चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएको टिमुरेस्थित अध्यागमन कार्यालयले जनाएको छ । सन् २०१७ मा १७ हजार ६ सय २० चिनियाँ र ८२ जना अन्य देशका नागरिक नेपाल भित्रिएको अध्यागमन कार्यालयको तथ्यांकमा छ । नाकाबाट सबैभन्दा धेरै चिनियाँ, दोस्रोमा स्विडेन, तेस्रोमा अमेरिकी भित्रिएको नागरिकन्यूज डटकमले जनाएको छ।
अध्यागमन कार्यालयले दिएको जानकारी अनुसार जनवरीमा तीन सय ४२, फेब्रुअरीमा पाँच सय १५, मार्चमा सात सय ८४, अप्रिलमा एक हजार एक सय ५१, मेमा दुई हजार नौ सय ५३, जुनमा दुई हजार एक सय ७२ चिनियाँ पर्यटक नेपाल आएका छन्। त्यसैगरी जुलाइमा दुई हजार चार सय ६३, अगस्टमा दुई हजार दुई सय ८५, सेप्टेम्बरमा एक हजार नौ सय ४४, अक्टोबरमा एक हजार ८ सय ३४, नोभेम्बरमा एक हजार ६३ र डिसेम्बरमा सात सय १४ चिनियाँ पर्यटक रसुवागढी नाका हुँदै नेपाल आएका कार्यालयले जनाएको छ ।
चीन सरकारले केही महिनाअघि अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउने क्रम बढेको छ।
चिनियाँ पर्यटकले ग्रेटिस (शुल्क नलाग्ने) भिसा पाउँदै आएका छन्। रसुवागढीस्थित अध्यागमन कार्यालयले चिनियाँ पर्यटकलाई सुरुमा एक महिनाको आगमन (अराइभल) भिसा दिँदै आएको रसुवागढी अध्यागमन कार्यालय प्रमुख मनोज कुमार पोखरेलले बताउनुभयो।