी रहेको छ ।

यसैगरी पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो खसेको र बाटोमा बिग्रिएको सवारीका कारण एकतर्फी रुपमा सवारी सञ्चालनमा रहेको छ । यसले गर्दा सवारीसाधनको लामो लाइन लागेको छ ।

पूर्वपश्चिम राजमार्गकै डण्डा–चोरमारा–अरुणखोला–दुम्कीबासको विभिन्न खण्डमा बाटो चिप्लो हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । जिल्लाको पहाडी क्षेत्र जोड्ने दलदले–कुमसोत–पोखरी सडकअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्ग्रेमा पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन भएका छैनन् ।

जिल्लाको पहाडी क्षेत्र जोड्न दलदले–कुमसोत–पोखरी, गैँडाकोट–बुलिङ्टार–डेढगाउँ जोड्ने कालीगण्डकी करिडोर दुवै बन्द हुँदा पहाडी क्षेत्रको राजमार्गसँग यातायात सम्पर्क विच्छेद भएको छ ।

 

पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
अर्घाखाँची, २२ असार :

वर्षासँगै आएको पहिराले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।  सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिनुभयो  । उहाँका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।

घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फि खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जान सक्ने जोखिम कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ । सो सडक अवरुद्ध भएकाले फुद्बांगबाट बलेबांग हुँदै पाली र पालीबाट घुम्ती गएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

छारेमा दैनिक यातायात  सञ्चालन

सिमकोट – कर्णाली करिडोर अन्तर्गत हुम्लाको छारे खण्डको सडकमा दैनिक यातायात सेवा सञ्चालनमा आउन थालेको छ । दैनिक यातायात सञ्चालन गर्न जिल्लास्तरीय समितिले निर्णय गरेको थियो ।  नेपाली सेना, कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले हुम्लाको छारे खण्डमा यातायात सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।

यसअघि सो सडक खण्डमा बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म मात्र यातायातका साधन सञ्चालन हुन दिने व्यवस्था मिलाइएको थियो ।  हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले  यही असार अन्तिमसम्म सेनाले दुल्लीको कुनादेखि लाली बगरसम्मको सडक निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

 

गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार
गुल्मी, २२ असार (रासस) :

जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ ।

घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताउनुभयो ।

 

दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता
दोलखा, २२ असार :

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने  तीन वटा घर बगेका छन् ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आउनुभएको थियो ।

 

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध :  झरीले पहिरो पन्छाउन समस्या
म्याग्दी, २२ असार :

अविरल वर्षाले पहिरो खस्दा  म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् ।  पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । यो सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेश राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गरेका छन् ।

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजङ्ग कार्कीले पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहे पनि वर्षात् र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको बताउनुभयो । आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ ।

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन् । पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।  बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । पूर्वाधार विकास कार्यालयले फापरखेतको पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तरको झरीले सफल भएको छैन ।

 

वर्षाका कारण अवरुद्ध बिपी र अरनिका राजमार्ग एकतर्फी सञ्चालन
धुलिखेल (काभ्रेपलाञ्चोक), २२ असार :

बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन् ।

काभ्रेपलाञ्चोक भएर सञ्चालित बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटार, नार्के, ल्हासकोट र चारयसबेँसी तथा अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको बाउन्नकिलो र धुलिखेल नगरपालिकाको तिरतिर धारामा भलसहितको बाढीका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण आज बिहान रोशी–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गलजनविजय मावि अगाडि, वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरोध भएकामा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको पहलमा सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार वर्षा निरन्तर भइरहेकाले समस्या भएका ठाउँमा प्रहरी परिचालन गरी सडक खुलाउने निरन्तर प्रयास भइरहेको छ । रोशी–७ ल्हासकोटस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएकामा यहाँ रातिदेखि प्रहरीले सडक सञ्चालनको पहल गरेको थियो ।

स्थानीय र जनप्रतिनिधिसँगको समन्वयमा जेसिबी र स्काभेटरको सहयोगमा सडक खुलाएर अहिले एकतर्फी सवारी सञ्चालन भइरहेका प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

आज बिहान अरनिको राजमार्ग खण्डअन्तर्गत पाँचखाल नगरपालिका–८ को ५२ किलोस्थित खहरेखोलाबाट लेदोसहितको बाढी आएर सडक अवरुद्ध भएको थियो । सो स्थानमा पनि अहिले एकतर्फीरुपमा सवारी सञ्चालन भइरहेका उहाँले बताउनुभयो ।

उक्त स्थानलगायत धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो आउनुका साथै रुख ढलेर अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । वर्षा निरन्तर भइरहेकाले सवारीसाधनलाई सहज रुपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

 

उपत्यकाका नदीमा जलसतह  बढेपछि करिडोरमा प्रहरी गस्ती 
काठमाडौँ, २२ असार :

अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र  जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।”

उहाँले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिनुभयो । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।” वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रासस

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *