सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो वर्ष दुई सय १४.२८ मेगावाट बिजुली थपिने भएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिन लागेको हो । चालु आर्थिक वर्ष २०७४-०७५ को माघसम्ममा ५० मेगावाट बिजुली थपिइसकेको र बाँकी एक सय ६४.२८ मेगावाट थपिने सम्भावना रहेको विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले बताए ।गत आर्थिक वर्ष २०७३÷०७४ मा एक सय १६ मेगावाट बिजुली थपिएको थियो। चालु आर्थिक वर्षमा गत आवमा भन्दा दोब्बर बिजुली थपिने अनुमान गरिएको छ।अहिलेसम्म चमेलियाबाट ३० मेगावाट, मदक्यू खोलाबाट १३ मेगावाट र मैलुङबाट ७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको विभागको भनाइ छ। कुलेखानी तेस्रोबाट पनि असारसम्ममा १४ मेगावाट बिजुली थपिने अपेक्षा गरिएको छ ।
अहिलेसम्म नेपालमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा बढी आगामी तीन वर्षमै उत्पादन हुने प्राधिकरणको भनाइ छ । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट २०७५ सालभित्रै बिजुली उत्पादन हुँदैछ ।हाल करिब एक हजार मेगावाट बिजुली उत्पादन हुने क्षमताका आयोजना निर्माण भइसकेका छन् । कुलेखानी पहिलो र दोस्रोबाहेक अन्य सबै नदीमा आधारित आयोजना हुन् । ती आयोजनाबाट हिउँदमा आधाभन्दा कम बिजुली उत्पादन हुन्छ । नागरिकन्यूज डटकमका अनुसार बिजुलीको माग भने एक हजार तीन सय ५० मेगावाट छ।