

समझदारी पत्रमा नेपालको शिक्षाको आवश्यकता र सछ्वान प्रान्तले उपलब्ध गराउने छात्रवृत्तिबीच तादाम्य मिलाउने, विभिन्न विषय तथा विभिन्न शैक्षिक स्तरमा छात्रवृत्ति प्रदान गर्ने, व्यावसायीक तालिमहरुको आयोजना गर्ने, नेपालमा शैक्षिक मेला गर्न इच्छुक सछ्वान प्रान्तका विश्व विद्यालयहरुलाई अरनिको समाजले मेला व्यवस्थापनमा विभिन्न सहयोगहरु उपलब्ध गराउने लगायतका बुँदाहरु रहेका छन्।
केन्द्रका उपमहानिर्देशक वाङले सछ्वानका विभिन्न विश्व विद्यालयहरुमा हाल ३ सय जना नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेको बताउनुभयो। अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले अरनिको समाजले चीन सरकारसँगको समन्वयमा नेपाली जनतालाई सेवा पुग्ने काम गरिरहेको जानकारी दिनुभयो। साथै अध्यक्ष श्रेष्ठले दुवै संस्थाहरुवीच सम्पन्न समझदारीले भविष्यमा आपसी सहयोग आदान प्रदानमा बल पुग्ने बताउनुभयो ।

अरनिको समाजको पहल तथा चीनको सछ्वान प्रान्तिय सरकारको सहयोगमा उपलब्ध भएको छात्रवत्ति अन्तरगत हाल यस प्रान्तका ६ वटा विश्व विद्यालयहरुमा ४२ जना नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
यसैगरी अरनिको समाज र सछ्वान प्रान्त गैर सरकारी संस्थाहरुको वैदेशिक आदान प्रदान प्रवर्द्धन प्रतिष्ठानवीच आपसी सहयोग तथा सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


