फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले १४ वर्षदेखि यो मेला भृकुटीमण्डपमा गर्दै आएको छ। एसोसिएसन अध्यक्ष रविनकुमार श्रेष्ठले यस वर्षको जुत्ता मेला सेलभन्दा पनि ब्रान्डको लागि गरिएको बताउनुभयो। ‘स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्दै आएका छौं,’ उहाँले भन्नुभयो, ‘यस वर्ष पनि भव्य तयारी सहित उद्घाटन गरिसकेका छौं। नयाँ ब्रान्डको लागि यस वर्षको मेला फलादायी हुनेछ।’
एक्स्पोमा जुत्ता, चप्पल तथा छालाजन्य उत्पादनका एक सय ३५ स्टल छन्। प्रदर्शनीमा १५ प्रतिशतसम्म छुटमा जुत्ता चप्पल उपलब्ध गराइएको छ। मेलाको प्रमुख आकर्षणमा अपांगमैत्री जुत्ता रहेको आयोजकको भनाइ छ।
यसपटक प्रदर्शनी बिक्रीमा भन्दा नयाँ डिजाइन सार्वजनिक गर्न लक्षित छ। मेला लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।