

नेपालमा दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि भोलि बिहीबार मतदान हुँदै छ। यसअघि मंसिर १० मा पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभातर्फ ७४ सिटको चुनाव भएको थियो। निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ। परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले हिजो मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भन्नुभयो, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइसक्छ। मतदाताको अनुपातमा थप गणना टोली परिचालन गरी चार दिनभित्रै प्रत्यक्ष र आठ दिनभित्रै समानुपातिक तर्फको गणना सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिनु भएको छ।’
स्थानीय तहको भन्दा छरितो मतपत्र भएकाले पनि आयोगले छोटै समयमा गणना सम्पन्न गर्ने विश्वास लिएको छ। दोस्रो चरणको मतदान सकिएलगतै मतपेटिका संकलन गरी सोही दिन साँझदेखि गणना सुरु गरिने आयोगको तयारी छ।आयोगले यसपटक एउटा क्षेत्रको सबै मतपेटिका एकै ठाउँमा जम्मा गरेर मात्रै मतगणना गर्ने व्यवस्था मिलाएको छ। उम्मेदवारले कुन केन्द्रबाट कति मत प्राप्त भयो भन्ने थाहा नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो।

पहिलो चरणमा चुनाव भएका क्षेत्रको मतगणना बिहीबार दिउँसोबाट सुरु गर्ने आयोगको तयारी छ। दोस्रो चरणमा बिहीबार ४५ जिल्लाका १५ हजार ३४४ केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ। सबै मतदान केन्द्रमा मंगलबार नै आवश्यक सुरक्षाकर्मी पुगिसकेको आयुक्त पौड्यालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘मतदान केन्द्रका साथै मतपेटिका र मतगणना स्थलको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ।’
