

गान्तोक, 7 मई। हिमाली राज्य सिक्किमको राजधानी गान्तोकको मुटुमा रहेको बहु प्रतिक्षित ठाकुरबाढी मन्दीरको निर्माणकार्य 99 प्रतिशत पूरा भएको छ। सन 1930-सालमा स्वतन्त्र राष्ट्र सिक्किमको छोग्याल टाशी नाम्ग्यालले पूजा अर्चनाको निम्ति मन्दीर निर्माणार्थ प्रदान गरेको जमीनमा विभिन्न कालखण्डमा मन्दीरहरू बनिने क्रम रहेपनि 2002-सालमा मुख्यमन्त्री पवन चामलिङले मन्दीरको दयनीय अवस्थालाई ध्यानमा राखेर सभा आयोजन गरेर मुख्यमन्त्री स्वयं कै पहलमा भव्य हिन्दू मन्दीर निर्माण गर्ने निर्णय पछि नया मन्दीर निर्माणको प्रकृया शुरु भएको हो। जुन विभिन्न समयमा साङ्गठनिक विवादको कारणले निर्माण कार्यमा ढिलाई हुँदै आएको भएपनि गत वर्ष दिसम्बर महिनादेखि पूर्व जिल्लाको जिल्लापाल कपिल मीणाको अध्यक्षतामा गठित समितिले निर्माण कार्यलाई अन्तिम रूपसम्म पुऱ्याउने सरकारको पहललाई व्यवहारमा उतारेको हो। 1930 सालदेखि 2019-सम्मको लामो काल खण्ड पार गरिसकेको ठाकुरबाडी मन्दीरका वर्तमान भव्य ढाँचाका वास्तुकार तथा वरिष्ठ कलाकार किरण रसाइलीले आज सोमबार पत्रकारहरूसित कुराकानि गर्दै वास्तुकला र डिजाइनको कार्य 99 प्रतिशत पूरा भएको बताए। यसका साथै आम चुनाउको प्रक्रिया पूरा भइसकेपछि आम भक्तजनको निम्ति मन्दीर सरकारले उद्घाटन गर्ने मन्तव्य व्यक्त गरे। उनले राज्यका मुख्यमन्त्री स्वयंले करोडौं रुपियाँ सहयोग प्रदान गरेर यसलाई अन्तिम रूप दिन सकेको बताउँदै यसको विशेष श्रेय मुख्यमन्त्री पवन चामलिङलाई नै जाने बताए। मुख्यमन्त्रीले लगभग चार करोड रुपियाँ सहयोग राशी जुटाएको फलस्वरूप अहिलेको मन्दीर सिक्किमकै निम्ति सान बनाउन भव्य रूपमा खडा हुनसकेको बताए। 2016-देखि 2019-सम्मको विभिन्न समयमा राज्य सरकारमार्फत मन्दीर निर्माणको निम्ति 6.5 करोड रुपियाँ प्रदान गरिएको पनि उनले उल्लेख गरे। अहिले जिल्लापाल कपिल मिणाको अध्यक्षतामा रहेको निगरानी समितिको तत्परतामा सबै कार्य सम्पन्न भइरहेको बताउँदै यहाँ सिक्किमले अहिलेसम्म पालन गर्दै आइरहेको सर्व समुदाय सम्मानको दिशालाई प्राथमिकता दिएर मन्दीरको ढाँचा र वास्तुकला तयार पारिएको उनले बताए। मन्दीरमा प्रवचनको निम्ति वृहद प्रेक्षगृह ठूलो पूजा कक्षलगायत कलात्मक ढङ्गले सजाइएका सनातन धर्मका विभिन्न पूज्य देवी देवताको सुन्दर प्रतिमा स्थापित गरिएको जानकारी दिए। यसका साथै सूर्य भगवानको विशेष प्रतिमा र श्रीमद्भगवद्गीता प्रचारको श्रीकृष्ण अर्जुनको विराट रूपको सुन्दर प्रतिमा मन्दीरको बाहिरी आकर्षण साथै सुन्दर गजुरहरूको मौलिक वास्तुकला भारतकै विभिन्न वास्तुकला मध्ये सिक्किमे, भारतीय र नेपाली वास्तुकलाको समिश्रण रहेको वास्तुकार रसाइलीले बताए। यो मन्दीर निर्माण पूरा भएपछि उद्घाटन पछि भक्तजन समेत पर्यटकहरूको निम्ति पनि राजधानीको मुख्य आकर्षण बन्ने निश्चित रहेको छ।

